जसपा जाग्नुपर्ने तीन कारण



  • मिलनकान्छा किराँती

जनता समाजवादी पार्टी, नेपाल (जसपा) निर्माणको चरणमा छ । घर निर्माण हुनुअघि इँटा, छड, सिमेन्ट, बालुवा, गिट्टी, ढुङ्गालगायत अन्य सामग्री बटुलिएझैँ जसपामा काङ्ग्रेस, एमाले, माओवादी, मधेसवादीलगायत अन्य पार्टी, पङ्क्ति र तह–तप्काबाट बटुलिएका छन् । भेला भएका छन् । यतिखेर को कसलाई कसरी कहाँ थुपारियो, राखियो ? सहायक कुरा हो । बटुलेर राख्ने क्रममा कोही तल राख्नुपर्ने माथि राखियो होला, कोही माथि राख्नुपर्ने तल राखिन गयो होला । यो अस्वाभाविक होइन । मिलाउँदा मिलाउँदै नमिल्न सक्छ, काम गर्दागर्दै पूरा नहुन सक्छ । समय लाग्न सक्छ । बिग्रिन सक्छ । यो सामान्य कुरा हो ।

प्रारम्भिक निर्माणको चरणमा यस्ता सानातिना समस्या आउनु स्वाभाविक हो । तर यही सानातिना समस्याले घर नै नबन्नेसम्मको अवस्था आउन सक्दो रहेछ भन्ने पाठ पनि जसपाले सिकिसकेको हुनुपर्दछ, सिक्नुपर्दछ । साङ्गठनिक र प्राविधिक सानातिना समस्या बेलैमा हल नगरिँदा जसपाको पार्टी गतिविधि सेलाएको थियो । भर्खरै सम्पन्न सङ्घीय परिषद्को प्रथम बैठकले यसलाई पुनर्ताजगी गरेको छ । तात्कालिक रुपमा एमसीसीको सङ्कट देशमा ज्यूका त्यूँ रहे पनि पार्टीले गरेको निर्णयले विवाद र दुविधा अन्त्य भएको छ । परिषद् बैठकमा प्रस्तुत प्रतिवेदनले पार्टी–पङ्क्तिलाई ऊर्जा भरेको छ । जसपा सामान्य पार्टी हो तर यसको जिम्मेवारी असामान्य छ । त्यसैले, यसलाई सेलाउने छुट छैन । निदाउने छुट छैन । नबन्ने छुट छैन । भत्कने, फुट्ने छुट छैन । जसपा जाग्नुपर्ने तीन महत्वपूर्ण कारणहरु यसरी संश्लेषित हेर्न सकिन्छ ।

इन्द्रेणी राष्ट्रवादलाई व्यवहारतः पुष्टि गर्न :
नेपालको विशेषता विविध जाति, भाषा, क्षेत्र, संस्कृति र सभ्यताका सप्तरङ्गी इन्द्रेणी प्रकृतिको छ । ती सप्तरङ्गी इन्द्रेणी सदियौँदेखि एक रङ्गद्वारा अन्याय र उत्पीडनमा परेको छ । यस्तो हुन पुग्नु कुनै जाति/समुदायको दोष नभएर हिजोका शासक र सामन्ती राज्य व्यवस्थाको उपज हो । अधिकार प्राप्तिको सङ्घर्षमा यहाँ महिलाको पीडा र समस्या पुरुषले उठाइदिने, जनजातिको समस्या र मुद्दा खस आर्यले उठाइदिने, मधेसको मुद्दा पहाडले उठाइदिने, कर्णालीको मुद्दा काठमाडौँले उठाइदिने गरेको पाइन्छ ।

एक जाति, भाषा अझ भनौँ सीमित व्यक्तिले सबै जातजाति, भाषा, क्षेत्र, लिङ्गको नारा लगाइदिने, मुद्दा उठाइदिने र त्यसैको आडमा सत्तामा पुगेर राज्यको स्रोत–साधनको दोहन गर्ने, चरम भ्रष्टाचार गर्ने गरेको पाइन्छ । ती इन्द्रेणी समाजको भाग्य र भविष्यमाथि खेलबाड गरेको पाइन्छ । धोका दिएको पाइन्छ । यसकारण, अब अरुले होइन, आफैँले समस्या हल गर्न र मुद्दा उठाउँदै नेतृत्व गर्न जसपा जाग्नुपर्दछ । नेतृत्व लिएर समस्याको हल गर्न सक्नुपर्दछ । उठाएका मुद्दाहरुलाई स्थापित गर्न सक्नुपर्दछ । त्यसको लागि सङ्गठनलाई चलायमान बनाउन सङ्घीय परिषद् खारेज गर्दै सबै सदस्यहरुलाई वैकल्पिक केन्द्रीय समितिमा कार्यकारी अधिकार दिएर वडा/टोल स्तरसम्म काम गर्न पठाउनुपर्दछ ।

