सीटीईभीटी र सामुदायिक विद्यालयको पाठ्यक्रम एउटै बनाइने



काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतका निकायबाट प्राविधिक धारमा उत्पादन हुने एउटै तहका जनशक्ति र लगानीमा निकै भिन्नता भएपछि पाठ्यक्रम समायोजनको तयारी शुरू भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) र शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सामुदायिक विद्यालयमा प्राविधिक धारका कार्यक्रम सञ्चालन भएका छन् । एउटै संस्थामा दुईथरी पाठ्यक्रम र दुईथरी जनशक्ति उत्पादनको आलोचना हुन थालेपछि पाठ्यक्रम समायोजनको तयारी भएको हो ।

शिक्षा मन्त्रालयका सहसचिव डा. हरि लम्सालले सोमबार नेपाल समाचारपत्रसँग कुरा गर्दै प्राविधिक धारको पाठ्यक्रम समायोजनका लागि आन्तरिक रूपमा तयारी भएको जानकारी दिनुभयो । पाठ्यक्रममा समायोजन, एकीकरण र अद्यावधिकीकरणका लागि प्राविधिक प्रशिक्षक प्रशिक्षण प्रतिष्ठान (टीआईटीआई) का व्यवस्थापन बोर्डका अध्यक्ष प्राडा राजेन्द्रप्रसाद अधिकारीको संयोजकत्वमा सीटीईभीटीका सदस्य सचिव, पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक र राष्ट्रिय परीक्षा बोर्डका सदस्य–सचिव सदस्य रहेको समिति बनेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसहितको छलफलपछि समिति बनेको हो । मन्त्रालयले प्राविधिक तथा व्यावसायिक शिक्षामा सबै स्थानीय तहका विद्यार्थीको सर्वसुलभ पहुँच सुनिश्चित गर्न अध्ययन समिति बनाएको छ । मन्त्रालयले प्राविधिक तथा व्यावसायिक शिक्षा महाशाखा प्रमुखको संयोजकत्वमा शिक्षा तथा मानव स्रोेत विकास केन्द्रका उपमहानिर्देशक र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को महाशाखा प्रमुख सदस्य रहने समिति बनाएको छ ।

समितिलाई अहिले कार्यान्वयनमा रहेका सामुदायिक माध्यमिक विद्यालयमा सञ्चालित प्राविधिक धार कक्षा ९–१२ र प्राविधिक तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत शिक्षालय, सामुदायिक माध्यमिक विद्यालयमा सञ्चालित प्रि–डिप्लोमा तथा डिप्लोमा कार्यक्रमको पाठ्यक्रमको विस्तृत अध्ययन गरी बजारको माग समेतलाई मध्यनजर गर्दै पाठ्यक्रम समायोजन तथा परिमार्जन गरी एकीकृत पाठ्यक्रम तयार गरी ३० दिनभित्र पेस गर्ने जिम्मा दिइएको छ । माध्यमिक तह ९—१२ कक्षामा कृषि, भेटेरिनरी, सिभिल, इलेक्ट्रोनिक्स र कम्प्युटर इन्जिनियरिङको पढाइ हुने गरेको छ  ।

सामुदायिक विद्यालयमा केन्द्रको अनुदानमा पाठ्यक्रम विकास केन्द्रले तयार गरेको प्राविधिक धारको पाठ्यक्रम कक्षा ९ देखि १२ सम्म सञ्चालन हुँदै आएको छ । तिनै सामुदायिक विद्यालयमा कक्षा १० पछि सीटीईभीटीको तीनवर्षे डिप्लोमा कार्यक्रम समेत सञ्चालित छन् । शिक्षा मन्त्रालयअन्तर्गतका केन्द्र र सीटीईभीटीमार्फत विद्यालयमा पाठ्यक्रम मात्र होइन, शिक्षकको अनुदान तथा तालिमसमेत फरक रूपमा सञ्चालन भइरहेको छ ।

सीटीईभीटीको कार्यक्रम सामुदायिक विद्यालयका साथै सीटीईभीटीकै आंगिक तथा सम्बन्धन प्राप्त शिक्षालयमा सञ्चालन भइरहेको छ । माध्यमिक तह (९–१२) मा ४ सय ८४ विद्यालयमा प्राविधिक धारका कार्यक्रम सञ्चालित छन् । त्यसै गरी, साढे ५ सयभन्दा बढी माविमा सीटीईभीटीको डिप्लोमा कार्यक्रम पठनपाठन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्