‘इन्क्लाब : जिन्दावाद !’ क्रान्तिकारी नारा

महेन्द्रमान सिंहद्वारा लिखित ‘फरइभर इन्कम्प्लिट– दी स्टोरी अफ नेपाल’ पुस्तकको अनुदित अंश–१

0
Shares

  • शिवलाल श्रेष्ठ (अनुवादक)

‘इन्क्लाब’ उर्दू शब्द ‘इन्किलाब’ बाट आएको तत्भव शब्द हो । यसले क्रान्ति, परिवर्तन, फेरबदल र स्वतन्त्र भन्ने अर्थ बुझाउँछ । ‘जिन्दावाद’ पनि उर्दू शब्दकै ‘जिंदःबाद’ को तद्भव शब्द हो । यसको अर्थ अमर रहनु वा कमसेकम चिरञ्जीवी हुनु हो । यो एक उर्दू नारा हो, आशय सरल तर उद्देश्य ठोस । भारतका जनतामा परिवर्तन र त्यसमाथि ब्रिटेनको उपनिवेशबाट मुक्त हुने चाहना जागृत भइसकेको हुँदा त्यहाँका सबै जातजाति, पन्थ, धर्म सम्प्रदाय र विभिन्न ईश्वरमा विश्वास गर्ने सम्पूर्ण भारतीयहरुले सर्वप्रथम यो नारा बडो जोशका साथ घन्काएका थिए । यही नै त्यो नारा थियो, जसले अंग्रेजविरुद्ध सम्पूर्ण भारतीयहरुलाई एकजुट बनायो । कलकत्तामा अध्ययनरत गणेशमान सिंहले भने यो नारा प्रथमपटक सुनेका थिए तर अर्थ र भावना बुझेका थिएनन् । जब उनका साथीहरुले त्यसको अर्थ बुझाए, उनी साँच्चिकै प्रभावित भएका थिए ।

नेपाली वा नेवाः शब्दावलीमा यससँग दाँज्ने कुनै शब्द छैन । यदि विचारलाई आवाज दिन सकेन भने त्यसलाई फैलाउन सम्भव हुँदैन । शायद त्यसैले नै नेपाली समाजमा परिवर्तन ल्याउनु त्यस्तो गाह्रो परेको होला । भारतको लागि जेसुकै भए तापनि इन्क्लाबको अर्थ पराधीनताबाट मुक्ति पाउनु थियो । नेपालले कदापि पराधीनताको दुःख भोग्न परेन । तथापि सय वर्षजतिको राणा शासनलाई निरर्थक तुल्याउन एकाएक परिवर्तनको चाहनालाई आवाज दिँदै निरन्तरता प्रदान गर्ने अठोटको लागि यो नै उपयुक्त नारा थियो । तसर्थ भारतले चिताएजस्तै चाहना राखे तापनि नेपालीको लागि इन्क्लाबको मतलब बेग्लै थियो ।

क्रान्तिकारीले बन्दी बनी थुनामा बसिरहेर केही हुनेवाला थिएन । यस कुरालाई गएको चार वर्षयता गणेशमानले आपूmसँगै थुनिएका आफ्ना सहयात्रीहरुमाझ धेरै पटक दोहोर्याइसकेका थिए । जेल तोडेर उम्कने बारेमा उनी निकै घोत्लन्थे र तत्सम्बन्धमा साथीहरुसँग गरमागरम बहस गर्थे । यसले गर्दा बिस्तारै उनी साथीहरुको कटाक्षको पात्र बन्न थाले । त्यसै सिलसिलामा एक बिहानी उनलाई आपूmमाझ नै देखेर टंकप्रसाद आचार्यले बनावटी आश्चर्य मिश्रित जिस्क्याउने भावमा भने, ‘गणेशमानजी, तपाईं गइसक्नुभयो होला भनी सोचेका थियौं, विचार परिवर्तन गर्नुभएको हो वा केही भुल्नुभएको हो?’ यसरी जिस्क्याउँदा थुनामा रहेकामध्ये कोही दबेको हाँसो हाँस्थे त कोही अट्टहास नै लगाउँये । गणेशमान भने यस्ता खिल्ली उडाउने कुरालाई ठट्टामा उडाइदिथे । यस मानेमा उनले कमसेकम जेल जीवनका ती उराठ लाग्दा दिनहरुलाई केही हदसम्म हलुका पार्ने काम गर्न सकेका थिए ।

