पर्सामा डढेलो नियन्त्रण बाहिर



वीरगन्ज ।

पर्साको जङ्गलमा विगत एक हप्तादेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । डढेलो लागेको एक हप्ता भइसक्दा पनि त्यसलाई निभाउन सम्बन्धित निकायले पहल नगरेको स्थानीयवासीले गुनासो गरेका छन् ।

सेक्टर बन कार्यालय वसन्तपुर, इलाका वन कार्यालय हरैया, भतौडा र रङ्गपुर, सेक्टर बन कार्यालय बढ्नियार तथा पर्सा राष्ट्रिय निकुञ्जको महादेव पोस्ट, चारभैया पोस्ट गडुवालाइन, निर्मल बस्ती पोस्ट, पन्चमुखी सामुदायिक बन र सुनाखरी उपभोक्ता समिति अन्तर्गत रहेको बन क्षेत्रमा विगत १  हप्ता देखि डढेलो लागेको हो ।

डढेलोका कारण करोडौँ मूल्य बराबरका काठ तथा बोटबिरुवा जलेर नष्ट भएको स्थानीय बासिन्दाले बताएका छन् । आगलागीबाट निस्केको धुवाँले जङ्गल नजिकैका मानव बस्तीहरूमा समेत असर पारेको छ । डढेलोको धुवाँले जङ्गलको नजिकै रहेका बस्तीका स्थानीयहरूमा आँखा चिलाउने, आँखा रातो हुने, बिहानको समयमा धुवाँले अँध्यारो हुने जस्ता समस्या देखिएको छ ।

डिभिजन वन कार्यालय पर्साका प्रवक्ता सहायक बन अधिकृत रेयाज अहमद अन्सारीले भने डढेलो नियन्त्रणका लागि जनशिक्त परिचालन गरी सकिएको बताउनुभयो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र बन रक्षकको टोली परिचालन गरिएको र बाकी स्थानको पनि आगो नियन्त्रणको लागि जिल्लाले निर्देशन दिइसकेको उहाँले बताउनु भयो ।

जङ्गलमा लागेको आगो नियन्त्रण  बन कर्मचारी र प्रहरीले मात्रै गर्न नसक्ने भएकोले स्थानीयवासीको पनि सहयोग आवश्यक रहेको अन्सारीले बताउनु भयो । यसैबिच सुनाखरी उपभोक्ता समिति  र पन्चमुखी सामुदायिक बनमा लागेको डढेलो निभाउन स्थानीयवासी नै खटेका छन् ।

उपभोक्ताहरू, विभिन्न समितिका सदस्यहरू  र  नेपाली सेनाको सहयोगमा आगो निभाउन प्रयास भइरहेको भन्दै सुनाखरी उपभोक्ता समितिका अध्यक्ष भीम बहादुर पाख्रीनले  कतिपय ठाउँमा डढेलो नियन्त्रणमा पनि आइसकेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्