काठमाडौं ।
विश्वमा प्रत्येक वर्ष १२ लाख मानिसको टाउकोको चोटका कारण मृत्यु हुने गरेको छ । विश्व टाउकोको चोट जनचेतना दिवसका अवसरमा आइतबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा आयोजित कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।
कार्यक्रममा शिक्षण अस्पतालका न्यूरो सर्जरी आकस्मिक विभागका प्रमुख डा. मोहराज शर्माले नेपालमा पनि टाउकोमा चोट लागेका बिरामीमध्ये आर्थिक सहयोगको अभाव र समयमा उपचार नपाएर ३ प्रतिशतको मृत्यु हुने गरेको बताउनुभयो । शिक्षण अस्पतालको आकस्मिक कक्षमा सडक दुर्घटना, रूख तथा भीरबाट लडेर घाइते भएका, मादक पदार्थ सेवन गरी चोट लागेका घाइतेहरू उपचारका लागि अन्तिम अवस्थामा मात्र आइपुग्ने गरेको जानकारी दिँदै उहाँले केहीको अंगभंग हुने, पूर्ण रूपमा निको नहुने र केहीको मृत्युसमेत हुने गरेको बताउनुभयो । साथै अस्पतालमा चिकित्सक, नर्स, आईसीयू, भौतिक संरचना तथा उपकरणलगायतको अभावले गर्दा पनि शिक्षण अस्पताल पुगेका टाउकोमा चोट लागेका बिरामीलाई अन्य अस्पतालमा पठाउनुपरेको र बिरामीले जान नमान्दा समस्या पैदा हुने गरेको पनि डा. शर्माले बताउनुभयो ।
डा. शर्माका अनुसार विश्वमा प्रत्येक वर्ष ६ करोड ९ लाख मानिस विभिन्न कारणबाट टाउकोमा चोट लागी बिरामी हुने गरेका छन् । यो तथ्यांकलाई नियाल्दा प्रत्येक दिन ८ सय ८२ जना अर्थात् एक घण्टामा ३४ जनाको टाउकोमा चोट लाग्ने गरेको देखिन्छ । यीमध्ये ४० प्रतिशतको मृत्यु हुन्छ भने २० प्रतिशतलाई आईसीयू (सघन उपचार कक्ष) मा राखी विशेष उपचार गर्नुपर्ने हुन्छ । आईसीयूमा राखेका बिरामीमध्ये २० प्रतिशतको शल्यक्रियाका माध्यमबाट उपचार गर्नुपर्ने हुन्छ ।
विश्वमा टाउकोको चोटको उपचार खर्च ६ लाखदेखि १८ लाख अमेरिकी डलरसम्म पर्दछ । तर, नेपालमा भने तुलनात्मक रूपमा सस्तो अर्थात् १ लाख नेपाली रुपियाँदेखि अवस्थाअनुसार बढी पर्न सक्छ । नेपालीहरूका लागि यो रकम पनि अत्यन्तै महगो हुन आउँछ । विदेशमा स्वास्थ्य बिमाका कारण उपचार खर्च नपाएर नागरिकले ज्यान गुमाउनुपर्दैन । तर, नेपालमा घाइतेको उपचार शुरू गर्नुपूर्व नै अस्पतालमा रकम जम्मा गर्नुपर्ने भएकाले उपचार ढिलो हुनुका साथै पैसा जुटाउन नसकेर पनि मानिसको ज्यान जाने गरेको तथ्यतर्फ सरकारको ध्यान पुग्नु जरुरी रहेको डा.शर्माले बताउनुभयो । उहाँले भन्नुभयो– ‘नेपालको संविधान २०७२ मा उल्लेख गरिएअनुसार आकस्मिक उपचारबाट कुनै पनि नेपालीले बन्चित हुनु पर्दैन तर व्यवहारमा पहुँच र पदमा रहेकालाई मात्र यो सम्भावना छ ।’
धेरैजसो सवारी दुर्घटनामा पर्ने, भीरबाट लड्ने, घाँस, दाउरा गर्दा वनपाखा, रूखबाट लड्नेहरू साधारण नागरिक हुने भएकोले उनीहरूको उपचारमा राज्यले खासै चासो नदिएको चिकित्सकहरूको ठम्याइछ । टाउकोमा चोट लाग्नेमा अधिकांश २० देखि ४० वर्ष उमेर समूहका र घर बाहिर काममा जाने पुरुष रहेको अस्पतालको तथ्यांकले देखाएको छ । दुर्घटनाको प्रमुख कारण यात्रुवाहक बस पुरानो हुनु, क्षमताभन्दा बढी यात्रु राख्नु, बाटो राम्रो नहुनु, भौगोलिक बनोट भिरालो हुनु, एउटै चालकले लामो समयसम्म गाडी चलाउनु, रूखबाट लड्नु, भीरमा घाँस दाउँरा गर्दा चिप्लनु, मादक पदार्थ सेवन गरी हिड्नु रहेको पाइएको त्रि वि शिक्षण अस्पतालले जनाएको छ ।
