अबको निर्वाचनमा महिलाहरू अघि बढून् : राष्ट्रपति भण्डारी

पोखरामा न्यायिक समिति सम्मेल सुरु, कांग्रेसद्धारा बहिष्कार


पोखरामा न्यायिक समितिको राष्ट्रिय सम्मेलन सुरु भएको छ। देशभरका स्थानीय तहका न्यायिक समिति संयोजकहरूको सहभागिता रहेको सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभयो । देशभरबाट नगरपालिका तथा गाउँपालिकाका उपप्रमुखहरू तथा न्यायिक समितिका सदस्यहरूको सहभागिता भइरहँदा काँग्रेसले भने बहिष्कार गरेको छ ।

पोखरा महानगरपालिका भित्र रहेका ३३ वटा वडा मध्ये ११ वडाका जनप्रतिनिधिले बहिष्कार गरेका हुन् । उनीहरूले एमालेले चुनावी एजेन्डा बनाएको भन्दै बहिष्कार गरेका हुन् ।  पोखरा महानगरपालिका वडा ९ का वडा अध्यक्ष तथा प्रमुख दल सचेतक समेत रहेका राजराज लामिछानेले स्वार्थपूर्तिका लागि सम्मेलनको आयोजना गरेको आरोप लगाउनुभयो । उहाँले नायक समितिले कांग्रेसलाई नडाकेको र समितिमा समेत कांग्रेसलाई सहभागिता गराएको बताउनुभयो । सम्मेलन चुनावी एजेन्डा रहेको उहाँको भनाइ रहेको छ ।

सम्मेलनमा पोखराको त्रिवर्षिय योजनाको पुस्तिका समेत सार्वजनिक गरिएको छ । पोखरा महानगरपालिकालाई अब कस्तो बनाउने भन्ने योजनामा आधारित रहेर पुस्तक सार्वजनिक भएको हो । पुस्तकको सार्वजनिक राष्ट्रपति विद्यादेखी भण्डारीले गर्नुभयो । उहाँले उक्त घोषणापत्रले पोखराको मात्र विकास नभई न्यायको क्षेत्रमा समेत प्रभावकारी रुपमा काम गर्नेमा आफू आशावादी रहेको सुनाउनुभयो  ।

राष्ट्रपति भण्डारीले न्यायिक समितिको संयोजकमा महिलाहरू रहेको र न्यायको विषयमा परिपक्व र क्षमतावान् हुँदै गएकाले आगामी वैशाख ३० को निर्वाचनमा महिला उम्मेदवार दिन आग्रह गर्नुभयो । ‘यो सम्मेलन सम्मेलनको रूपमा मात्रै नभई स्वतन्त्र र निष्पक्ष न्याय गर्नका लागि साझा धारणा बन्ने किसिमको बनोस्’ उहाँले भन्नुभयो,‘न्याय दिनु सामान्य कुरा होइन । संघीयतामा स्थानीय तहले न्याय दिनु असल अभ्यास हो ।’ पीडितलाई न्याय दिने सन्दर्भमा निडर भई दबाब र भेदभावमा नपरी सम्पादन गर्न अनुरोध गर्नुभयो ।

गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पीडितका लागि कम झमेला हुने गरी काम गर्ने वातावरण बनाउने वातावरण तयार गर्न आग्रह गर्नुभयो । उहाँले न्यायिक समिति धेरै सकारात्मक भए पनि प्रतिनीधिहरुमाथि सद्यैँ प्रश्न उठ्ने गरेको बताउनुभयो । उहाँले कानुन नपढेका तर राजनीतिबाट टिकट पाएर पुगेका व्यक्तिले न्याय दिन समस्या हुने बताउँदै प्रशिक्षण दिन अत्यावश्यक रहेको बताउनुभयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले न्यायिक समितिमा अधिकांश महिला नेतृत्व रहेकाले महिलाको क्षमतामा वृद्धि भएको बताउनुभयो । उहाँले न्यायिक समितिका लागि आवश्यक पुर्वाधार निमार्ण गर्नु महत्त्वपूर्ण भएकाले सबै स्थानीय तहले त्यस तर्फ ध्यान दिन आवश्यक रहेको बताउनुभयो । उहाँले टिकट पाएर न्यायाधीश बन्न पाउने काम नमुना रहेको बताउनुभयो । ‘संविधानले नयाँ प्रयोग गरेकै हो । टिकट पाएर न्यायाधीश बन्ने आफैमा नमुना कार्य हो’ उहाँले भन्नुभयो ।

उच्च अदालत पोखराका न्यायाधीश डिल्लीराज आचार्यले न्यायिक क्षेत्रमा अपर्याप्त अधिकार रहेको बताउनुभयो । उहाँले न्यायिक समितिको अधिकारको क्षेत्र वृद्ध गरिदिन राष्ट्रपतिलाई आग्रह समेत गर्नुभयो । उहाँले अहिले स्रोत र साधनको सम्मते कमी रहेकाले काम गर्न सक्ने वातावरण अझै सिर्जना भई नसकेको बताउनुभयो । ‘न्यायिक समितिको अधिकार पर्याप्त मात्रामा छैन । हामी कानुन पढेकालाई त न्याय दिने सवालमा कति कठिनाइ आउने गरेको छ भने जनप्रतिनिधिलाई कतिसम्म समस्या होला ? अब न्यायिक समितिको पुनः संरचना वा आवश्यक अधिकार दिनुपर्ने बताउनुभयो । सम्मेलनमा २ सय भन्दा बढी न्यायिक समितिका संयोजक तथा सदस्यहरूको सहभागिता रहेको छ ।