गमगढीका अग्निपीडित पाँच महिनादेखि त्रिपालमै



मुगु ।

मुगुको गमगढीका अग्निपीडित करिब ५ महिनादेखि त्रिपालमै बस्न बाध्य छन् । आर्थिक समस्याका कारण जलेका घर पुनर्निर्माण गर्न नसक्दा अग्निपीडित त्रिपालमै बस्न बाध्य भएका हुन् । कात्तिक २९ गते गमगढीको तल्लो बजारमा आगलागी हुँदा २१ घर जलेर नष्ट भएका थिए ।

तीमध्ये १४ परिवार आफन्तको घरमा बस्दै आए पनि ८ परिवार भने त्रिपाल टाँगेर बस्दै आएका छन् । उनीहरू तल्लो बजारस्थित खुला चौरमा त्रिपाल टाँगेर बसेका हुन् । घर बनाउने पैसा नहुँदा त्रिपालमै बस्नुको विकल्प नभएको अग्निपीडित झोवा तामाङ बताउनुहुन्छ ।

‘जाडोमा त्रिपालमा रात कटाउनुपर्ने बाध्यता छ’, उहाँले भन्नुहुन्छ– ‘न गतिलो लुगा छन् न भाँडाकुँडा नै ।’ स्थानीय सरकारको बेवास्ताले ल्होसारलगायत चाडबाड त्रिपालमै मनाएको अर्का पीडित ठिल्ले लामा बताउनुहुन्छ । ‘जसोतसो हिउँदको जाडो त कटाइयो’, उहाँ भन्नुहुन्छ– ‘अझै घर निर्माणको काम शुरु भएको छैन, अब बर्खा कसरी कटाउने भन्ने चिन्ता छ ।’

गमगढीमा आगलागी भएको करिब ४ दिनपछि पुगेको कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलगायतको टोलीले घर पुनर्निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गर्ने आश्वासन दिएका थिए । घर पुनर्निर्माणका लागि प्रदेश सरकारले उपलब्ध गराएको रकम पर्याप्त नभएपछि अग्निपीडित समस्यामा परेका हुन् ।

अर्का पीडित छिरिङ तामाङ भन्नुहुन्छ– ‘हामीलाई सरकारले दुःखका आँसु पुछ्न राहत देला कि भन्ने आशा थियो, तर अपेक्षाअनुसार सहयोग पाइएन ।’ संघ–संस्थाले दिएको त्रिपालमा उनीहरू बसेका छन् । चिसोयाममा त्रिपालको चारैतिरबाट हावा छिर्दा निकै सास्ती पाएको उहाँको गुनासो छ ।

प्रदेश सरकारले ५० लाखसम्मको क्षति भएकालाई १ लाख, १ करोडको क्षति भएकालाई १ लाख ५० हजार र २ करोडको क्षति भएकालाई २ लाख ५० हजार रुपियाँका दरले राहत दिएको थियो । प्रदेश सरकारले दिएको बजेट घरको जग उठाउनसमेत नपुग्ने ठिल्ले लामा बताउनुहुन्छ । उहाँका अनुसार घर नहुँदा खाद्यान्न र मालसामान राख्न समस्या भएको छ । त्रिपालमा बस्दा बालबालिकालाई गृहकार्य गर्न पनि समस्या छ । ‘हावाहुरी लागेपछि त्रिपाल थाम्नै गाह्रो हुन्छ’, उहाँ भन्नुहुन्छ– ‘बत्ती नहुँदा बालबालिकाले साँझको समयमा पढ्न पाएका छैनन् ।’

प्रदेश सरकारबाट प्राप्त ६१ लाख रुपियाँ बजेटमध्ये मापदण्डअनुसार भाडामा बस्ने व्यक्ति र पसल जलेका व्यक्तिको खातामा रकम जम्मा गरिसकेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताउनुभयो । उहाँका अनुसार घर ध्वस्त भएका परिवारले नगरपालिकाबाट नक्सापास गरी ल्याए निकासा दिइनेछ ।

आगलागीबाट २१ घर जलेर पूर्णरूपमा नष्ट भएका थिए । ती घरहरूमा होटल र पसल गरी बसेका २४ जना प्रभावित भएका थिए । त्यस्तै, कोठा भाडामा लिई बसेका ३३ जनाको धनमालको क्षति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्