फुट्कर पैसा नछाप्दाको समस्या



आजभन्दा दुई दशकअघि नेपाल सरकार र नेपाल राष्ट्र बैंकले एक रुपियाँको नोट र डबल दुवै छाप्थ्यो । दुई रुपियाँको नोट, एक मोहर, सुका, पाँच र दश पैसा पनि प्रचलनमा थियो । राष्ट्र बैंकले वर्षैपिच्छे यी रकमहरु छाप्ने गर्दथ्यो । त्यतिखेरको डबल ठ्याक्कै सुनको जस्तो देखिन्थ्यो भने नोट पनि निकै बलियो हुन्थ्यो । नोट हत्तपत्त च्यातिँदैनथ्यो भने पानीले भिजे पनि अहिलेको जस्तो लत्याकलुतुक हुँदैनथ्यो । सिक्काहरु निकै नै भारी हुन्थे भने केही सिक्काले गोजी नै लत्रिन्थ्यो । सरकारले त्यतिखेर निकाल्ने पाँच सय, हजारका नोटहरु पनि निकै नै गुणस्तरका थिए । ती ठूल्ठूला नोटहरु निकै नै चम्किला देखिन्थे । तर, पछिल्लो समय राष्ट्र बैंकले स–साना मुद्रा छाप्न छोडिसकेको छ ।

एक–दुई रुपियाँको सिक्का त भेटिन छोडिसके भने मोहर र सुकाको कल्पना नगरौं । राष्ट्र बैंकले सिक्का छाप्न छोडिदिँदा व्यापारीहरुले यसलाई उपभोक्ता लुट्ने वाण बनाएका छन् । चानचुन नभएको बताउँदै उनीहरुले फिर्ता रकम दिँदैनन् । उदाहरणका लागि कुनै सामान सात रुपियाँ पर्छ तर उपभोक्ताले १० रुपियाँ दिन्छन् । तर व्यापारीहरुले सिक्का छैन, राष्ट्र बैंकले छाप्दैन भनेर तीन रुपियाँ फिर्ता दिँदैनन् । त्यो सामान घटाएर पाँच रुपियाँमा पनि दिँदैनन् । एउटा सानो किराना पसलले चानचुन पैसा नभएको बहाना बनाएर एकसय जनालाई सामान बेच्दा दैनिक तीन सय रुपियाँ ठग्छन् । राष्ट्र बैंकले चानचुन पैसा नछाप्दा आम नागरिक ठगिएका छन् ।

राष्ट्र बैंकले सिक्काहरु पनि छाप्ने हो भने व्यापारीले उपभोक्ता ठग्नै पाउँदैनन् । राष्ट्र बैंकको गभर्नर र अर्थमन्त्रीले व्यापारीहरुसँग लुप्त हुँदा सिक्का नछापिएको प्रस्ट बुझिएको छ । पछिल्लो समय बजारमा भएका ठूला नोटहरु पनि निकै कमसल भएको देखिन्छ । साथै, अहिले पैसाको त्यति ठूलो महत्व पनि गरिँदैन । पहिले एक–दुई रुपियाँमा खेतबारी नै किनिन्थ्यो । पाँच पैसामा एक माना घिउ नै आउँथ्यो । दश पैसामा भैंसी, बाख्रा र गोरु नै खरिद हुन्थ्यो । एक–दुई मोहरमा छोराछोरीको बिहेदान नै हुन्थ्यो । पानीले भिजे पनि यी सिक्काहरु जस्ताको त्यस्तै देखिन्थे । पहिले सुका र पैसाले यत्रो महत्व बोक्थ्यो तर अहिले हजार रुपियाँको केही भ्यालु छैन ।

त्यतिखेरका बूढाबूढीले पैसाको महत्व बुझाए भने अहिलेकाले सुन्न चाहँदैनन् । सुका, मोहर र पैसाले यत्रो सामान आउँथ्यो भनेर बूढाबूढीले प्रसंग उठाए भने अहिलेका पुस्ता वाहियात कुरा भनेर त्यत्तिकै बेवास्ता गरिदिन्छन् । प्रत्येक नेपालीको घर–घरमा केही दशकअघि सिक्काहरु प्रचलनमा थिए । पसल, बैंक, फाइनान्समा पनि यही पैसाको प्रयोग थियो । कर तिर्न, उपचार गर्न, यातायात चढ्न पनि यही पैसाले काम गर्दथ्यो । तर, सरकारले केही वर्षयता सानो पैसा छाप्न छोडिदियो ।

जसको मार नेपाली जनतामा परेको देखिन्छ । पूजाआजा, काजकिरिया, रुद्रीपूजा गर्दा र मन्दिरमा गएर पनि यही पैसा चढाउने गरिन्थ्यो । किनकि सिक्कामा रंग लाग्दा र पानी खस्दा केही पनि हुँदैनथ्यो । तर, नोटमा रंग लाग्यो भने त्यो बिग्रिन्छ । पानीमा पर्नेबित्तिकै नोटहरु कुहिन्छन्, च्यातिन्छन् । फेरि अर्को नोट छाप्नुपर्दा नेपाली जनताले तिरेको कर स्वाहा हुन्छ । किनकि नोट छाप्ने मेसिन नेपालमा छैन ।

