‘नेपालमा आज क्रान्तिचेता नेतृत्वको खडेरी छ !’



  • मुक्तिबन्धु

जनता र समकालीन राजनीतिक चेतना :
गाउँमा शेरमणि पण्डित काका भन्नुहुन्छ, ‘नब्बे वर्षको भएँ । आजसम्ममा मैले धेरै कुरा देखेँ । राणाहरुको जहानिया शासन देखेँ, भोगेँ । अहिले आएर त्यही राणाशासनको सम्झना ताजा गराउने यी थरी–थरी पार्टीका नाइके राणाहरुका जहानिया शासन पनि देखिराछु । भोगिराछु । पहिलेका राणाहरु सत्तामा उक्लेपछि पहिले आफ्नै दरबार बनाउँथे । अहिलेका राणा र तिनका भारदारहरु पनि त्यसै गरिराछन् । आफ्नै दरबार बनाइराछन् । जुन राणाले बनाए पनि दरबार बन्ने जनताको रगत–पसिनाले नै हो । जनताको भाग्य–भविष्य मासेरै बनिने हुन् दरबार । पहिले थोरै राजा थिए । अहिले धेरै राजा छन् । हामी जनताका टाउकामा भार बढी नै छ । बोकिसक्नुको बोझ छैन ।’

सँगै बसिरहनुभएका भोजविक्रम काका भन्नुहुन्छ, ‘पण्डित दाइभन्दा म झन्डै दश वर्ष कान्छो हुँ । बीचमा बीस वर्ष जति म बेलायती फौजतिर बरालिन पुगेँ । त्यसपछि फेरि गाउँमा सँगै जिन्दगी खेपियो । पण्डित दाइ र मेरो अनुभवमा खास फरक छैन । मुलुकलाई उन्नतिको बाटोमा हिँडाउने राजनीति र नेतृत्व अहिलेसम्म देख्न/बेहोर्न पाइएन । यस्ता गतिछाडा चुनाव त धेरै देखिए । अहिले पनि स्थानीय चुनाव आएको छ क्यार !

उराठ र सुनसान गाउँबस्तीहरुमा नानाथरी पार्टीका पार्टी–नाइकेहरु र तिनका सुसारे–मुसारेहरु सुकिलामुकिला पोशाकमा ठाँटिएर ठीँ–ठीँ नाक बजाउँदै र टठ्याइँ–फट्याइँ खोक्दै मोटर चढेर गाउँ पसेपछि गाउँका तिनका मुखिया जिम्बावालहरु अझ भनौं तिनका रजौटाहरु ठाडा कान बनाउँदै पछि लागेका देखिएका छन् । भुक्तभोगी आँखाहरुका लागि यो दृश्य नयाँ छैन । यिनीहरु मोटर चढ्छन् ,। घोडा चढ्छन्, त्यतिले नपुगे मान्छेकै ढाडमा पनि चढ्छन् । चढिआएका छन् । जनताका ढाड चढ्ने हैसियतलाई लम्ब्याउन चुनावको बल्छी बोकेर गाउँबस्ती र शहरका टोलटोलमा पसेका छन् । देशको माया नभएका अनि जनताका लागि कुनै जिम्मेवारी भाव नभएका यी गतिछाडा नेता भनाउँदाहरु पहिले पनि चुनावमा फट्याइँ नै गर्थे । जनतालाई बुद्धु बनाएर चुनाव जित्नु नै यिनीहरुको पराक्रम हो । चुनाव नै यिनीहरुको लिगलिगे दौड हो ।

विकासका नाममा पहाड–तराईका जो बाँकी प्रकृति विनाश गरेर मुलुकलाई नानाथरीका बाढी–पहिरोमा पार्ने र ध्वस्त बनाउने यिनीहरुको प्रायोजित अभियान नै हो । खनिजका क्षेत्रमा अनन्य भण्डार भएर पनि अहिलेसम्म बलात्कारीका दृष्टिमा नपरेको नेपालको कौमार्य भङ्ग गर्ने यिनीहरुको आततायी मनसाय पनि अब त खुल्न बाँकी छैन । त्यसै क्रममा अहिले यिनीहरुले एमसीसी पनि पारित गरिसकेका छन् । मुलुकको पानी जवानी र खानीहरु सबै–सबै विदेशी प्रभुहरुलाई सुम्पने आजका यी सत्तासीन राजनीतिक नेतृत्वहरुको अभिप्राय निर्वाङ्ग नाङ्गै देखिइसकेको छ । खासमा यिनीहरु राजनीतिक नेतासेता केही होइनन् । निख्खरा ठेकेदार हुन् । विदेशी प्रभुहरुका ठेकेदार ।

