राखेप पूर्वसदस्य सचिव सिलवालको रिटको सुनुवाइ हुँदै


न्युज अफ नेपाल, काठमाडौं ।

सरकारले बर्खास्त गरेपछि पुनर्बहालीको माग गर्दै दायर राष्ट्रिय खेलकुद परिषद् राखेपका पूर्वसदस्य सचिव रमेशकुमार सिलवालको रिटमा मंगलबार सुनुवाइ हुँदैछ ।

रिटको पेसी न्यायाधीशद्वय टंकबहादुर मोक्तान र हरिकृष्ण कार्कीको संयुक्त इजलासमा तोकिएको छ । सरकारले गरेको बर्खास्तीलाई गैरकानुनी भन्दै पुनर्बहालीको मागसहित गत २८ कात्तिकमा रिट दायर गरेका हुन् ।

भोलिपल्टै न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले विपक्षीको नाममा कारण देखाउसँगै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।उनलाई कांग्रेस सभापतिसमेत रहेका शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् बैठकले १ कात्तिकमा बर्खास्त गरेको थियो । त्यसअघि भने स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण चित्त बुझ्दो नभएपछि उनलाई बर्खास्त गरेको थियो । यसपछि सरकारले सोही दिन १९औँ सदस्य सचिवको रूपमा टंकलाल घिसिङलाई नियुक्त गरेको थियो ।