झापामा दुई हजार ७ सय ६४ जना म्यादी प्रहरीका लागि भर्ना खुल्यो


भद्रपुर । 

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलेको छ । आइतबार देखि चैत्र ११ गतेसम्म १८ वर्ष पूरा भएका र ५४ वर्ष ननाघेका इच्छुक व्यक्तिले म्यादी प्रहरीमा भर्नाका लागि आवेदन दिन सक्नेछन् ।

झापामा दुई हजार ७ सय ६४ जना म्यादी प्रहरीका लागि भर्ना खुलेको हो । भर्नाका लागि आवेदन दिनेहरूको बिहानैदेखि भिड बढेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिनुभयो । म्यादी प्रहरीमा भर्ना हुन प्रहरी जवान सरह मापदण्ड आवश्यक हुने बताइएको छ ।चुनावका लागि आवश्यक ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो । म्यादी प्रहरीमा भर्ना हुन सबै जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन सकिनेछ । म्यादी प्रहरीले प्रहरी जवानसरह नै सेवा सुविधा पाउनेछन्। छनोट भएका म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर चुनावको सुरक्षामा खटाउने तयारी छ ।

म्यादी प्रहरीको प्रशिक्षण आउँदो २८ गतेदेखि सुरु हुने सूचनामा उल्लेख छ । म्यादी प्रहरीले दिनको सात सय ५६ रुपैयाँका दरले तलब पाउनेछन् । ४० दिनको ७ हजार रुपैयाँ रासन भत्ता, पोसाक भत्ता ६ हजार र एक हजार रुपैयाँ यातायात खर्च उपलब्ध गराइनेछ । एक जना म्यादी प्रहरीले ४० दिन काम गर्दा जम्मा ४४ हजार ४४० रुपैयाँ प्राप्त गर्नेछ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा २०७८ साउन १ गतेदेखि विभिन्न पदका लागि आवेदन दिएका शारीरिक रूपमा तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भई प्रवेश पत्र पेस गर्ने, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट निवृत्तिभरण प्राप्त व्यक्तिहरू, पूर्व बनरक्षक, विदेशी मित्र राष्ट्रका सुरक्षा निकायहरूमा काम गरी अवकाशप्राप्त नेपाली नागरिक र विगतका चुनावमा म्यादी प्रहरीमा भर्ना भई सन्तोषजनक काम गरेकाहरूलाई प्राथमिकता दिइने छ । स्थानीय चुनावका लागि एक लाख जना म्यादी प्रहरी माग गरिएको छ ।