मुलुक सकाउने प्रायोजित ठेक्कापट्टाका अभियानमा मरिहत्ते गर्दै लागिपरेका छन् । विदेशी प्रभुहरुलाई यथेष्ट सेवा–सहयोग पुर्याउन तँछाडमछाड गर्दै दगुरेका छन् । फेरि पनि चुनाव जितेर पाँच वर्षका लागि छाडा साँढे बन्ने र मुलुक चर्ने अवसरको नयाँ जग हाल्न यिनीहरुलाई आफ्ना मातहतका स्थानीय स्तरका सहयोगी साँढेहरुको आवश्यकता परेको छ । त्यही आवश्यकता पूरा गर्नका लागि रजौटा कदका जिम्वाल साँढे र मुखिया साँढेहरु उभ्याउन पहिलेजस्तै अहिले पनि गाउँ–गाउँमा स्थानीय चुनाव नामक जात्रा बोलाएका छन् । जे छ साँढे बन्ने/बनाउने खेल नै छ । मुलुक बेच्ने/बेचाउने खेल नै छ । यी यस्ता नेता–कार्यकर्तासँगै यो मुलुकमारा व्यवस्थालाई नै जनताले भीमसेन लात ठोक्नुपर्ने । खै जनतामा त्यो चेतना अभैm उघ्रेको छैन । यसैमा दुःख लागेको छ ।’

राजनेताहरु र सलहका नाइकेहरु :
यसपटकको भेटमा बाटामुनि घरका हरिलाल काका पनि चिन्तित देखिनुभयो । उहाँ उमेरमा गाउँका अग्रणी किसान मानिनुहुन्थ्यो । अहिले पनि गाउँका कति किसानहरु उहाँसँग सल्लाह लिन्छन् । उहाँ सूचना बटुल्नुहुन्छ । यसैले समयसचेत हुनुहुन्छ । यसपालि भेटमा उहाँले पहिले त लामो सुस्केरा हाल्नुभयो । विरक्त आँखाले मेरो अनुहारतिर हेर्नुभयो र भन्नुभयो– ‘मुलुकमा यसपालि पनि चुनाव आएको छ । किसानका खेतबारीमा सलह आएजसरी बेला–बेला जनताको बस्ती–बस्तीमा चुनाव आउँछ । गाउँलेको जीविका खान्छ । मुलुकमारा प्रकृतिका आप्mना बच्चाहरु गाउँमा जन्माएर पनि जान्छ । नाउँ जेसुकै होस् । नाउँले हुने केही होइन । यस्ता सलहमुखी व्यवस्था र यस्ता नेताले मुलुक उँभो लाग्दैन । हेर्नुस् न झन्–झन् हरिकङ्गाल भएका छन् गाउँहरु । यो त्यसै भएको होइन । यो राजनीतिक व्यवस्था र नेताहरुकै करामत हो ।

धेरै वर्षअघि जतिखेर म बालखै थिएँ । हाम्रो गाउँबस्तीमा सलह आएको थियो । दिउँसो आकाशमा कालो बादल ढाकिएजस्तै ढाकिएर आएको थियो सलह । त्यो कालो बादलजस्तो सलहको बथान किसानका खेतबारीमा सर्लक्क ओर्लेर ढपक्कै ढाकिने गरी बस्यो । किसानका खेतबालीमा लटरम्म फलेका विभिन्न बालीहरु ती सलह नामका खन्चुवा फट्याङ्ग्राहरुले छिन्भरमै भसक्कै खाए । किसानहरुले लौ न के गर्ने ? भन्दाभन्दै र उपाय सोच्न कोशिश गर्दागर्दै भसक्कै खाए ।

गरिब किसानहरुको बस्ती थियो । निर्धारित कुत तिर्ने गरी शहरवासी साहूका खेतबारी कमाउने धेरै थिए । शहर बस्ने साहूहरुले सलह चिन्दैनथे । यसको बिज्याइँ बुझ्दैनथे । निर्धारित समयमा कुतबाली भर्न आउन भने कहिल्यै बिसैंदैनथे । सलहले गाउँका खेतबारीहरुमा बालीका साथै किसानहरुको मुटु पनि कुटुकुटु चिथोरिरहेको थियो ।

यहाँका किसानहरुलाई ऋणपिन गरेर बल्लतल्ल वर्षको एकपटक दशैँमा मासु खाने अवसर मिल्थ्यो । मासु खाने रहर त कहिले पो मेट्न पाउँथे र ? बाली बिमाखका यस क्षणमा तिनीहरुले सलहमा अलिकति मासु देखे । फट्याङ्ग्राको मासु कति हुनु ? तर पनि तिनीहरुले भ्याएभेटेजति सलह समाते । ठाउँ–ठाउँमा आगो बाले । समातेका सलह पोले, टोके, चपाए, स्वाद लिएर निले ।