परिषद् अध्यक्षलाई क्लस्टरको आधारमा पाँच अध्यक्ष मण्डल बनाई एकको जिम्मेवारी पाउने गरी व्यवस्थापन हुनुपर्दछ । विधायिकीको काम विधान अधिवेशन र महाधिवेशनको लागि तोकिएको सार्वभौम सदस्यहरुले गर्नेछन् । महिला, मधेसी, आदिवासी/जनजाति, शिल्पी/सीमान्तकृत र खस/आर्यबाट पाँच सदस्यीय अध्यक्ष मण्डल बनाएर देश, समाजमा भएको इन्द्रेणीजस्तै पार्टी नेतृत्व एवं सबै तह, अङ्ग र राज्यसत्ता, सरकारमा पनि इन्द्रेणी राष्ट्रियता झल्किनुपर्दछ । व्यवहारतः पुष्टि हुनुपर्दछ ।

पहिचान, अधिकार र सुशासन, समृद्धि प्राप्त गर्न :
नेपालमा नयाँ संविधान जारीसँगै नयाँ लोकतान्त्रिक राज्य व्यवस्था लागू भए पनि संविधानलाई पूर्ण मान्न सकिँदैन । लोकतन्त्र र समावेशिताले सन्तोषजनक रुपमा पूर्णता पाएको छैन । संविधानतः पहिचानसहित सङ्घीयता संस्थागत गर्न निरन्तर सङ्घर्ष गर्नुपर्ने अवस्था छ । हाल गरिएको सङ्घीयताको सीमाङ्कन र नामाङ्कन नेपाली माटो र मर्म अनुरुप छैन । जसको कारण हालको सङ्घीयताले उचित निकास दिन र तीव्र विकास गर्न सक्दै सक्दैन । यही अक्टोपसको अनुहारजस्तो सङ्घीयतालाई देखाएर विकास र निकासको बाधक सङ्घीयता मान्नेहरु हिजो यो अक्टोपसको अनुहारजस्तो सङ्घीयता बनाउन कम्मर कस्नेहरु तिनै हुन् । खासमा, काङ्ग्रेस, एमालेले खोजेको जस्तो सङ्घीयता नेपाली जनतालाई चाहिएको थिएन । जनताको चाहना विपरीतको सङ्घीयता बनाएर अन्ततः सङ्घीयता नै काम छैन, गणतन्त्र काम छैन भनेर जनताको रगत, पसिना र सङ्घर्षबाट प्राप्त उपलब्धिलाई अपमान गर्न तिनै हात धोएर लाग्नेछन् । यस्तो अवस्था आउन नदिन जसपा जाग्नुपर्ने हुन्छ । साङ्गठनिक र सैद्धान्तिक रुपमा बलियो भएर बस्नुपर्ने हुन्छ ।

पहिचानको मुद्दालाई गिजोलेर छुनै नसकिने, बोल्नै नहुने जातीय अफिम तिनैले बनाइदिएका छन् । त्यस्तो जातीय रङ्गले लिपपोत गर्न जानेर/नजानेर पार्टीभित्रै पनि क्रियाशील प्रवृत्ति छैन भन्न सकिन्न । पहिचान अत्यन्त संवेदनशील र प्राज्ञिक विषय हो । त्यसैले संयमित भई यसको संवेदनशीलतालाई साम्प्रदायिकतामा परिणत हुन नदिई अधिकार स्थापित गर्ने चुनौती एकातिर छ, अर्कातिर त्यही बखत सुशासन र समृद्धिको मोर्चा सम्हाल्ने मात्र नभई पूरा गर्नै पर्ने बाध्यात्मक कार्यभार छ । यो कार्यभार पूरा गर्न जसपाबाहेक विद्यमान कुनै पनि दल योग्य देखिँदैनन् । काङ्ग्रेस, एमाले फरक ब्रान्डका एउटै विशेषता र प्रवृत्ति भएका दल हुन् । अरुहरु पनि फरक छैनन् । जसपालाई पनि ढाल्नुपर्ने, गाल्नुपर्ने, सोच, शैली, चिन्तन–व्यवहार फेर्नुपर्नेछ । सङ्घर्ष गर्नुपर्नेछ । जनताको मन जित्नुपर्ने, जनताले विश्वास गर्नुपर्नेछ । त्यो वातावरण बनाउन ढिलाइ गरिनुहुँदैन । नत्र, निर्वाचनदेखि निर्वाचनसम्मको राजनीति चलिरहन्छ । यस्तो राजनीति काङ्ग्रेस, एमालेको इच्छा, चाहना हो । यसले कुनै निकास दिन र विकास गर्न सक्दैन ।

