रक्सीसँग मासु किन खाइन्छ ?


डा. रामदेव पण्डित

विश्वभरिको चलनलाई हेर्ने हो भने रक्सी पिउने व्यक्तिले सक्सीसँगै प्रायः केही न केही सितन खाएको हुन्छ । सितन याने त्यस्तो ठोस पदार्थ जुन मूल खानपानसँग सहयोगी खानाको रुपमा खाइन्छ । रक्सीसँग खाइने सितनमा प्रायः मासु हुने गरेको पाइन्छ । रक्सी पिउने शाकाहारी व्यक्तिबाहेक अन्य प्रायले रक्सीसँग मासुको सितन खोज्छ र रोज्छ ।

किन होला ? यसको पछाडि कुनै विज्ञान पनि छ कि, चलन मात्र हो यो ? आयुर्वेद औषधि विज्ञान मात्र होइन, यो आहार विज्ञान पनि हो । आयुर्वेदले के खाने र कति खाने मात्र बताएको छैन, कसरी खाने र केसँग के खाने अनि के नखाने भन्नेसमेत बताएको छ । आहारलाई नै औषधि मान्ने विज्ञान पनि हो आयुर्वेद ।

आधुनिक चिकित्सा विज्ञानमा खासै चर्चा नभएको तर आयुर्वेदमा सूक्ष्म रुपमा चिन्तन र चर्चा गरिएको विषय हो अनुपान (अनु: पश्चात्, पान: खाना वा औषधि सेवन) । अनुपान भनेको त्यस्तो खानपान जुन मूल खानपान वा औषधि खाएपछि खाइन्छ । वा सँगसँगै वा अन्य निश्चित समयमा एवं विधिले खाइन्छ । जस्तै– सामान्यतया रुघा वा खोकी लाग्दा मरिचको धूलो सेवन गरिन्छ, जसलाई महसँग राखेर चाटिन्छ ।

आयुर्वेद शास्त्रको एक ग्रन्थ भावप्रकाश निघण्टुमा बताइएको छ कि कफसम्बन्धी रोगका निवारणका लागि हर्रोको चूर्ण नुनसँग खाइन्छ । त्यस्तै गरी हर्रोको चूर्ण पित्तसम्बन्धी रोग दूर गर्न सख्खरसँग, वातसम्बन्धी रोगमा घिउसँग र सामान्यतः सबै प्रकारको रोगबाट बच्न गुडसँग खाइन्छ ।

आयुर्वेद विज्ञान हो । फलतः हरेक घटना वैज्ञानिक तर्कद्वारा पुष्टि हुनु नै पर्छ । किन रुघाखोकीमा मरिचसँग मह खानु लाभकारी हुन्छ र हर्रो चूर्ण गुडसँग खानु सर्वरोग निवारणमा लाभकारी भनिएको होला त ?जस्तै– हर्रोको चूर्ण खाँदा स्वाद अप्रिय लाग्छ, जसलाई दूर गर्न अनुपान मह वा नुन दिइन्छ । अनुपानको प्रयोजन भनेको औषधि सेवन प्रक्रियालाई सुखद (स्वरुप, रङ्ग, रस, गन्ध अनुकूल) बनाउनु पनि हुन्छ ।

जसरी पानीमा राखिएको तेलको थोपा पलभरमै सबैतिर फैलिन्छ, त्यसै प्रकारले अनुपानको सहयोगले औषधि शरीरभित्र सर्वत्र फैलाउँछ । औषधिसँग समान गुण भएको अनुपानले औषधिको कार्यशक्ति बढाउँछ । जस्तै– नीमको चूर्णको प्रभाव बढाउन गुर्जोको काढाको अनुपान दिइन्छ ।

एउटै औषधिसँग खाइएको फरक–फरक अनुपानले फरक–फरक कार्य गर्दछ । जस्तै– मनतातो पानीसँग खाइएको त्रिफलाले कब्जियत खोल्छ भने त्यही क्रिफला महसँग खाँदा त्यो नेत्ररोगका लागि प्रभावकारी हुन जान्छ ।

वस्तुतः शास्त्रीय हिसाबमा अनुपानले तृप्ति दिलाउँछ, आहारलाई छिटो पचाउँछ, आयु बढाउँछ, शरीरलाई सुख एवं ऊर्जा दिलाउँछ । शरीरलाई मोटाइ बढाउँछ र अंगहरुलाई दृढ बनाउँछ । मनलाई हर्षित तुल्याउँछ ।

हरेक चिकित्सा विज्ञानको आ–आफ्नै आधारभूत वैज्ञानिक सिद्धान्त हुन्छन् । आयुर्वेदले चिकित्सा कर्मका लागि पञ्चमहाभूत सिद्धान्त अपनाउँछ । विश्व ब्रह्माण्डका सबै वस्तु पञ्चभौतिक हुन्छ भन्ने मान्यता आयुर्वेदको हो । आहार एवं औषधि पञ्चमहाभूतले बनेको हुन्छ र शरीर पनि पञ्चमहाभूतले नै बनेको हुन्छ । आकाश, वायु, जल, अग्नि र पृथ्वीलाई पञ्चमहाभूत भनिन्छ । हरेक महाभूतको निश्चित गुणहरु हुन्छन् ।

