स्थानीय निर्वाचनका लागि देशैभर तोकिए निर्वाचन अधिकृत



हेटौंडा/तनहुँ/रसुवा/वीरगन्ज

स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले मकवानपुर जिल्ला सदरमुकाम रहेको स्थानीय तहमा सम्बन्धित जिल्ला अदालतको जेष्ठतम् न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । आयोगले आइतबार सार्वजनिक सूचना प्रकाशन गरी ७७ जना मुख्य निर्वाचन अधिकृत र ६ सय ७६ जना निर्वाचन अधिकृत तोकेको हो ।

हेटौंडा उपमहानगरपालिकामा जिल्ला अदालत मकवानपुरका न्यायाधीश डिल्लीरत्न श्रेष्ठलाई निर्वाचन अधिकृत तोकिएको छ । थाहा नगरपालिमा जिल्ला अदालत मकवानपुरका स्रेस्तेदार तीर्थराज भट्टराई, मकवानपुरगढी गाउँपालिकामा आन्तरिक मामिला तथा कानुन मन्त्रालय वागमती प्रदेशका उपसचिव नारनप्रसाद पोखरेल, बकैया गाउँपालिकामा जिल्ला समन्वय समिति मकवानपुर समन्वय अधिकारी आनन्दराज पोखरेललाई निर्वाचन अधिकृत तोकिएको छ ।

इन्द्रसरोवर गाउँपालिकामा गृह मन्त्रालयका उपसचिव मुरारी वस्ती, कैलाश गाउँपालिकामा सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधीवक्ता मुकुन्दहरि पौडेल, वागमती गाउँपालिकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडाका अधिकृत हरिप्रसाद उपाध्याय, भीमफेदी गाउँपालिकामा सामाजिक विकास मन्त्रालयका अधिकृत रुद्रहरि भण्डारी, मनहरी गाउँपालिकामा शिक्षा विकास निर्देशनालय मकवानपुरका अधिकृत पूर्णबहादुर दर्जी र राक्सिराङ गाउँपालिकामा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका उपसचिव सागर मिश्रलाई तोकिएको निर्वाचन आयोगले जनाएको छ ।

नियुक्त भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्वाचन व्यवस्थापन अभिमुखीकरण तालिमका लागि चैत ३० गते विराटनगर, धुलिखेल, पोखरा, नेपालगन्ज तथा वैशाख २ मा जनकपुर, हेटौंडा, बुटवल र धनगढीमा तालिम तय गरिएको छ । निर्वाचन आयोगले मतदाता नामावलीको अन्तिम सूची प्रकाशन गर्ने तयारी गरेको छ । आयोगका अनुसार करिब १ करोड ७७ लाखभन्दा बढी मतदाता छन् । यसअघि मतदाता नामावलीमा दाबीविरोधका लागि फागुन १९ गतेदेखि एक साताको म्याद दिइएको थियो । दाबी विरोधपछि करिब १ लाख मतदाता सूचीबाट हटेको बताइएको छ । स्थानीय तह निर्वाचन वैशाख ३० गते हुने भएको छ ।

त्यसै, गरी आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तनहुँमा निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचन आयोगले जिल्लाका १० वटै स्थानीय तहमा निर्वाचन अधिकृत तोकिएको हो । मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानालाई तोकिएको छ । आयोगले उहाँलाई व्यास नगरपालिकाको जिम्मेवारी दिइएको छ । त्यस्तै, अन्य नौ स्थानीय तहमा निर्वाचन अधिकृत तोकिएको आयोगले जनाएको छ ।

आँबुखैरेनी गाउँपालिकामा प्रमुख मालपोत अधिकृत चिरञ्जीवि पौडेल, बन्दीपुर गाउँपालिकामा राष्ट्रिय सूचना आयोगका उपसचिव विश्वबन्धु पौडेल, भानु नगरपालिकामा तनहुँ अदालतका स्रेस्तेदार मीनबहादुर कुँवर, म्याग्दे गाउँपालिकामा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका उपसचिव नवराज आचार्य, शुक्लागण्डकी नगरपालिकामा सत्य निरुपण तथा मेलमिलाप आयोगका उपसचिव सरिता रायमाझीलाई निर्वाचन अधिकृत तोकिएको छ ।