जसपा समावेशी लोकतन्त्र, बहुल राष्ट्रवाद, समुन्नत समाजवादको पक्षमा बलियो उभिएको कारण पहिचान अधिकारलाई स्थापित गर्न असामान्य जिम्मेवारी बोकेको छ । सङ्घीयताको मर्म र सिद्धान्त विपरीत भएका नामाङ्कन र सीमाङ्कनका कारण आइपर्ने समस्या र कुतर्कलाई निराकरण गर्ने क्षमताको विकास गर्दै सुशासन र समृद्धिको जग बसाल्न जसपा जाग्नै पर्ने हुन्छ । लोकतन्त्रको बाटो भएर पहिचानसहित अधिकार स्थापित गर्दै सुशासन र समृद्धि प्राप्त गरेपछि समुन्नत सङ्घीय समाजवादतिर पुगिन्छ । त्यो समुन्नत सङ्घीय समाजवाद काङ्ग्रेसको नवउदारवादी लोकतन्त्रमा आधारित समाजवाद र एमालेको जनताको बहुदलीय जनवादमा आधारित समाजवादभन्दा कैयौँ गुणा सुन्दर र सफल समाजवाद हुन्छ । त्यसको लागि जसपाले पहिचानसहित अधिकार र सुशासन, समृद्धि प्राप्त गर्न सङ्घर्ष गर्नुपर्दछ ।

समुन्नत सङ्घीय समाजवाद स्थापित गर्न :
जसपाले समुन्नत सङ्घीय समाजवादलाई चार तत्व सङ्घीयता, सुशासन, समृद्धि र समाजवादमा विभक्त गरेको छ । माथि लेखिएझैँ लोकतन्त्रको बाटो भएर सङ्घीयतालाई पहिचानसहित अधिकार स्थापित गरिनुपर्दछ । तब मात्र जनताले चाहेको जस्तै समुन्नत सङ्घीय समाजवाद प्राप्त गर्न सकिन्छ । लोकतन्त्र त काङ्ग्रेस, एमालेले पनि स्वीकार्छ, अरुले पनि स्वीकार्छन् भन्ने जवाफ आउन सक्छ । त्यसो भए अहिले भएका सङ्घीयताको सीमाङ्कन र नामाङ्कन ठीक छ कि छैन, अध्ययन गर्नुपर्ने हुन्छ । ठीक छ भने किन निकास दिएन ? विकास भएन ? जवाफ दिनुपर्ने हुन्छ ।

स्मरण रहोस्, अहिलेसम्म भएका प्रदेशको नामाकरणमध्ये मधेस प्रदेशमा मात्र पहिचानको आधारमा नामाकरण भएको छ । त्यहाँ जसपाको सरकार भएकोले मात्र पहिचानसहित अधिकार स्थापित गर्न सम्भव भएको हो । यो सबैलाई अवगत भएको कुरा हो । के प्रदेश नं. २ मधेस प्रदेश नामाकरण हुनेबित्तिकै नेपालदेखि मधेस टुक्रियो त ? पहिचानको कुरा उठाउँदा तर्सिएर अतिरञ्जित ढङ्गले जातीय/क्षेत्रीय विखण्डनकारी आरोप लगाउनेहरुले जवाफ दिन सक्नुपर्दछ ।

होइन भने, प्रदेश नं. १ किरात, प्रदेश नं. २ मधेस, प्रदेश नं. ३ नेवा, क्रमशः ताम्सालिङ, तमुवान, मगरात राख्दैमा देश टुक्रिन्छ भन्ने बोक्रे प्रश्नको जवाफ जसपाले दुई नम्बर प्रदेशमा मधेस प्रदेश नामाकरण गरेर गतिलो जवाफ दिइसकेको छ । पहिचानसहित सङ्घीयतालाई वैज्ञानिक कार्यान्वयन गरिरहँदा देशमा भएका विद्यमान भ्रष्टाचार, शोषण र अत्याचारलाई आँखा छोप्न सकिन्न । समृद्धि प्राप्त गर्न सुशासन अनिवार्य सर्त हुन आउँछ । राज्यको आर्थिक चुहावट रोकिनुपर्दछ । भ्रष्टाचार, शोषण र अत्याचारका निम्ति शून्य सहनशीलता हुनुपर्दछ । यसका लागि जसपाले निरन्तर खबरदारी र सङ्घर्ष जारी राख्न जाग्नुपर्दछ ।

सङ्घीयताको वैज्ञानिक कार्यन्वायन, सुशासन र सदाचारयुक्त समाज अनि आर्थिक, सामाजिक, सांस्कृतिक रुपमा समृद्धि हासिल गरेपछि मात्र समाजवाद स्थापना हुन जान्छ । सामन्ती राज्य व्यावस्थाको अदृश्य अवशेष र दलाल पुँजीवादी युगको चरम चपेटालाई चिर्दै अघि बढेपछि समुन्नत सङ्घीय समाजवाद प्राप्त गर्न सक्दछौँ । त्यो प्राप्त गर्न आज नै अहिल्यैदेखि माथि उल्लिखित अधिकार, अवस्था र व्यवस्था प्राप्त गर्न सङ्घर्ष गरिनुपर्दछ । जसपाले ती सबै कार्यभार पूरा गर्ने आँट र साहस बटुलेर सङ्घर्षरत रहनुपर्दछ ।
(लेखक किराँती जसपा सम्बद्ध नेता हुनुहुनुन्छ ।)

प्रतिक्रिया दिनुहोस्