गैर आवासीय नेपाली संघमा जुट्यो सहमति

चैत १० र ११ मा एकता महाधिवेशन गरिने



काठमाडौं ।

गैर आवासीय नेपाली संघ (एनआरएन)मा सहमति जुटेको छ । सहमति अनुसार अब चैत ११ र १२ गते काठमाडौंमा एकता महाधिवेशन हुने बताइएको छ । अध्यक्ष पदका तीन उम्मेदवार कुल आचार्य, बद्री केसी र रबीना थापाबिच सहमति भएपछि एनआरएन विभाजन हुनबाट रोकिएको छ ।

अध्यक्ष पदका तीनै जना प्रत्याशीले आज संघको सचिवालयमा पत्रकार सम्मेलन गरी एकता महाधिवेशनका लागि आफूहरूबिच सहमति भएको बताएका हुन् । यसअघि देखिएका सबै विवाद समाधान गरी संघलाई एकजुट बनाएर लैजान आफूहरूबिच सहमति भएको उनीहरूको भनाइ छ ।

अध्यक्ष कुमार पन्तले संस्थाको हितका लागि सबैले आ-आफ्नो कमजोरी स्वीकार गरेको बताए । पछिल्लो सहमतिले संस्थालाई एकजुट बनाएको उनको भनाइ छ । अध्यक्षका उम्मेदवार एवम् संघका सल्लाहकार कुल आचार्यले संसारभरका नेपालीहरूलाई एकताबद्ध बनाउनुको विकल्प नभएको बताए । पद भन्दा पनि पद्धतिका लागि एकजुट हुनु परेको उनको भनाइ थियो । संस्थालाई एकजुट बनाएर अगाडि अहिलेको आवश्यकता रहेको उनले औँल्याए ।

अध्यक्षका उम्मेदवार द्वय केसी र थापाले पनि संस्था जोगाउनु अहिलेको मुख्य आवश्यकता रहेको बताए । सहमति अनुसार प्रमुख संरक्षक शेष घलेले आयोजना गरेको महाधिवेशन रोक्न अध्यक्ष पन्तले आग्रह गर्ने छन् भने उच्च अदालत पाटनमा परराष्ट्र मन्त्रालयविरुद्ध दायर मुद्दा पनि पन्तले फिर्ता लिने छन् । त्यसै गरी असन्तुष्ट पक्षका तर्फबाट दायर मुद्दा पनि फिर्ता हुने पन्तले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्