त्यसै गरी, भिमाद नगरपालिकामा जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता रामचन्द्र शर्मा, ऋषिङ गाउँपालिकामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव राजेन्द्र न्यौपाने, घिरिङ गाउँपालिकामा हुलाक निर्देशनालय पोखराका प्रमुख कीर्तनराज पौडेल, देवघाट गाउँपालिकामा जिल्ला समन्वय अधिकारी थमनसिं थापालाई निर्वाचन अधिकृत तोकिएको छ ।

त्यस्तै, निर्वाचन आयोगले २०७९ साल वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रसुवाको एक निर्वाचन क्षेत्र र पाँचवटा गाउँपालिकामा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत तोकेको छ । स्थानीय तह निर्वाचन ऐन–२०७३ को दफा ७ बमोजिम रसुवामा पनि निर्वाचन आयोगले जिल्ला न्यायाधीश र नेपाल सरकारका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतस्तरका कर्मचारीलाई तोकेको हो ।

चैत २९ गतेदेखि लागू हुने गरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको पदमा नियुक्त गरिएको निर्वाचन कार्यालयले जनाएको छ । आयोगका अनुसार कालिका गाउँपालिकामा अशोकराज रेग्मी, नौकुण्ड गाउँपालिकामा थानेश्वर भुसाल, आमाछोदिङ्मोमा शान्तिप्रसाद लुइँटेल, उत्तरगया गाउँपालिकामा मुना अधिकारी र गोसाइँकुण्ड गाउँपालिकामा राजेन्द्र नेपाल रहनुभएको छ ।

त्यसै गरी, निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि पर्सामा निर्वाचन अधिकृत तोकेको छ । पर्साका १४ वटा स्थानीय तह छन् । वीरगन्ज महानगरपालिकामा पर्सा जिल्ला अदालतका न्यायाधीश धर्मराज पौडेलले मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी पाउनुभएको छ । त्यसै गरी, बहुदरमाई नगरपालिकामा उच्च अदालत पाटन हेटौंडा इजलासका उपरजिस्ट्रार कैलाशप्रसाद भट्टाराई, पोखरिया नगरपालिकामा जिल्ला सरकारी वकिल कार्यालय पर्साका जिल्ला न्यायाधिवक्ता पदमबहादुर कार्की, पर्सागढी नगरपालिकामा उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका उपरजिस्ट्रार केशवप्रसाद पौडेलले मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी पाउनुभएको छ ।

त्यस्तै, पटेर्वासुगौली गाउँपालिकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वागमती प्रदेशका उपसचिव गौतम भण्डारी, ठोरी गाउँपालिकामा राष्ट्रिय योजना आयोगको सचिवालयका उपसचिव शिवराज न्यौपाने, जिराभवानी गाउँपालिकामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव झविन्द्रप्रसाद पाण्डे, कालिकामाई गाउँपालिकामा महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता प्रकाश कोइराला, सखुवा प्रसौनी गाउँपालिकामा महान्यायाधिवक्ता कार्यालय बागमती प्रदेशका उपन्यायाधिवक्ता सूर्यप्रसाद पौडेल रहेका छन् ।

त्यसै गरी, विन्दवासिनी गाउँपालिकामा पर्सा जिल्ला अदालतका सेस्तेदार अरुणकुमार कोइराला, पकाहमैनपुर गाउँपालिकामा राष्ट्रिय योजना आयोगको सचिवालयका उपसचिव क्रिषण प्रसाद देवकोटा, धोविनी गाउँपालिकामा उच्च सरकारी वकिल कार्यालय वीरगञ्जका उपन्यायाधिवक्ता कैलाश दाहाल, जगरनाथपुर गाउँपालिकामा सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका उपसचिव हीरा न्यौपाने र छिपहरमाई गाउँपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत मुकुन्द निरौलालाइ निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्