कम्युनिस्ट हुन के गर्नुपर्ने ?



  • चिरञ्जीवी मास्के

केही नेता र केही लेखकले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कम्युनिस्ट नै हैन भन्ने गरेका छन् । तर उनीहरुचाहिँ कम्युनिस्ट हुन् कि हैनन् या कम्युनिस्ट हुनलाई गर्नुपर्ने के हो भन्नेचाहिँ खुलाएको पाइँदैन ।

इतिहास खोतल्ने हो भने सन् १८३२ तिर कार्ल माक्र्सले कम्युनिस्ट शब्दको प्रयोग गरेको पाइन्छ । नयाँ–नयाँ शब्दको प्रयोग गर्न रुचाउने कार्ल माक्र्सले राजनीतिक विचारको रुपमा कम्युनिस्ट शब्द प्रयोगमा ल्याएका हुन् । कार्ल माक्र्सको अवधारणा अनुसार कम्युनिस्ट विचारले व्यक्तिगत सम्पत्ति हटाउने र पूर्ण सामाजिक समानता कायम गर्ने नीति लिएको थियो ।

पछि सन् १८४८ फेब्रुअरीमा कम्युनिस्ट लिग नामको संगठनले कम्युनिस्ट घोषणापत्र जारी गर्यो । र, आफ्नो देशको भूगोल अनुसार माओत्सेतुङ, लेनिन, स्टालिन, फेड्रिच एंगेल्सजस्ता नेताले त्यसको कार्यान्वयनको लागि विभिन्न कार्ययोजना अघि सारे । अहिले पनि चिनियाँ राष्ट्रपति सी जिन फिङ, उत्तर कोरियाली नेता किम जोङ उन आदिले कम्युनिस्ट विचारधारा अनुसार मुलुकको शासन व्यवस्था चलाइरहेका छन् ।

नेपालमा पनि नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनमोर्चा नेपाल, नेपाल मजदुर किसान पार्टीलगायतका दलहरुले कम्युनिस्ट विचारलाई अङ्गीकार गरेर अगाडि बढिरहेका छन् । नेताहरुको स्वभाव शैलीलाई छोड्ने हो भने उल्लिखित दलहरुको नीति र कार्ययोजनामा तात्विक भिन्नता देखिन्न पनि ।

अब प्रश्न उठ्छ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कम्युनिस्ट नदेख्ने नेपाली कम्युनिस्ट पार्टीका केही शीर्ष नेताहरु र आफूलाई कम्युनिस्ट भन्न रुचाउने तथाकथित बौद्धिक दरिद्रहरुको दृष्टिलाई के भन्ने ? मोतियाविन्दुको प्रभाव कि वैचारिक अवस्थामा ह्रास ! हैन भने आजभन्दा झन्डै दुई सय वर्षअघि कार्ल माक्र्सले परिकल्पना गरेको कम्युनिस्ट विचार त नेपालका कुनै पनि कम्युनिस्ट पार्टीले अङ्गीकार गरेका छैनन् । र, अहिलेको परिप्रेक्ष्यमा नेपालमा उती बेलाको कम्युनिस्ट विचारलाई हुबहु कार्यान्वयन गर्न सम्भव पनि छैन ।

कार्ल माक्र्सको विचारलाई माक्र्सवादको रुपमा व्याख्या गरिएको छ । माक्र्सवादलाई हामी विज्ञानको रुपमा समेत अथ्र्याउने गर्छौं । विज्ञान परिवर्तनकारी हुन्छ । त्यसैले कम्युनिस्ट विचारमा देश, काल, परिस्थिति अनुसार परिवर्तन आवश्यक हुन्छ । अनि मात्र कम्युनिस्ट विचार कालजयी बन्न सक्छ । तर मूल मर्म समाजवाद हुँदै साम्यवादी गन्तव्य भने भुल्नुहुँदैन ।

फ्रान्सेली प्रशासनको अधिनस्थ ट्रियर शहरमा सन् १८१८ मा जन्मिएका हुन कार्ल माक्र्स । करिब १४ वर्षकै उमेरमा उनले कम्युनिस्ट विचारधाराको परिकल्पना फ्रान्सेली अधिनस्थ अवस्थाको विश्लेषण गर्दै त्यहाँको सामाजिक धरातल, भौगोलिक बनावट, मानवीय अवस्था आदिलाई हेरेरै गरेको हुनुपर्छ । सन् १७८९ मा भएको फ्रान्सेली राज्यक्रान्तिले ल्याएको हलचलले पनि माक्र्सलाई कम्युनिस्ट विचारधाराको परिकल्पना गर्न सघाएको हुनुपर्छ ।