छापिएर आएको नोट पनि सबै कमसल । पैसाको जति सदुपयोग ग¥यो राज्यलाई त्यति नै फाइदा हुन्छ । पछिल्लो समय नेपालीहरुले नोटलाई जथाभावी गर्ने गरेको पाइन्छ । डल्लो पार्ने, फोहोर हातले छुने, जथाभावी कोर्ने, स्टिच लाउने, यसो गर्दा नेपाल सरकारलाई घाटा भइरहेको छ । नेपालीले जति नोटको सदुपयोग गर्छन् त्यति नै मुलुक समृद्ध हुने हो । पैसालाई जथाभावी गर्ने बानी त्याग्दै पैसा सुरक्षित तरिकाले प्रयोग गर्ने बानी बसाल्नुपर्छ । मन्दिरमा पनि ठूला पैसा चढाउने कार्यमा रोक लगाऔँ । राष्ट्र बैंकले नोट बचाउनको लागि पनि सिक्का छाप्न जरुरी देखिएको छ ।

मन्दिरमा चढाएका नोटहरु कामै नलाग्ने हुन्छन् । दूध, पानी, तेल, सिन्दुर, अक्षता, पातीले नोट सबै बिगारिसकेको हुन्छ । त्यसपछि त्यो नोट प्रयोगमा आउँदैन । घाटा कसलाई सरकारलाई । ठूला वर्षौंसम्म टिकाउनको लागि पनि सानाको खाँचो छ । पहिले चाडबाडमा टीका लगाएर पाँच पैसा दक्षिणा दिन्थे । त्यति पैसा पाँउदा सबैजना कति रमाउँथे, खुशी हुन्थे । ठूलाबडाबाट पाएको पैसा जथाभावी गर्नुहुँदैन भन्ने मान्यता थियो । तर, राष्ट्र बैंकको कारणले अहिलेका पुस्ताले पुराना मुद्रा देखेनन् । पुराना मुद्रा आफैँमा विस्थापन भयो । हाम्रो पुस्ताले साँचेर राखेको रकम जोगाउनुको साटो राष्ट्र बैंक अझै विस्थापन गर्नमा लागिपरेको छ ।

फुटकर पैसा बजारमा आएपछि उपभोक्ता पनि ठगिनबाट जोगिन्छन् । राष्ट्र बैंकलाई दोषी बनाएर व्यापारीहरु आफू कमाइरहेका छन् । यो प्रवृत्तिको पनि अन्त्य हुन्छ । पेट्रोल पम्पमा सानो पैसा नहुँदा उपभोक्ता कति ठगिएका छन्, यसको लेखाजोखा छैन । आयल निगमले मट्टीतेल र डिजेलको मूल्य १ सय ३३ रुपियाँ तोकेको छ । तर, चानचुन पैसा नभएको बताउँदै उपभोक्तासँग १ सय ३५ रुपियाँ लिइन्छ । दुई रुपियाँ फिर्ता दिँदैनन् । मुलुकभर ४१ लाख सवारीसाधन छन् । यिनीहरुसँग पेट्रोलपम्प सञ्चालकले दैनिक कति रकम ठगेका छन् ? मट्टीतेलमा पनि त्यस्तै छ । त्यसै गरी, सार्वजनिक सवारीसाधनमा सरकारले तोकेको भाडा एक किमिबाट पाँच किमिसम्म १८ रुपियाँ छ ।

तर, चढ्नेबित्तिकै २० रुपियाँ तिर्न यात्रु बाध्य छन् । २३ को ठाउँमा २५ र २७ को ठाउँमा ३० रुपियाँ सहचालकले लिने गरेका छन् । फुटकर पैसा छैन भनेर सहचालकले दुई–तीन रुपियाँ फिर्ता गर्दैनन् । एउटा कर्मचारी दैनिक दुईचोटि गाडी चढ्छ । अन्य काममा हिँडेका मानिसहरु दैनिक चारचोटिसम्म गाडी चढ्छन् । चारचोटि चढ्दा एउटा यात्रुसँग १२ रुपियाँ बढी उठाइन्छ । उपत्यकामा मात्रै एकदिनमा २५ लाख यात्रु भाडाको गाडी चढ्छन् । यी गाडीहरुले फुट्कर पैसा नभएको बहाना बनाएर यात्रुसँग एक करोड ३० लाख रुपियाँ ठगिरहेका छन् । यात्रुले पाउनुपर्ने फिर्ता पैसा राष्ट्र बैंकको कमी–कमजोरीका कारण पाएका छैनन् ।

चानचुन पैसा नदिने सवारीसाधनलाई ट्राफिक महाशाखाले कारबाही गर्दैन, किनकि उनीहरुले राष्ट्र बैंकको नाम लिएर ठगिरहेका छन् । अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्र बैंकको गर्भनरले यातायात व्यवसायीसँग कमिसन खाँदा जनता ठगिए । जनताको हितमा भन्दा पनि यिनीहरुले व्यवसायीको हितमा काम गरिरहेका छन् । व्यापारी र यातायात व्यवसायीको मुखमा बुजो अर्थमन्त्री र राष्ट्र बैंकका गभर्नरले लगाउन सकेनन् । जनताले तिरेको करबाट तलबभत्ता खाने, सरकारी गाडी चढ्ने तर कामचाहिँ व्यापारीको लागि गर्ने ? जनता र राष्ट्रको लागि काम नगर्नेलाई जनताले तिरेको करबाट किन तलबभत्ता खुवाउने ? बेकारमा त्यति महँगो सरकारी गाडी किन चढ्न दिने ?
बेनाम

प्रतिक्रिया दिनुहोस्