सरकार र आयोगको भूमिकाप्रति एमालेको आपत्ति



काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी एमालेले सरकार र निर्वाचन आयोगको भूमिकाप्रति आपत्ति जनाएको छ । एमालेले निष्पक्ष निर्वाचन गराउनुपर्ने संवैधानिक दायित्व बोकेको निर्वाचन आयोग र सरकारको भूमिका अनुचित रहेको भन्दै आपत्ति जनाएको हो ।

एमालेको आइतबार बसेको कमिटी बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले चुनाव चिन्हमा हरियो रङ राख्नु आपत्तिजनक विषय भएको जिकिर गर्दै राजनीतिक दलहरूसँग परामर्श नगरी एउटा दललाई फाइदाका गरिएको आरोप लगाउनुभयो । निर्वाचन आयोगले विगतमा पनि एमालेप्रति भेदभाव गरेको भन्दै उहाँले आयोगको निर्णय आपत्तिजनक रहेको बताउनुभयो ।

बैठकपछि एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुडले सरकारले स्थानीय चुनाव घोषणापछि पनि कर्मचारी र प्रहरी अन्धाधुन्ध सरुवा बढुवा गर्ने र चुनाव प्रभावित पार्ने खालका नियमावली तथा अध्यादेशहरू ल्याउने काम गरिरहेको आरोप लगाउनुभयो । दलहरूसँग कुनै परामर्श नगरी बिना औचित्य मतपत्रको रङ परिवर्तन गर्ने र मनोनयनका लागि दुई दिनको समय सत्तारुढ दल विशेषलाई अनुकूल हुने गरी दिइएकोे स्पष्ट भएको टिप्पणी गर्दै गुरुङले आयोगको ‘अनुचित कार्य’ तत्काल सच्याउन बैठकले माग गरेको जानकारी दिनुभयो ।

बैठकले केन्द्रीय कमिटीका तीनवटा निर्णय अनुमोदन गर्दै स्थानीय चुनावको प्रतिबद्धतापत्र तयारीका लागि चैत १६ गते हाइब्रिड भर्चुअल बैठक राख्ने निर्णय गरेको छ । उहाँका अनुसार केन्द्रमा रहेका नेताहरू भौतिक रूपमा सहभागी हुनेछन् भने जिल्ला पालिका र प्रदेशका प्रतिनिधिहरू भर्चुअल माध्यमबाट सहभागी हुनेछन् ।

एमालेले घोषणापत्रको मस्यौदा तयार पारेर वैशाख ९ गते अन्तिम प्रतिबद्धतापत्र सबै पालिकाबाट एकसाथ सार्वजनिक गर्ने तयारी गरेको छ । बैठकले केन्द्रीय घोषणापत्रको मस्यौदामा स्थायी कमिटी सदस्यहरूले चैत २० गतेसम्म लिखित सुझाव दिनुपर्ने निर्णयसमेत गरेको छ । स्थायी कमिटी बैठकले हालै सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पारित विषयवस्तुका आधारमा स्थानीय निर्वाचन केन्द्रित ठोस कार्ययोजना बनाएर पार्टी परिचालन गर्ने योजना बनाएको एमालेले बताएको छ ।

यसैबीच नेकपा अध्यक्ष केपी शर्मा ओलीले आइतबार बसेको स्थायी कमिटी बैठकमा आफू र चिनियाँ विदेशमन्त्री वाङ यीसँग भएको भेटवार्ताबारे जानकारी गराउनुभएको छ । वाङसँगको भेटवार्तामा नेपालको सरोकारका विषयमा खुलेर छलफल भएको बताउँदै ओलीले विदेशमन्त्री वाङले पनि नेपालको विकासको साझेदारको रूपमा भूमिका खेल्ने चिनियाँ सरकारको नीति रहेको जानकारी गराएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्