चेक फिर्ता प्रकरण : एसएसपी अशोक सिंहलाई कारबाही गर्न सिफारिस



काठमाडौ‌ं ।

नयाँ बानेश्वरको एउटा जुवा खालबाट बरामद गरिएको चेक फिर्ता गरेको बारे छनविन गर्न गठित समितिले तत्कालीन महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी अशोक सिंहलाई कारबाही गर्न सिफारिस गरेको छ ।

कानुनी प्रक्रिया छलेर एसएसपी सिंहले २ करोड २९ लाखको चेक आरोपीलाई फिर्ता गरिदिएका थिए । कानुनी प्रक्रियामा लैजानु पर्ने उक्त चेक आफू सरुवा भएर जाने दिन आरोपीलाई नै बोलाएर फिर्ता दिएको घटना सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालले डिआइजी राजेशलाल कर्णको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।

छानबिन समितिमा एसपी आभूषण तिम्सिना र डिएसपी सन्तोष तामाङ सदस्यका रूपमा रहेका थिए । गत पुस १३ गते  गठन भएको समितिले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई प्रतिवेदन बुझाउँदै एसएसपी सिंहले आचरण विपरित काम गरेको ठहर गरेको छ ।
गत  असोज २२ गते सिन्धुलीका राजकुमार बराल र सुभाष भेटवाल बानेश्वरस्थित ‘९९ आना’ नामको घरजग्गा कारोबार गर्ने अफिसमा जुवा खेलेका थिए ।

त्यहाँ आफुलाई बोलाएर मदिरामा अखाद्य वस्तु मिसाएर खुवाएको र ७ थान चेक चोरेको भन्दै बरालले महानगरीय प्रहरी परिसर काठमाडौमा  उजुरी दिनु भएको थियो ।उक्त उजुरीको आधारमा प्रहरीले ९९ आनाको कार्यालयमा छापा मारेर उक्त मूल्यको चेक बरामद गरेको थियो । कार्यालयका सञ्चालक भेटवालको साथबाट  असोज २५ गते प्रहरीले चेक बरामद गरेको थियो । प्रहरीले सो कार्यालयमा छापा मारेर केही बुक तास, किताब र सिसिटिभी फुटेज पनि बरामद गरेको थियो । जुवा खेलेको र खेलाएको फुटेज भए पनि एसएसपी सिंहले मुद्दा अघि बढाउन अस्वीकार गरेर लामो समय चेक आफैँसँग राखेका थिए ।

प्रहरीले उक्त घटनाको अनुसन्धान गर्ने क्रममा जुवाको खालमा नै उक्त चेक काटेको सिसिटिभी फुटेजबाट पत्ता लगाएको थियो । घटनाको अनुसन्धानमा संलग्न रहेका प्रहरी अधिकृतले प्रमाण सहित एसएसपी सिंहलाई प्रतिवेदन बुझाएको भए पनि एसएसपी सिंहले भने चेकको बारेमा कुनै कारबाही प्रक्रिया नै अगाडि नबढाएर ३ महिना सम्म चेक आफ्नो दराजमा राखेर सरुवा भएर जाने दिन भेटवाललाई बोलाएर चेक फिर्ता दिएका थिए । छानबिन समितिले प्रतिवेदन बुझाएको प्रहरी प्रवक्ता विष्णुकुमार केसीले जानकारी दिनुभयो  । एसएसपी केसीले प्रतिवेदन आएको छ अव कार्यान्वयन तर्फ लैजान लागिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्