लेटाङ घटनामा २० जना पक्राउ, १६ जनाको म्याद थप



विराटनगर ।

मोरङको लेटाङमा महिला प्रहरीको ज्यान जानेगरी भएको घटनामा संलग्न रहेको आशंकामा २० जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । गत चैत ६ गते लेटाङ नगरपालिका–५ मा रहेको शिक्षा विकास माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्ने बालिकालाई यौन दुव्र्यवहार गरेको अभियोगमा सोही विद्यालयमा पढाउने शिक्षक मनोज पौडेललाई नियन्त्रणमा लिने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको थियो । शिक्षकलाई जोगाउन खोजेको भन्दै आक्रोशित भीडले धारिलो हतियार प्रयोग गर्दा विराटनगर रानी गणमा कार्यरत प्रहरी जवान २६ वर्षीया उर्मिला श्रेष्ठको मृत्यु भएको थियो ।

महिला प्रहरीको हत्या आरोपमा पक्राउ पर्नेमा लेटाङ–५ का ४८ वर्षीय चन्द्रकान्त लामा, २५ वर्षीय रविन राई, २० वर्षीय रविन तामाङ, २३ वर्षीय प्रदीप राई, १८ वर्षीय निशा पुलामी मगर, १८ वर्षीय सुरज अधिकारी र १९ वर्षीय सञ्जय मगर रहेका छन् । यस्तै, लेटाङ–६ का १८ वर्षीय पालाराम राई, १८ वर्षीय राम राई, १८ वर्षीय सन्तोष पौडेल, २० वर्षीय हिमाल श्रेष्ठलाई पनि प्रहरीले सोही घटनामा संलग्न रहेको आशंकामा पक्राउ गरेको छ । प्रहरीले मिक्लाजुङ–२ घर भई लेटाङ–५ बस्ने २० वर्षीय कृष्ण विक, लेटाङ–५ कै सञ्जीव प्रधान, प्रनिस कट्टेल, जस्मिन पाख्रिन, सुनिल लिम्बू, प्रह्लाद खड्का, अर्पण परियार, पासाङ तामाङ र लेटाङ–६ का श्रवण यादवलाई पनि पक्राउ गरेको छ । तीमध्ये विभिन्न समयमा पक्राउ परेका १६ जनालाई जिल्ला अदालत मोरङबाट दुई दिनको म्याद थप गरेर अनुसन्धान थालिएको छ ।

जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले भन्नुभयो–‘आइतबार नै १६ जनाको २ दिनका लागि म्याद थप भएको र ४ जनाको नाममा जरुरी पक्राउ पुर्जीका लागि अनुमति दिइएको छ । पीडित पक्षले २० जनामाथि नै जाहेरी दिएका छन् ।’ पक्राउ परेकाहरूलाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिइएको जिल्ला अदालत मोरङले जनाएको छ । गत चैत ६ गते मोरङको लेटाङ स्थानीयको आक्रमणमा रानी गणमा कार्यरत प्रहरी जवान २६ वर्षीया उर्मिला श्रेष्ठको ज्यान गएको थियो ।

घटनाको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी, प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी मोरङको टोली घटनाको बारेमा अनुसन्धान गरिरहेको छ । प्रहरीले अनुसन्धानको क्रममा धेरैजनालाई सोध्दै छाड्दै गरेको छ भने संलग्न रहेकाहरूलाई थप अनुसन्धानका लागि म्याद थप गरिएको प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिनुभयो । प्रदेश १ प्रहरी कार्यालयले एसएसपी राजेन्द्रप्रसाद चौधरीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेर घटनाको छानबिन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्