औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार मेला हुने



भक्तपुर ।

नयाँवर्षको अवसरमा औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज व्यान्डको आयोजनामा छैठौं भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार मेला २०७८/०७९ को आयोजना हुने भएको छ ।

संस्थाका अध्यक्ष सन्दिप महतले कोभिड–१९ का कारण दुई वर्ष मेला आयोजना हुन नसके पनि यस वर्ष भने मेला आगामी चैत २४ गतेदेखि वैशाख ४ गतेसम्म ११ दिनसम्म सल्लाघारी चौरमा सञ्चालन हुने जानकारी दिनुभयो ।

नयाँ वर्षको अवसरमा आयोजना गर्न लागेको मेलामा एउटै छानामुनि उपभोक्ताले चाहेका हरेक सामग्रीहरू सहज र सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले बृहत् औद्योगिक तथा व्यापार मेला आयोजना गर्न लागेको उहाँले बताउनुभयो ।

भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रस्टको नाममा रहेको ९९ रोपनी जग्गामा मेलाको आयोजना गरिने जानकारी दिँदै उहाँले मेलामा २०० भन्दा बढी स्टल रहने बताउनुभयो ।

मेलाका संयोजक दीपक थापाले मेलामा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने सम्पूर्ण उपभोग्य सामग्री, औद्योगिक उत्पादन, सूचना तथा विज्ञान प्रविधि, ग्रामीण प्रविधि, अटो मोवाइल, विद्युतीय मेसिन कृषि औजार, मोवाइल तथा इलेक्ट्रोनिक्स सामानको प्रर्दशनी, सांस्कृतिक, व्यापार तथा पर्यटकीय प्रर्दशनी, लत्ताकपडा तथा भाँडाकुडाको प्रर्दशनी, एशियाकै उत्कृष्ठ बाल उद्यान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खाना महोत्सव तथा विविध प्रस्तुति रहने जानकारी दिनुभयो ।

सामानहरूमा २० देखि ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको जानकारी दिँदै उहाँले करिब मेलामा करिब पाँच लाखभन्दा बढी उपभोक्ताको आगमन हुने अनुमान गरिएको बताउनुभयो । करिब ८ करोड रुपियाँको कारोबार हुने अपेक्षा गरिएको मेलाका निर्देशक सुनिल बज्राचार्यले जानकारी दिनुभयो ।

मनोरञ्जनका लागि मेलामा बाल उद्यान, रोटी पिङ्ग, रेनजर, मारुती सर्कस, ड्रागन ब्रेक डान्स, नाउ तथा बच्चाको खेलौना, राष्ट्रियस्तरका कलाकारहरूको हाँस्य व्यङ्गय, नृत्य तथा गीत गायनको प्रस्तुति रहने जानकारी दिँदै उहाँले नृत्य प्रतियोगितासमेत गरिने बताउनुभयो ।

मेलाबाट भक्तपुर, काठमाडौं, ललितपुर, काभ्रेदेखि आसपासका जिल्लाका वासिन्दा यसबाट लाभ लिन सक्ने मेलाका आयोजकले बताएका छन् । मेलामा प्रवेशका लागि विद्यार्थीलाई ४० र अन्यका लागि ५० शुल्कको व्यवस्था गरिएको छ । यसअघि कोरोना कहरका कारण गत २ वर्ष मेला अवरुद्ध भएको थियो ।

प्रतिक्रिया दिनुहोस्