उत्पादनसँग जोडन सहकारीका सदस्यलाई उद्यमशीलता तालिम 


यमलाल भुसाल, बुटवल । 

उद्यमशीलता विना गरिने पेसा व्यवसाय सफल नहुने भन्दै सहकारीका शेयर सदस्यहरूलाई सिप सिकाउने लक्ष्य सहित एक हप्ते तालिम प्रदान गरिएको छ । लघु घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र त्रिपुरेश्वर काठमाडौँको आयोजना तथा प्रतिबद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवल ७ को सह आयोजनामा शनिवार देखि बुटवलमा १ हप्ते उद्यमशीलता विकास तालिम सञ्चालन भएको छ ।

तालिममा लुम्बिनी प्रदेश योजना आयोगका सदस्य डा. दामोदर भुसालले  हरेक पेसा व्यवसायको दर्ता देखि सञ्चालनसम्मका प्रक्रिया गर्नका लागि पनि सिप जरुरी हुने भएकाले उद्यमशीलता लिएकाहरूको व्यवसाय सफल हुने विश्वास व्यक्त गर्नु भयो । कार्यक्रममा लघु घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्दका उपसचिव अमृत आचार्यले उद्योग कलकारखान खोलेर मात्र सफल नहुने भन्दै सिप र ज्ञान विना गरिने कुनै पनि व्यवसाय फस्टाउन नसक्ने दाबी गर्नु भयो । उप सचिव आचार्यले उद्यमशीलता सिकेकाहरूले बनाएका योजना सार्थक र दीर्घकालीन रूपमा टिकाउ हुने धारणा राख्नु भयो ।

प्रतिबद्ध बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष विष्णु पुरीले तालिम लिएकाहरूले त्यसलाई व्यवहारमा पालना गरे मात्र तालिमको उपादयता हुने बताउनु भयो ।प्रतिबद्ध बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजेन्द्र घिमिरेले सहकारीका शेयर सदस्यहरूलाई प्रदान गरिएको तालिमसँगै पेसा व्यवसाय गर्नका लागि आवश्यक परेमा  आर्थिक लगानी समेत उपलब्ध गराउन सकिने धारणा राख्नु भयो । उहाँले सिकेको सिपलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आग्रह गर्नु भयो ।

चैत १८ गतेसम्म सञ्चालन हुन उद्यमशीलता विकास तालिममा ३१ जना सहकारीका शेयर सदस्यहरूको सहभागिता रहेको छ । लघु घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र त्रिपुरेश्वर काठमाडौँका शाखा अधिकृत सालिकराम भटृराई ,नासु नारायण भुसाल लगायतले तालिम प्रदान गर्नु  भएको सहकारीका व्यवस्थापक ऋषिराम भटृराईले बताउनु भयो ।