उकुसमुकुसको जेल जीवनमा उनले धेरैपटक त्यहाँका जेलरलाई आघात पुर्याउने काम पनि गरेका थिए । त्यस कार्यमा उनलाई सबैभन्दा बढी सन्तुष्टि त्यस बेला मिलेको थियो, जब उनी एक्लैले जेल प्रशासनलाई लल्कार्दै बन्दीगृहको घेरा साँघुरो पार्ने र पर्खाल अग्लो बनाउने काम रोकेका थिए । सूर्यको प्रकाश छेकिने, हवाको बहाव कम भई निसासिने हुन गई ओस लाग्ने बन्दीकोठा बस्न अनुपयुक्त बन्ने उनको कटु तर्क हुन्थ्यो । उनले आमरण अनशनमा जाने दृढता पनि देखाएका थिए । उनको तर्कपूर्ण अडानले गर्दा जेल प्रशासनलाई त्यहाँबाट हटेर परतिर उनैले भनेकै ठाउँमा पर्खाल निर्माण गर्न बाध्य तुल्याएको थियो ।

हरेक बिहानीको नियमित व्यायाम गराइले गर्दा बन्दीहरुको स्वास्थ्य संन्तोषजनक नै थियो । गणेशमान पनि हिन्दू धार्मिक ग्रन्थ महाभारतको कर्मयोगका श्लोक भट्भट्याउँदै नियमित व्यायाम गर्थे । ‘यदा यदा हि धर्मस्य ग्लानिर्भभवती भारत….’ उनलाई मन पर्ने श्लोक थियो, जसमा दुष्टबाट मुक्ति दिलाउने प्रतिज्ञा गरिएको छ, तसर्थ प्रेरणाप्रद छ ।

उक्त जेल जीवनको आफ्नो दैनिकीमा उनी होसहवास गुमाएका, आफैँ खानसमेत नसक्ने एक कैदी, बलबहादुर पाण्डेको हेरचाह, सरसफाइ आदि गरिदिने काममा पनि सामेल भएका थिए । उक्त काम निम्ट्याइवरि उनी जेल तोडेर उम्कने आफ्नो योजनातर्फ लाग्थे । अर्थात् अफ्ना सहकर्मीहरुसँग तत्सम्बन्धमा वादविवाद गर्ने अनि उनीहरुबाट खिल्लीको पात्र बन्ने काम । जेलभित्रका राजनीतिक बन्दीहरुबीच जेल तोडेर भाग्ने भनेको एक दुस्साहसपूर्ण कार्य थियो । तथापि उनलाई मत्थर पार्न भए पनि कसै–कसैले उनको त्यस साहसिक अभियानमा साथ दिने बचन दिन्थे । उनको जेल तोडेर उम्की छोड्ने अठोटबाहेक पनि त्यहाँ चित्त बुझाउने पर्याप्त परिस्थिति थिए ।

त्यस बन्दीगृहको कोठामा उनीसँग युवाकवि सिद्धिचरण श्रेष्ठलाई पनि सँगै राखिएको थियो, जसलाई उनले जेल तोडेर उम्की छोड्ने दृढताको अनुभूति भएको थियो । कविले केही हरफ कोर्नबाट आपूmलाई रोक्न सकेनन् । जेलमा बन्दीलाई कापी–कलम राख्ने इजाजत थिएन, कविले पाटीमा खरीले कोर्न थाले । ‘तपाईंलाई मेरो तर्पmबाट एउटा सानो उपहार’, कविले गर्वका साथ भने र ‘पर्खालकाण्ड’ शीर्षक रहेको उक्त कविता स्पष्टसँग बाचन गरे ।

जिउनु होइन मर्न रोज्छु,
जिउनु होइन मर्न रोज्छु,
धर्म, गंगा, शुक्र, दशरथ
भेट्न जाने मार्ग रोज्छु
जिउनु होइन …. ।
चिर सनातन सत्यलाई
म अँगालो हाल्न जान्छु
प्रेम शीतल स्रोतमाथि
स्नान गर्ने योग ढुँड्छु
जिउनु होइन …. ।
जन्म–जरा व्याधिहरुको
तीक्ष्ण दंसन साम्य पार्छु
सानो कणु एउटा गएर
विश्व नुतन सृष्टि गर्छु
जिउनु होइन …. ।
मर्न होइन जिउनु रोज्छु
अमरता त्यो ओढ्न खोज्छु
देशको कालो पखाल्न
रक्तधार बगाइदिन्छु
जिउनु होइन …. ।

गणेशमानमाथि कविताले शक्तिवद्र्धक सुईको काम गर्यो । कविताले उनलाई थप सुर्याउने काम गरेको थियो । उनले पनि ती उत्प्रेरणादायी हरफहरु ५–६ पटक रटेर कण्ठस्थ गरे ।
(क्रमशः अर्को मंगलबार)