त्यसैगरी दशै तिहारको समयमा युवा तथा बालबालिकाहरू पिङ, रोटेपिङमा धेरै मच्चिदा खस्नु, पिङको डोरी छिन्नु, लिंगो भाँचिनु, झैझगडा पर्नु, घरको छतमा चंगा उडाउन जाँदा पछि सर्ने क्रममा खस्नु, सेल्फी फोटो खिच्दा जोखिम ठाउँमा जानु, विभिन्न खाले आन्दोलन, विरोधमा सुरक्षाकर्मीले टाउकोमै लक्षित गरी लठ्ठी बजार्नुलगायतका कारणले पनि टाउकोमा गम्भीर चोट लाग्ने गरेको पाइएको छ । यस बिषयमा हरेक निकायले गम्भीर भएर सोच्नुका साथै टाउकोमा प्रहार गर्नुहुन्न भन्ने विषयमा सरकारदेखि सर्वसाधारणमा जनचेतना फैलाउनु जरुरी भएकोमा चिकित्सकहरूले जोड दिएका छन् ।
डा.शर्माले उपचारले मात्र टाउकोको चोटलाई कम गर्न नसकिने हुँदा दुर्घटना न्यूनीकरणका लागि जनचेतनालगायतका विषयमा सुधार गर्नुपर्ने बताउनुभयो । यसका साथै मोटरसाइकलमा यात्रा गर्ने दुवै जनाले हेलमेट लगाउने र सवारी चालकको स्वास्थ्य अवस्था प्रत्येक ३ देखि ६ महिनामा परीक्षण गर्नुपर्ने, छारेरोग लागेकाले समेत सवारी साधन चलाइरहेको पाइएकाले यातायात समितिले नै स्वास्थ्य परीक्षणलाई अनिवार्य गर्नुपर्नेलगायतका उपाय आवलम्बन गरे टाउकोको चोटलाई कम गर्न सकिने पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– ‘सवारी दुर्घटनामा परी टाउकोमा चोट लागेका बिरामीलाई ४ घण्टाभित्र सिटीस्क्यान सहितको सुविधा भएको अस्पतालमा पुर्याउनुपर्छ । यस्तो अस्पताल र उपचार कहाँ–कहाँ हुन्छ भन्ने बारेमा सर्वसाधारण, यातायात समितिलगायतले जानकारी राख्नुपर्छ ।’
त्रिवि शिक्षण अस्पतालका आकस्मिक मेडिसियन विभागका प्रमुख डा.रमेश कुमार महर्जनले फागुन महिनामा त्रिविमा आएका ३३ जना टाउकोमा चोट भएका बिरामी सबै अस्पताल चहारेर अन्तिम अवस्थामा पैसासमेत सकिएपछि पुगेका र तीमध्ये ३ प्रतिशतको उपचारकै क्रममा मृत्यु भएको बताउनुभयो ।
कार्यक्रममा महाराजगन्ज प्रहरी विटका प्रहरी नायब उपरीक्षक पी. विष्टले सडक दुर्घटनामा उद्धार गर्न पुग्ने पहिलो व्यक्ति प्रहरी हुने अस्पतालमा प्रहरी आफैं जमानत बसेर उपचार गराउनुपर्ने बाध्यता रहेको जानकारी दिँदै भन्नुभयो– ‘यस्तो अवस्थामा बिरामीले समयमै उपचार पाउन रकम जम्मा गर्नुपर्छ, हामी त्यसो गर्न सक्दैनौं । संविधानमा आकस्मिक उपचारबाट नागरिक बन्चित हुनुपर्ने छैन भनिए तापनि व्यवहारमा आएकै छैन ।’
प्रा. डा. दिनेश काफ्लेले अस्पतालको आईसीयू र वार्ड बढाएर टाउकोमा चोट लाग्ने बिरामी घट्दैन बरू यसका लागि जनचेतना नै फैलाउनु जरुरी भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘विदेशमा एक लाख बिरामी बराबर एकजना न्यूरोसर्जन हुन्छन् तर नेपालमा जम्मा १ सय ४ जना छन् । त्यसमा पनि ६२ जना काठमाडौमै केन्द्रित छन् भने कर्णालीमा एकजना पनि छैनन् । यस विषयमा सरकारको ध्यान पुग्नु जरुरी छ ।’
प्रतिक्रिया