गठबन्धनबारे आज निर्णय गर्ने तयारी



काठमाडौं ।

प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसले आगामी निर्वाचनमा अन्य दलसँग गठबन्धन र तालमेल गर्ने वा नगर्ने भन्नेबारे आज मंगलबार निर्णय गर्ने तयारी गरेको छ । साथै केन्द्रीय संसदीय समिति गठन पनि सम्भवतः आजै हुनेछ ।

संसदीय समिति गठन र कांग्रेसको ‘ग्राउण्ड रियालिटी’ बारे सूक्ष्म छलफल गर्न शुक्रबारदेखि बसेको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएकोले पार्टी पदाधिकारीहरूले आज दिउँसो ३ बजे बस्ने बैठकमा प्रस्ताव ल्याउने तयारी गरेका छन् ।

सोमबारको बैठक सकिएपछि प्रवक्ता प्रकाशशरण महतले भन्नुभयो– ‘केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएको छ । स्थानीय निर्वाचनमा नेपाली कांग्रेस कसरी प्रस्तुत हुन्छ भन्ने बारेमा आज मंगलबार दिउँसो ३ बजे बस्ने बैठकमा निर्णय हुन्छ । कांग्रेसभित्र प्रधानमन्त्रीसमेत रहेका सभपति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरू गठबन्धनको पक्षमा छन् भने उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, केन्द्रीय सदस्य डा. शेखर कोइरालालगायतका नेताहरू गठबन्धनको विपक्षमा छन् ।

कांग्रेस केन्द्रीय समितिको मुख्य एजेन्डा केन्द्रीय संसदीय समिति गठन र ‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियानको प्रारम्भिक समीक्षा गर्ने थियो । बैठकमा केन्द्रीय प्रतिनिधिका रूपमा ७७ वटै जिल्लामा खटिएका केन्द्रीय सदस्यहरूले प्रत्येका जिल्लामा कांग्रेसको ग्राउन्ड रियालिटी प्रस्तुत गरेका थिए । बैठकमा केन्द्रीय सदस्य तथा पदाधिकारीहरूले खासगरी चुनाव केन्द्रित भएर छलफल गरेका थिए । चुनाव केन्द्रित छलफलमा भएको केन्द्रीय बैठकमा केन्द्रीय समितिका सबै सदस्यहरूले गठबन्धन गरेर निर्वाचनमा जानु ठिक कि बेठिक भन्ने विषयमा धारणा राखेका थिए । संसदीय समिति गठनको बारेमा भने तीन दिन चलेको बैठकमा खासै चर्चा भएन ।

बैठकमा सभापति शेरबहादुर देउवाले गत निर्वाचनमा पनि पार्टीका धेरै साथीहरू हारेको जिकिर गर्दै गठबन्धन नगरी नहुने धारणा राख्नुभएको थियो । उहाँले आफू स्वयम पनि मुस्किलले जितेको भन्दै सत्ताघटक दलहरूबीच गठबन्धन गरेर चुनावमा जानु नै ठिक रहेको धारणा राख्नुभएको थियो ।

पार्टी उपसभापति धनराज गुरुङले भने चुनावका सन्दर्भमा कांग्रेसले गठबन्धन गर्नुभन्दा सत्ताको नेतृत्व गरेको दल भएकाले जनप्रिय काम गरेर मतदाता खुशी बनाउनुपर्ने धारणा राख्नुभएको थियो । उहाँले यसअघि भएका चर्चित भ्रष्टाचारका काण्डहरूको छानबिन गर्ने मात्र हैन सरकार र पार्टीमा जिम्मेवार पदमा रहेका नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्नेमा पनि जोड दिनुभएको थियो ।

गठबन्धनका सम्बन्धमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको लडाइँ नेकपा एमालेविरुद्ध भएको भन्दै माओवादी र समाजवादीलाई भोट हालेर भए पनि एमालेलाई हराउनुपर्ने धारणा राख्दै भन्नुभयो– ‘एमाले अध्यक्ष केपी शर्मा ओलीलाई साइजमा राख्नुपर्छ, बलियो बनाउन दिन हुँदैन ।’ महामन्त्री गगन थापाले गठबन्धनको विरोध गर्दै चुनावको लागि गरिने गठबन्धनलाई सैद्धान्तिक रूपमा पुष्टि गर्न नसकिने बताउनुभयो । उहाँले भन्नुभयो– ‘देशभरका लाखौं कांग्रेसका मतदातालाई रूखबाहेक अन्यत्र भोट हाल्न लगाउँदा भविष्यमा उनीहरूले रूखमा भोट नहाल्न सक्छन् ।’

बैठकमा अर्का महामन्त्री विश्वप्रकाश शर्माले आवश्यक्ता र मतभारको आधारमा गठबन्धन गर्नुपर्ने भन्दै चुनावी गठबन्धन र तालमेलको सवालमा स्थानीय स्तरमै निर्णय हुँदा राम्रो हुने धारणा राख्नुभएको थियो । कांग्रेस नेता एवं गृहमन्त्री बालकृष्ण खाँणले भने सरकार गठन गर्ने बेलामै तीनै तहको निर्वाचनसम्म गठबन्धन गरेर जाने सहमति भएको भन्दै यो सहमतिलाई कांग्रेसले तोड्न नहुने धारणा राख्नुभएको थियो ।

नेपाली कांग्रेसभित्र संस्थापनइतर समूहको नेतृत्व गरिरहेका कांग्रेस नेता डा. शेखर कोइरालाले केन्द्रले गठबन्धन गर्ने निर्णय गर्दा तल्लो तहका कार्यकर्ताहरूले मानेनन् भने के हुन्छ भनी प्रश्न उठाउनुभएको थियो । उहाँले गठबन्धन गर्नुभन्दा पार्टीलाई आन्तरिक रूपमा एकढिक्का बनाउनतर्फ लागे यसैमा कांग्रेसको हित हुने धारणा राख्नुभएको थियो । अन्य केन्द्रीय सदस्यहरूले पनि गठबन्धनभन्दा आत्मबन्धनतर्फ लाग्न पार्टी नेतृत्वलाई सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्