नन्द–भाउजूको आपसी व्यवहार र थप उकेरा

470
Shares

  • शोभा परियार

‘विवाह गर्ने उमेर पनि भयो, अब विवाह गरिनौ भने उमेर घर्किन्छ । उमेरमै विवाह गर्यौ भने बच्चा पनि समयमै हुर्किन्छन् । उमेर घर्किंदै जाँदा रोगले छोप्दै गएपछि बच्चाको हेरविचार गर्नमा पनि कठिन हुन्छ । धेरै महत्वाकांक्षी भएर महिला भएको अस्तित्व नै नभुल्नू, जसै विवाह गर्नु नै पर्छ ।’ सामान्यतया २४–२५ वर्ष उमेर पुगेका केटीहरुलाई परिवारले सुनाउने गर्छन् यी कुरा । परिवारले मात्र नभई इष्टमित्र, छिमेकी, साथीभाइले पनि ।

हरेक केटी मान्छेले आफू जन्मेको, हुर्केको, पढेको ठाउँ भुल्न सक्दैनन् । उनीहरुका हरेक इच्छा र चाहनालाई बुबाआमाले पहिलो प्राथमिकतामा राखी सजिलै पूरा गरिदिएका हुन्छन् । तर पनि छोरी भएकै कारणले जन्मघर छाडेर पराई मान्छे, पराई घर, पराई बुबाआमालाई सजिलै अपनाउनुपर्ने हुन्छ । आफ्ना इच्छा र चाहनालाई मनभित्रै मारेर कर्मघरका लागि अहोरात्र खटिएकी हुन्छिन् उनी ।

अलि बढी उमेरसम्म विवाह नगरी बसेमा ‘फलानाकी छोरी नै ठीक नभएर उसको विवाह हुन सकेन’ भनी वरपरका महिलाले नै विभिन्न लाञ्छना लगाउँछन् । मलाई लाग्छ– कुनै पनि पेसा, व्यवसाय, जागिर गर्ने मानिसहरु विवाह गर्ने उमेरका पछि लाग्दैनन् । धेरैजसो फुर्सदिला महिला, गृहिणी, आन्टी, दिदी–बहिनी, वृद्धाहरु र हाम्रो समाजलाई विवाहको उमेरको चिन्ता हुन्छ । यो समाजका केही महिलालाई देख्दा अचम्मित हुन्छु म । महिलाले नै महिलामाथि गरेको व्यवहार देख्दा मलाई नराम्रो लागेर आउँछ ।

काठमाडौंस्थित लैनचौरमा बस्ने मेरी साथी (नाम नखुलाउने सर्तमा) की एक भाउजू हुनुहुन्छ । हेर्दा पनि भाउजू र नन्द रहरले मिल्नुपर्ने, साथीजस्तै हुनुपर्ने भन्ने सोचिन्छ । तर विवाह गरेकी नन्दलाई मनमुटु नै दिने गरी माया गर्दा पनि भाउजूले नसहेको देख्दा छक्क पर्छु । कहिलेकाहीँ चाडपर्वमा माइत आएको पनि भाउजूले धेरै रिस गर्ने रे ! भाउजू भने महिनैपिच्छे माइतीमा जाने–आउने गरिरहने, श्रीमान्लाई पनि २ हप्तासम्म माइतीमै लगेर राख्ने, तर नन्द माइत आउँदा भने राम्रो नमान्ने । कस्तो अचम्म ! । भाउजूको माइतीमा दाइ–भाइ पनि छैनन् रे ! भाउजूको पनि भाउजू–बुहारी माइतीमा भइदिएको भए उनले बुझ्थिन् होला भनेर मरो साथीले गुनासो गर्दा मलाईसमेत नरामाइलो लाग्यो ।

माइतीमा आउँदा भाउजूले ऐरो गरेको पीडा सुनाउँदै ती साथी भन्छिन्– ‘कहिलेकाहीँ माइतीमा आउँदा भाउजूको त्यो व्यवहारले मनभरि पीडा बोकेर आफ्नै घर जान्छु । माइती आउने भनेको पनि बुबाआमाको श्वास छउन्जेल मात्रै हो । त्यसपछि त माइतीघर सम्झिने मात्रै हो ।’

माइतीमा भाउजूले नरुचाए पनि बुबाआमा र दाइबाट कहिल्यै टाढाको दूरीमा नभएको उनले बताइन् । आफू जन्मे–हुर्केको घरमा अर्कैको छोरी भित्रिएपछि त्यो घर पराईजस्तै बन्ने रहेछ । पितृसत्तात्मक सोचका कारण छोरीको माया भए पनि आखिर छोराले नै हो भोलि पाल्ने, काजकिरिया गर्ने भन्ने स्वार्थ मनमा हुने रहेछ बुबाआमामा पनि । यसले गर्दा छोरीलाई भन्दा बुहारीलाई नै च्याप्न बाध्यता हुने रहेछ उहाँहरुमा । मेरी साथी प्रश्न गर्छिन्– ‘आफ्नी बहिनीलाई प्रिय मान्ने भाउजूले नन्दलाई पनि त श्रीमान्को बहिनी मेरी बहिनीजस्तै हुन् भन्ने नसोच्ने किन होला ?’ यस्तो परिस्थिति सबै ठाउँमा छ त भन्दिन तर कतिपय ठाउँमा यसको ठीक विपरीत पनि होला ।