साहूको कुत तिर्ने र रहलपहलले खोलेफाँडो खाएर वर्षदिन गुजारा गर्नुपर्ने गरिब किसानहरु । आफ्नो पसिनाको खेती सलहले सखाप पार्दा बिचराहरुलाई कम्तीको पिरलो थिएन । यो यस्तो अवस्थामा पनि किसानहरुले प्रतिव्यक्ति १०–१५ वटाका हिसाबले सलह समातेर पोल्दै चपाए । स्वादमा रमेर एकछिन् आपसमा हाँसो ठट्टा गरे । ए ! तैँले कतिवटा सलह भेटिस् ? पोल्न भ्याइस् कि काँच्चै खाइस् ? खान त खाइस् ? एक–अर्कामा सोधपुछ गरे, रमाए । मर्मान्त पीडामा पनि निश्छल हाँसो हाँसे । यो सबै त्यहाँका गाउँबस्तीको आकाशले देख्यो । सलहले भर्खरै उजाड बनाएको धर्तीले देख्यो । सलहले गरिब किसानको मेहनत सफाचट पारेको यसै क्षणमा साहूहरु शहरभित्र आ–आफ्ना महलमा अकुत विलास वैभवका बीच आफ्ना प्रियजनसँग बसेर कबाफ लुछ्दै हुँदा हुन् । मधुपान गर्दै हुँदा हुन् । सलहका फौजी स्पूmर्ति र चाटचुटे शैलीको प्रशंसा गर्दै पनि हुँदा हुन् । तन्नम गरिब जनताको खानपान, रहनसहन, चालचलन, बोलीबचन र जीवनदर्शनलाई लिएर कुरा काट्तै हुँदा हुन् । गिज्याउँदै हुँदा हुन् ।

यता बस्तीमा बाली सखाप पारेपछि सलहको त्यो बादलजस्तै फौज फौजी शैलीमै भुरुक्क उड्यो । साँच्चिकै उच्चस्तरीय तालिम प्राप्त सैनिक जमातजस्तै गरी लगभग एकै पटक उड्यो । अर्को भेगका किसानका खेतबारीमा ओर्लेर त्यहाँका किसानका बाली सखाप पार्न उड्यो । भुक्तभोगीका अनुसार सलह भनेका जति खाए पनि पेट नभरिने सर्वग्रासी फट्याङग्रा हुन् । तिनीहरु आकाशबाट ओर्लेर बालीमाथि छपक्क बसेपछि डाँडापाखा र फाँटका फाँट हरियाली क्षणभरमा चाटेर नाङ्गै पारिदिन सक्छन् । यसैले सलह आएको वर्ष जनजीवनका लागि अनिकालको वर्ष बन्छ । बिर्सी नसक्नुको दुःख, दारिद्र्य र पीडाको वर्ष बन्छ ।

मलाई ताजा सम्झना छ । त्यस वर्ष गाउँबस्तीमा वर्षभरि नै कहाली लाग्दो अनिकालले पिरोल्यो । गाउँलेहरुबीच सलहको चर्चा चलिरह्यो । पापी सलहले हामी गरिब किसानहरुलाई बाहिर निस्कनै नसक्ने गरी ऋणको खाडलमा धकेल्यो भन्ने चर्चा किसानरुबीच चलि नै रह्यो ।

मुलुकमा चुनावको हल्ला आएपछि मलाई त्यही सलह आएका वर्षको सम्झना आउँछ । भीषण अनिकालको सम्झना आउँछ । सम्झना नआओस् पनि कसरी ? आजको राजनीतिक व्यवस्थामा नेता–कार्यकर्ता पनि सलह नै त हुन् । जनताका रगत–पसिनाको उत्पादन सत्यनाश पार्ने सलह । भयङ्कर परजीवी प्राणीहरु भन्नाले फटाहा नेता र तिनका कार्यकर्ताहरु नै हुन् । चुनाव नै यस्तो वातावरण हो जसको आगमनले जनताका रगत–पसिना चाट्ने नयाँ–पुराना सलहहरुको पालनपोषण गर्छ । तिनीहरुलाई थप ऊर्जा दिन्छ । हुन पनि प्रत्येक पाँच वर्षमा नेपालमा चुनाव आउँछ । सलह ओइरिएजसरी नै नेता–कार्यकर्ताहरु गाउँबस्ती र शहरका टोल–टोलमा ओइरिन्छन् ।