ती गुणहरु नै औषधि वा आहारको विशेषता हुन्छ । कुनै पनि रोग एवं रोगीलाई आवश्यक चिकित्सा कर्म निर्धारण गरिन्छ । तत्पश्चात् उक्त चिकित्साकर्म सिद्धिका लागि निश्चित विशेषता वा गुण भएको औषधि वा आहारको चयन गरी प्रयोग गरिन्छ ।

पञ्चमहाभूतको गुण भन्नाले चिल्लोपन, खस्रोपन, हलुका, भारी, तातो, चिसो आदि बुझिन्छ । आयुर्वेदमा ४१ प्रकारका गुणहरुको वर्णन छ । औषधिको रस भन्नाले गुलियो, अमिलो, नुनिलो, पिरो, टर्रो र तीतो बुझिन्छ । यी रसहरु पनि माथि भनिएका महाभूतले नै बनेका हन्छन् र गुणहरु त्यसै अनुसार बुझनुपर्दछ ।

अनुपानको निर्धारण औषधिको प्रकृति, रोगको प्रकृति र रोगीको अवस्था हेरेर गरिन्छ । अनुपानको सेवन भोजनभन्दा पहिले गर्न-गराउन निर्देश गरिएको छैन । यदि अनुपानको सेवन भोजनपहिल्यै गरिए त्यसले शरीरलाई दुब्लो र कमजोर बनाउँछ ।जुन अनुपान मूल आहार वा औषधिभन्दा विपरीत गुणवाला हुन्छ तर कार्यशक्ति विरोधी गुणवाला नहुने हुन्छ । त्यस अनुपानलाई उत्तम अनुपान मानिन्छ ।

आयुर्वेदका अनुसार रक्सीको गुण लघु (हलुकापन), रुक्ष (खस्रोपन), सूक्ष्म, तीक्ष्ण हुन्छ र रक्सीको विपरीत मासुको गुण गुरु (भारीपन), स्निग्ध (चिल्लो), स्थुल, मन्द हुन्छ । मासुले रक्सीको मदकारी कार्यशक्तिलाई फरक पार्दैन भन्नुको तात्पर्य रक्सीको कार्यशक्तिलाई न त बढाउँछ, न त घटाउँछ ।

रक्सीभन्दा विपरीत गुण मासुको भएको कारण केवल मासुले रक्सीले मात लाग्ने प्रक्रियालाई ढिलो गराउँछ । त्यसै गरी मासुको गुरु गुणको कारण पाचन र अवशोषण ढिलो हुने हुन्छ, जब विपरीत गुणवाला रक्सीको साथमा खाइन्छ, त्यसले मासुको पाचन र अवशोषण क्रियालाई तीव्रता दिन्छ ।

रक्सी मासुसँग खाँदा रक्सीको मात लाग्ने शक्तिमा फरक नपारी केवल मात लाग्ने प्रक्रियालाई ढिलो गराउँछ । साथै विपरीत गुणको कारण रक्सीले मासुको पाचनक्रियालाई तीव्रता दिन्छ । यही गुण विपरीतता र कार्यगत स्वतन्त्रता नै रक्सी मासुसँग खानुपछाडिको विज्ञान हो । यसै कारण रक्सीलाई मासुको अनुपानको रुपमा वा मासुलाई रक्सीको अनुपानको रुपमा खाने वैज्ञानिक चलन स्थापित भएको हो ।

रक्सीको अपेक्षित मदकारी कार्य त रक्सीले निःशंकोच गर्छ नै, साथै त्यससँगै खाइएको मासु पचेर र अवशोषण भइसकेपछि त्यसले पनि उत्तम बल दिने, इम्युनिटी दिने, शरीरमा मांस पुष्टता दिने आदि कार्य गर्छ । ती कार्यहरु रक्सीसँग खाइने अन्य सितनहरुको तुलनामा मासुले श्रेष्ठकर तवरबाट गर्दछ ।

अतः अनुपानको चिन्तन आयुर्वेदीय चिकित्सा विज्ञानको पृथक र विशेष विषय हो । अनुपानको प्रयोग औषधिको प्रभावकारी कार्यमा जति महत्वपूर्ण हुन्छ त्यति नै महत्वपूर्ण आहारको समुचित पाचन, अवशोषण र शक्ति उत्पादनका लागि हुन्छ ।

अन्य केही अनुपानहरु: कफज रोगको लागि अदुवासँग गुडको सेवन, वातसम्बन्धी रोगमा सुकेको अदुवा (सुण्ठी) सँग गुड सेवन, आमवात रोगमा गुर्जोसँग सुण्ठीको सेवन गरिन्छ । सामान्यतः कुनै पनि धूलो औषधिको प्रयोग गर्दा मह, पानी वा दूध अनुपान प्रयोग गरिन्छ । धूलोलाई चाटेर खाने बेला अनुपान दुई गुना र काढा बनाएर पिउने हुँदा चार गुना अनुपानको प्रयोग गर्ने विधान छ ।