टिकट पाउने सर्वोकृष्ट र नपाउने अयोग्य भन्ने छुट कसैलाई छैन : गृहमन्त्री खाँण

0
Shares

कपिलवस्तु  ।

गृहमन्त्री बालकृष्ण खाँणले नेपाली काङ्ग्रेसका तर्फबाट आवधिक निर्वाचनमा  विभिन्न पदमा टिकट पाउने सर्वोकृष्ट र नपाउने अयोग्य भन्ने छुट कसैलाई नभएको बताउनु भएको छ ।

पार्टीको शिवराज नगरपालिका समितिले बुधवार गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा गृहमन्त्री खाँणले निर्वाचनमा पार्टी नेता कार्यकर्ता र मतदाताले रुचाउने व्यक्तिलाई टिकट दिनुपर्ने बाध्यता रहेको र त्यो गाह्रो काम भएको बताउनुभयो ।पार्टीमा व्यक्ति धेरै हुने र निर्वाचनमा पद थोरै हुने भएकाले जसले टिकट पाउँछ उसैलाई सहयोग गरेर पार्टीलाई जिताउनु पर्ने बताउनुभयो । उम्मेदवार हुने चाहना राख्दै तयारी गर्न भन्दा उम्मेदवार छान्ने काम जटिल भएको बताउनुभयो ।

शान्तिपूर्ण रूपमा स्वच्छ, निष्पक्ष निर्वाचन गराउन सरकार तयार रहेको बताउनुभयो । उहाँले चैत ११ गतेका लागि बोलाइएको काङ्ग्रेस केन्द्रीय समिति बैठकले वर्तमान गठबन्धन सरकारमा रहेका राजनीतिक दलहरूबिच  तालमेल गरेर अगाडि बढ्ने विषयमा छलफल हुने बताउनुभयो ।