अब कल्पना गरौं, कार्ल माक्र्सको कम्युनिस्ट विचार अनुसार अगाडि बढ्ने हो भने नेपालको सामाजिक, भौगोलिक र मानवीय अवस्थाले साथ दिन्थ्यो कि दिँदैनथ्यो होला ? के सन् १८३२ को फ्रान्सेली समाजको अवस्था र २००६ साल (नेपालमा कम्युनिस्ट पार्टीको स्थापना भएको समय) को नेपालको अवस्था उस्तै थियो होला त ? थियो भने हामीले कार्ल माक्र्सकै कम्युनिस्ट विचारधारालाई पछ्याउँदा मात्र सच्चा कम्युनिस्ट हुन सक्थ्यौं होला । हैन भने त नेपालको सामाजिक, आर्थिक, भौगोलिक अवस्थाहरुको विश्लेषणसहित माक्र्सवादलाई विज्ञानको आँखाले हेरेर कम्युनिस्ट विचारमा परिर्वतन गर्नु नै साँचो अर्थमा कम्युनिस्ट विचारधारा ठहरिन्थ्यो होला नि !

मैलो कपडा लगाउने, ढिँडो र गुन्द्रुक खाने, जिङ्ग्रिङ्ग शरीरमा चुस्स दाह्री पालेको मानिस मात्र कम्युनिस्ट हुने आम नेपालीको दृष्टिकोणले गर्दा नै हामी केपी शर्मा ओलीहरुलाई कम्युनिस्ट देख्दैनौं । सम्पन्न यहुदी परिवारका कार्ल माक्र्सले आफ्नो आर्थिक हैसियत कमजोर बनाउन कम्युनिस्ट विचारको शुरुवात गरेका थिएनन् । व्यक्तिगत सम्पत्ति हटाएर पूर्ण सामाजिक समानताको परिकल्पना भनेको आम मानिसलाई कमसेकम आफ्नो बराबरीचाहिँ बनाउनुपर्छ भन्ने उद्देश्य थियो कार्ल माक्र्सको । र, सोही अनुरुप कार्ल माक्र्सको विचारलाई हरेक कम्युनिस्ट मुलुकले आफ्नो देशको परिवेश अनुसार अङ्गीकार गरेका उदाहरणहरु छन् ।

नेपालको सन्दर्भमा वि.सं. २००६ मा स्थापना भएको कम्युनिस्ट पार्टीले मदन भण्डारीको उदयपछि मात्र नेपालको सामाजिक अवस्था अनुसारको नयाँ विचार पाउन सक्यो ‘जनताको बहुदलीय जनवाद’ । कार्ल माक्र्सको कम्युनिस्ट विचारको वैज्ञानिक रुपान्तरणको रुपमा स्वर्गीय जननेता मदन भण्डारीले २०४६ सालपछि ‘बहुदलीय जनवाद’ नामसहित नयाँ कम्युनिस्ट विचार अघि सारे । जसमा जननेता मदन भण्डारीका सहयोगी केपी शर्मा ओलीले जनता थपिदिए र ‘जनताको बहुदलीय जनवाद’ भयो ।

कम्युनिस्ट विचारलाई धेरैले निरंकुश विचारको रुपमा व्याख्या गर्छन् । तर अहिलेको परिवेशमा निरंकुशताको अङ्कुशले मात्र विकास सम्भव हुँदैन । छिमेकी देशको राजनीतिक, सामाजिक, आर्थिक अवस्था, जनताको मनोभावजस्ता धेरै कुराहरुको विश्लेषणसहित कम्युनिस्ट विचारलाई वस्तुगत ढङ्गले माक्र्सवादको साँचोमा ढाल्नुपर्ने हुन्छ ।

