कांग्रेस नेता कटवालको निधन

तीन दिनसम्म शोक मनाइने



धरान ।

नेपाली कांग्रेसका नेता तथा समाजसेवी धनबहादुर कटवालको निधन भएको छ । पञ्चायतकालदेखि नेपाली कांग्रेसमा आवद्ध हुँदै साबिक पाँचकन्या गाउँ पञ्चायतको अध्यक्षका प्रत्याशी भएका कटवाल प्रजातन्त्रको पुर्नवहाली पछि पनि साबिक पाँचकन्या गाउँ विकास समितिको अध्यक्षका प्रत्याशी भएका थिए ।

लामो समयसम्म पाँचकन्या गाविसको पार्टी सभापति रही कार्य गरेका उनी धरान नगरमा पाँचकन्या गाविस गाभिए पछि पार्टीको क्षेत्रीय उपसभापति रहेका थिए । पछि राज्यको पुनर्संरचना पछि प्रदेशसभा निर्वाचन क्षेत्र १(१) का सभापति समेत भएका थिए । पार्टीको विभिन्न तहका जिम्मेवारी र नेतृत्व गर्दै राजनीतिक र सामाजिक छवि बनाएका कटवालको ६५ वर्षको उमेरमा निधन भएको हो ।

उनी लामो समयदेखि पेटको क्यान्सर रोग बाट ग्रसित थिए । उनको निधनमा नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ ले गहिरो दुःख व्यक्त गर्नुका साथै पार्टी र समाजलाई अपुरणीय क्षति पुगेको जनाएको छ । स्व. कटवालको निधनमा ३ दिनसम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्ने र क्षेत्र नं. १ अन्तर्गतका पार्टीका सबै तहका कार्यालयहरूमा उक्त अवधिभर आधा झन्डा झुकाइने क्षेत्रीय सभापति सुरेन्द्र तामाङले जनाएको छ ।

उनको पार्थिव शरीरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश नं. १ का संसदीय दलका नेता राजीव कोइराला, जिल्ला सभापति केदार भण्डारी, क्षेत्रीय सभापति सुरेन्द्र तामाङ, जिल्ला सचिव माधव घिसिङ, धरान नगर प्रमुख तथा महासमिति सदस्य तिलक राई, प्रदेशसभा निर्वाचन क्षेत्र सभापतिद्वय अनिल श्रेष्ठ, मुरारी भट्टराई, धरान नगर सभापति श्याम पोखरेल लगायतले पार्टीको झन्डा ओढाई अन्तिम श्रद्धान्जली अर्पण गरेका थिए । स्व. कटवालको हिन्दु परम्परा अनुसार इटहरीस्थित दाहसंस्कार स्थलमा दाहसंस्कार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्