विदेशमा सिकेको सीप र पुँजी नेपालको विकासमा लगानी गर्न प्रधानमन्त्री देउवाको आग्रह



काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशमा आर्जन गरेको पुँजी, प्राविधिक तथा व्यवस्थापकीय ज्ञान, सीप र कौशललाई नेपालको विकास र रूपान्तरणका निम्ति लगानी गर्न गैरआवासीय नेपाली समुदायलाई आह्वान गर्नुभएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १०औँ विश्वसम्मेलन तथा महाधिवेशनको समापन समारोहलाई सम्बोधन गर्दै उहाँले विश्वभर छरिएर बसेका नेपालीको असंगठित पुँजी र प्रविधिलाई संगठित बनाउन आवश्यक रहेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो– ‘विश्वभर छरिएर बसेका नेपालीको असंगठित पुँजी र प्राविधिक ज्ञानलाई संगठित र एकत्रित गरी मुलुकको आर्थिक विकासमा परिचालन गर्न अब गैरआवासीय नेपाली संघले निश्चित कार्ययोजना र रणनीति नै बनाएर अघि बढ्न आवश्यक छ भन्ने मलाइ लागेको छ ।’

प्रधानमन्त्री देउवाले गैरआवासीय नेपालीको लगानीलाई मुलुकको समृद्धि र नवनिर्माणको खातिर उपयोग गर्न सरकारले विभिन्न नीतिगत तथा कानुनी सुधार गरी सहजीकरण गर्दै आइरहेको उल्लेख गर्नुभयो । उहाँले यसलाई आगामी दिनमा पनि क्रमशः सुधार गर्दै गैरआवासीय नेपालीले सहजरूपमा लगानी गर्न सक्ने र लगानीको प्रतिफल उपभोग गर्न सक्ने वातावरण निर्माण गरिने विश्वास दिलाउनुभयो ।

‘गैरआवासीय नेपालीको लगानीलाई मुलुकको समृद्धिका खातिर लगानीको सहज वातावरण बनाउन सरकारले नीतिगत सुधार र कानुनी सहजीकरण गर्दै आएको छ, आगामी दिनमा पनि नेपालीले सहजरूपमा लगानी गर्न सक्ने र लगानीको प्रतिफल उपभोग गर्न सक्ने वातावरण निर्माण गरिनेछ’ –उहाँले भन्नुभयो ।

प्रधानमन्त्री देउवाले मुलुकको तीव्र रूपान्तरण र दिगो विकासका लागि आधुनिक र गुणस्तरीय भौतिक पूर्वाधारको निर्माण हुन आवश्यक रहेको र त्यसका निम्ति मुलुकमा ठूला विद्युत् आयोजना, सडक, टनेललगायत परियोजना कार्यान्वयन गर्न पुँजी र प्रविधि दुवैको उच्च खाँचो औंल्याउनुभयो ।

२०७२ को महाभूकम्पका बेलामा उद्धार तथा राहत र पुनर्निर्माण तथा कोभिड–१९ को महामारीका बेलामा मेडिकलजन्य उपकरण र स्वास्थ्य सामग्रीको सहयोगलगायत योगदान सराहनीय रहेको भन्दै नेपाल र नेपालीलाई अप्ठ्यारो परेको बखत गैरआवासीय नेपाली संघबाट प्राप्त साथ, सहयोग र समन्वयप्रति सरकारकोतर्फबाट आभार व्यक्त गर्नुभयो ।

उहाँले गैरआवासीय नेपालीले विदेशमा नेपाली भाषा, संस्कृति, परम्परा, कलाकृति र साहित्यको प्रचारप्रसार गर्न र भावी पुस्तामा हस्तान्तरण गर्नसमेत उपयोगी सेतुको काम गरेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री देउवाले गैरआवासीय नेपाली संघका मागप्रति सरकार संवेदनशील रहेको र उनीहरूको नेपाल आवागमनमा सहजीकरणदेखि लिएर लगानी र सम्पत्तिको संरक्षण गर्नेसम्मका काममा सरकार सधैं सकारात्मक रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्