त्यस्तै रानीबारीमा बस्दै आएकी २७ वर्षीया एक महिलाको विवाह भएको एक वर्ष मात्रै भयो । उनलाई जसले पनि घरमा को–को र कतिजना छन् भनेर सोध्ने रहेछन् । नाम नखुलाउने सर्तमा ती महिलाले भनिन्– ‘बुबाआमा मात्रै हुनुहुन्छ, दिदी–बहिनी कोही हुनुहुन्न भनेर उत्तर दिँदा उनीहरु आहा कति रमाइलो आनन्द नै रहेछ, कसैको हस्तक्षेप रहेनछ भन्छन् ।’ ती महिलाको कुरा सुनेर म छक्क परेँ ।

उनका अनुसार घरमा एउटी फुपू मात्र रहिछन् । फुपूलार्ई सासू–ससुरालगायत सबैले धेरै माया गर्छन् अरे ! प्रत्येक चाडपर्वमा छुट्याउँदैनन् अरे ! उनी भन्छिन्– ‘मेरो पनि नन्द–अमाजू भइदिएको भए हुन्थ्यो नि ! धेरै मान्छे नन्द–अमाजू नभएकोमा आहा भन्छन् तर मलाई उनीहरु भएको राम्रो लाग्छ ।’

उनी अगाडि भन्छिन्– ‘नन्द–अमाजूले धेरै बदनाम गर्दा रहेछन् कि जस्तो लाग्छ । महिलाले महिलालाई किन असभ्य व्यवहार गर्छन् होला ? अन्य परिवार, समाजमा देख्दा मेरो भाइले विवाह गरेर ल्याएकी बुहारीले मलाई सम्मान गर्न सकोस् र म सधैँ प्रिय बस्न सकूँ जस्तो लाग्छ ।’

यहाँ महिलाले महिलालाई नै बुझ्न नसकेको अवस्था भएको छ । सकेसम्म माइतीलाई पनि घरकै जसरी सपार्नु, नसके आफ्नो बनेको घर–परिवारलाई बङ्ग्याउने कोशिशचाहिँ नगर्नुजस्तो लाग्छ । कुनै पनि नन्द–अमाजूले भाउजू–बुहारीले गरेको कामलाई कहिल्यै पनि अपजश लगाउनुहुँदैन ।

मेरो हकमा म सीपमूलक काममा रुचि राख्ने व्यक्ति हुँ, मलाई मेकअप गर्न त्यति मन लाग्दैन । फेसबुकमा धेरै फोटो पनि हाल्न मन पर्दैन । विवाहअघि पनि साह्रै सजिएर हिँड्दैनथेँ । अहिले पनि खासै रुचि बढेन । साथीहरुले बाहिर हिँड्दा त सारी वा कुर्ता लगाउनुपर्छ, अलि विवाहितजस्तो मेकअप गरेर बस्नुपर्छ भन्छन् तर मलाई यस्ता कुरा अनावश्यकजस्तो लाग्छ । त्यति चासो पनि राख्दिन । मलाई लाग्छ, यस्ता झीना कुरालाई पन्छाएर नै अघि बढी जीवनलाई खुशी र शान्त बनाउनुपर्छ भन्ने ।

पितृसत्तात्मक समाज र परम्परागत सोच भएका महिलाले महिलालाई माया र साथ नदिएका कारण महिलाहरु हिंसाको चरम शिखरमा परेका छन् । चेलीलाई माइतीमा परिवारका सदस्यले माया गरेको र खुशी बाँडेको रिस गर्ने भाउजू–बुहारी छन् हाम्रो समाजमा । यहाँ छोराले बुहारीलाई माया गरेको रिस गर्ने सासू छन् भने दुःख दिने आमाजू–नन्द पनि छन् । कोही त आफ्नै दिदी–बहिनीमाथि पनि सौता बनेका छन् । कोही सुख पाएको देख्नै नसक्ने आफन्तसम्म पनि छन् । अज्ञानताका कारण समाजले यसमा उकेरा हालिरहेको हुन्छ ।

यदि एक महिलाले अर्को महिलाको उन्नतिमा रिस गर्न छोडेर साथ दिने, सहयोग गर्ने, दुःख पर्दा सहानुभूति दिने हो भने कोही पनि महिलालाई हीनताबोध हुने थिएन । तर यहाँ ज्ञान, शिक्षा, चेतना र सीपमूलक तालिमको अभावले नै दबिएका आवाजलाई सधैँ दबाउने, अरूलाई गिराउने, व्यङ्ग्य गरेर या पेच पर्ने गरी बोलेर आफ्नो भित्री सोचलाई प्रदर्शन गर्ने गर्छन् । यस्ता मानसिकताले आफ्नो छवि मात्र नभई समग्र वरपरको वातावरणसमेत प्रदूषित बनाउँछन् । त्यसैले हामीले अहंता त्याग्यौँ भने समाजको अनुहारमा नौलो बिहानी आउनेछ । आशा छ, ती दिन अवश्य परिवर्तन छाउनेछन् । अब आजैबाट एक–अर्कालाई माया, साथ र सम्मान गरौं ।