चोर, डाँका, फटाहा, जनतामारा, पकेटमारा, बिचौलिया, माफिया, भ्रष्टाचारी, अत्याचारी, बलात्कारी, राष्ट्रघाती, जनघाती सबै मिलेर बनेको सलहको डफ्फा विभिन्न पोशाक र विभिन्न लवजमा हात जोड्दै गाउँबस्ती र शहरका टोल–टोलमा पुग्छन् ।

हामी जनताबीच विभिन्न परिकारका सपना पस्कन्छन् । मोहजाल फिजाउँछन् । जनताका जनमत दाउमा पार्न ठाउँ–ठाउँमा मासुभात र जाँडरक्सीका भोजभतेर पस्कन्छन् । पैसा बाँड्छन् । हामी आज पनि हिजो बस्तीका गरिब किसानले एकाध सलह टिपेर पोल्दै, चपाउँदै स्वाद लिएजस्तै उम्मेदवारले बाँडेको एकछाक मासुभात खाएर, एक डबका जाँड पिएर, एक–दुईवटा नोट हात थापेर त्यसैको रन्कोमा मतदान गर्दै चुनावको स्वाद लिन्छौँ । देश र जनताको रगत–पसिना पिउन पल्केको जनतामारा, पकेटमारा, बेइमान, राष्ट्रघाती कुनै एक फटाहालाई मतपत्रमा छाप ठोकेर अरु पाँच वर्ष आफ्ना टाउकामाथि गिर खेल्ने अधिकार सुम्पन्छौँ । यसैमा मख्ख पर्छौं ।

गाउँबस्तीमा गरिब, निमुखा र राजनीतिक चेतनाशून्य मतदाताहरुमा चेतनाको ज्योति नजागेसम्म लोकतन्त्र र चुनावका नाममा जालझेल चल्ने नै रहेछ । वास्तवमा भन्ने नै हो भने हामी जनताका अधिकारमाथि भुइँफुट्टा फटाहा राजनीतिक नेता–कार्यकर्ताले रजाइँ गर्ने, राज्यसत्ता हत्याउने, राज गर्ने यो राजनीतिक व्यवस्था नै ठीक छैन । यो व्यवस्था यसै गरी कायम रहेसम्म हामी जनताको रगत–पसिनामा यी नेता नामका फटाहाहरुको रजाइँ चली नै रहन्छ । हाम्रो पसिनाका खेतीमा सलहले रजाइँ गरी नै रहन्छ ।

खै अहिलेसम्म हामी जनताका हातमा अधिकार आएको छैन । अहिलेसम्म मुलुकमा जनताको सरकार बनेको छैन । हामीले एमसीसीमा आँखाभरि देख्यौँ नि ! हाम्रो सरकार भएको भए एमसीसीको विरोध गर्दा हाम्रो टाउकोमा पुलिसले लाठी, गोली र फोहोराको वर्षा गथ्र्यो ? गर्दैनथ्यो नि ! अहिलेसम्म नेपालमा हामी जनताको सरकार बन्नै सकेको छैन । अरु कसैको सरकार बन्ने गरेको छ । म गाउँको साधारण किसान हुँ र पनि दुःखले मलाई सबै कुरा थाहा दिएको छ । यो यस्तो थोत्रो राजनीतिको व्यवस्था कायम रहेसम्म मुलुकमा यी भुइँफुट्टा फटाहा नेता, जनअधिकार खोसुवा चुनावी पद्धति र गरिब–निमुखा एवम् राजनीतिक चेतनाशून्य मतदाताको यो अँध्यारो वातावरण कायम रहिरहन्छ । हामी जनताका सुख–समृद्धिका सपना पनि सलहले बाली बिमाख गर्दाको क्षण एकाध सलह टिपेर, पोलेर, टोकेर दशैँ मानेको कल्पना गर्दै हाँसो–ठट्टामा रमाएजस्तै भइरहन्छ ।

यसै भएर म त भन्छु– अब हामीले यी गाउँबस्ती र टोल–टोलमा जाली भाषण बोकेर छिरेका मुलुकमारा फटाहाहरुलाई भोट होइन लात दिएर लखेट्नुपर्छ र जनताका सल्लाहमा जनताको हित–भलो गर्ने खालको नयाँ राजनीतिक परिवर्तन गर्नुपर्छ । नत्र त खै !’गाउँमा तीनजना वरिष्ठ नागरिकलाई सुन्दा एकछिन् त म रनभुल्लमा परेँ । पछि मलाई लाग्यो– आज नेपालमा जनचेतनाको खडेरी छैन । यथार्थ धेरैले बुझेका छन् । खडेरी छ भने आज क्रान्तिचेता नेतृत्वको खडेरी छ ।

प्रतिक्रिया दिनुहोस्