जनताको बीचमा एमालेलाई कसैले ढाल्न सक्दैन : ओली



इलाम, (नेस) ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो वैशाखमा हुने स्थानीय तह निर्वाचनमा एमालेले पाँच दलीय गठबन्धनलाई एउटै कुचोले बढार्ने दाबी गर्नुभएको छ । जनताको बीचमा एमालेलाई कसैले ढाल्न नसक्ने जनाउँदै अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनको चुनावको नतिजा एमालेको पक्षमा आउने र त्यसपछिका चुनाव पनि एमालेमय हुने बताउनुभयो ।

सूर्योदय नगरपालिकास्थित फिक्कलमा नेकपा एमाले जिल्ला कमिटी र सूर्योदय नगर कमिटीले आइतबार आयोजना गरेको जनसभा एवं पार्टी पवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई रोक्ने भनेर केही तत्वहरू सक्रिय भएर लागेको उल्लेख गर्दै पार्टीबाट २/४ जना जाँदैमा, दुई/चारवटा पात झर्दैमा एमालेलाई कुनै असर नपर्ने बताउनुभयो । माओवादीले जनतालाई धेरै दुःख दिएको र त्यसका केही टाठाबाठा भनाउँदा अनि नातेदार र आफन्तले फाइदा लिए । जनताका छोराछोरीलाई सपना देखाएको तर टाठाबाठाले फाइदा लिँदा कार्यकर्ताका लागि केही गर्न नसकेको बताउनुभयो ।

अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनले निर्वाचन आयोगलाई दुरूपयोग गरेर आफनो पक्षमा पार्न खोजेको आरोप लगाउँदै उहाँले आयोगलाई पार्टीको पक्षमा काम नगर्न आग्रह गर्नुभयो । विश्वको कुनै पनि देशमा उम्मेदवार दर्ता गर्ने दिन एकदिन हुन्छ, तर नेपालमा निर्वाचन आयोगले पाँच दलीय गठबन्धनको खटपट मिलाउने उम्मेदवारी दर्ताको समय दुई दिन राखेको आरोप लगाउनुभयो । उहाँले दलीय गठबन्धनको खटपट मिलाउने जिम्मा आयोगको हो भन्दै प्रश्न पनि तेर्साउनु भएको थियो ।

यस्तै, सभालाई पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले समेत सम्बोधन गर्नुभयो । उहाँले नाम चाहिँ बिर्से, तर उहिलेदेखिको साथी झलझली अनुहार याद आउँछ भन्दै नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाललाई व्यङ्ग्यसमेत गर्नुभयो । उहाँले एमालेमा मेची महाकालीसम्म जनसागर उर्लेको जनाउँदै एमालेको मतपेटीका खाली गर्ने सपना नदेख्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्