बैतडीमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु, ५ जना घाइते


न्युज अफ नेपाल, बैतडी ।

बैतडीमा मिनी ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ पाटनबाट सुर्नयातर्फ जाँदै गरेको से १ ख १२४२ नम्बरको मिनी ट्रक पाटन नजिकै सडकमा पल्टिँदा भएको दुर्घटनामा परी सुर्नया-३ का २५ वर्षीया दुर्गा चन्दको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।

गम्भीर घाइते भएकी चन्दलाई उपचारका लागि डडेल्धुरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख राजेश शाहीले जानकारी दिए । मिनी ट्रकमा सवार पाँच जना घाइते भएका छन् । सुर्नया गाउँपालिका(३ का ३५ वर्षीया माधवी चन्द, ३५ वर्षीया वसन्ती भट्ट, ३३ वर्षीया कलावती भट्ट, सुर्नया(३ कै २८ वर्षीया निर्मला चन्द र ३३ वर्षीया पार्वती बिष्ट घाइते भएका छन् ।

माधवी, वसन्ती र कलावतीलाई डडेल्धुरा लगिएको छ भने निर्मला र पार्वतीको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारमा भइरहेको छ ।लिपपोतको लागि रातो माटो लैजानको लागि उनीहरु पाटन आएको प्रहीले जनाएको छ । मिनीट्रक चालक पाटन-४ का वीरेन्द्र खत्री फरार छन् ।