नेपालमा २०५१ सालमा पहिलो कम्युनिस्ट प्रधानमन्त्रीको रुपमा मनमोहन अधिकारीले नौ महिने सरकारको नेतृत्व गर्नुभयो । त्यो बेला केही जनवादी कार्यक्रम सञ्चालन भएका थिए । आफ्नो गाउँ आफैँ बनाऔं, वृद्ध भत्तालगायतका लोकप्रिय कार्यक्रमले नेपालमा मात्रै हैन दक्षिण एसियामै कम्युनिस्ट प्रभावलाई स्थापित गर्न सहयोग पुर्यायो । २५ वर्षको अवधिमा नेपालको सामाजिक वस्तुस्थिति र राजनीतिक परिस्थितिमा निकै भिन्नता आएको थियो ।

जति बेला केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्नुभयो । कम्युनिस्ट विचारलाई २०५१ सालकै अवस्थाबाट अघि बढाउन खोजिएको भए सफलता सम्भव थिएन । त्यसैले विकास र समृद्धिको नारासहित ओलीले केही दीर्घकालीन सोच र सपनाहरु देख्नुभयो । चीन र भारतबाट रेलमार्ग निर्माण, समुद्रमा नेपालको झन्डा फहराएको पानीजहाज, पाइप लाइनबाट घर–घरमा ग्यास, विद्युत्को प्रचुरताजस्ता विषय विकास र समृद्धिको नारासहितका सपना थिए, जसले समाजवादी मार्ग हुँदै साम्यवादी संसारमा पुग्न सहज गरिदिन्थ्यो ।
तर तत्कालीन ओली नेतृत्वको सरकारका ती सपनाहरुलाई कथित कम्युनिस्ट नेता तथा बुद्धिजीवीहरुले पुँजीवादी शैलीको लेपनसहित कम्युनिस्ट पथबाट ओलीको भ्रष्टीकरण भनेर ट्याग झुन्ड्याउन शुरु गरे । र, केपी ओली कम्युनिस्ट नै हैन भन्दै दमाहा ठोक्न लागे ।

अब ती कथित कम्युनिस्ट नेता र बौद्धिक दरिद्रहरुसँग यहीँनेर बहस गर्नु जरुरी छ– मुलुकको विकास र समृद्धिले कम्युनिस्ट विचारलाई कहाँनेर अवरोध गर्छ ? अनि सपना नदेखी सम्भावनाको खोजी कसरी गर्न सकिन्छ ? चीनको विकासमा माओत्सेतुङदेखि चाउ एन लाई हुँदै सी जिन फिङसम्मको समृद्धि सपनाले काम गरेको हैन र ? के माओले कार्ल माक्र्स ताकाकै कम्युनिस्ट विचारलाई हुबहु अङ्गीकार गर्न खोजेको भए वा सी जिन फिङले माओकै कार्यनीतिलाई पछ्याएको भए चीनको तीव्रतम् विकास सम्भव थियो ?
लिम्पियाधुरा र लिपुलेकसहितको चुच्चे नक्सा जारी गर्ने साहस र भारतसँगको परनिर्भरता अन्त्य गर्दै चीनसँग पारवहन सन्धि गर्ने तत्परताकै कारण केपी शर्मा ओलीलाई कम्युनिस्ट नै हैन भन्ने हौवा पिटाउन केही मिडियाहरु नै पनि गोयबल्स शैलीमा कस्सिएको पाइन्छ ।

अहिलेको बहस केपी शर्मा ओली कम्युनिस्ट हो कि हैन भन्ने भन्दा पनि विकास र समृद्धिको यात्रामा कुनचाहिँ राजनीतिक दलका को–को नेताको कार्ययोजना ठीक भन्ने मुख्य हो । २०२८ सालभन्दा अघिबाट सामाजिक परिवर्तन र राष्ट्रिय स्वाधीनताको लागि अनवरत संघर्षरत नेता केपी ओलीलाई न कसैले कम्युनिस्ट हो भनेर प्रचार गर्नुपर्ने जरुरत छ, न कसैले कम्युनिस्ट हैन भनेर गोयबल्स शैलीमा गरिएको प्रचारले अर्थ राख्छ । पूर्ण सामाजिक समानताका लागि विकास र समृद्धिको नारासहित दीर्घकालीन अभियान शुरु गर्ने केपी शर्मा ओलीको काम नै बदलिँदो समाजको नेतृत्व गर्ने कम्युनिस्ट विचार हो ।

प्रतिक्रिया दिनुहोस्