गठबन्धन गर्ने भनेर स्थानीय स्तरबाट सुझाव सङ्कलन भइरहेको छ: प्रवक्ता महत


 सल्यान । 

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले आवश्यकताका आधारमा गठबन्धन बनाएर निर्वाचनमा जाने बताउनु भएको छ । जुन पार्टीसँग गठबन्धन गर्दा कांग्रेसको सिट सुनिश्चित हुन्छ सोहीसँग गठबन्धन गरेर जाने बताउनु भयो ।

आइतबार बिहान नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व परराष्ट्र मन्त्री समेत रहेका महतले निर्वाचनमा कोसँग गठबन्धन गर्ने भनेर स्थानीय स्तरबाट सुझाव सङ्कलन भइरहेको र ११ गते बस्ने केन्द्रीय समितिको बैठकले निर्णय गर्ने बताउनु भयो । उहाँले भन्नु भयो ‘हरेक दलको लक्ष्य बनेको कसरी बढी सिट ल्याउन सकिन्छ भन्ने हुन्छ । त्यस अनुसार के गरेर जाँदा बढी सिट ल्याउन सकिन्छ । एकल जाँदा बढी सिट आउँछ की गठबन्धन गरेर जाँदा बढी आउँछ सोही अनुसार पार्टी अघि बढ्छ ।’  एकल निर्वाचनमा जाने विषयमा तत्काल केही भन्न नसकिने उहाँको भनाई छ ।

चैत भित्र स्थानीय तहमा उठ्ने उम्मेदवारको टुंगो लाग्ने उहाँले बताउनु भयो । स्थानीय तहको निर्वाचन पार्टीको आन्तरिक चुनाव जस्तो नभएकाले सुझबुझका साथ लाग्न उहाँले कार्यकर्तालाई आग्रह गर्नुभयो । उरन्ठेला पाराले देश चल्न नसक्ने भन्दै उहाँले भन्नु भयो े ‘नेपाली जनताले पाँच वर्षका लागि कम्युनिस्टलाई सरकारको नेतृत्व गर्ने जिम्मेवारी दिनुभयो, तर तीन वर्ष पनि टिक्न सकेनन् । उनीहरू देश बनाउने र विकासको काम गर्ने  भन्दा भ्रष्टाचारमा सिमित रहे । अब देश बनाउने जिम्मेवारी कांग्रेसका काँधमा आएको छ ।’

आकाश पतालनै एउटै बनाउँछौ जस्तो गेरर धेरै कुरा गर्ने तर काम गर्ने पर पार्टीले देशले विकास गर्न नसकेको बताउनु भयो । सत्ता बाहिर हुँदा एउटा कुरा गर्ने सत्ता भित्र हुँदा अर्को कुरा पार्टी कांग्रेस नभएको महतको भनाई छ । बाहिर राष्ट्रियताको ठूला नारा लगाउन लगाउने तर बोल्नु पर्ने ठाउँमा एक शब्द पनि चुइँक्क नबोल्ने आफ्नो पार्टी नभएको बताउनुभयो । एमसीसी विशुद्ध विकास निर्माणका लागि अनुमोदन भएको बताउँदै उग्र राष्ट्रवादी बन्न जरुरी नरहेको उहाँको भनाई छ ।