नेपालमा बास्केटबलको भविष्य निकै उज्ज्वल छ



मनेष राजोपाध्याय ती खेलाडी हुन्, जो नेपालमा बास्केटबल खेललाई उचाइमा पुर्याउन हरसंभव प्रयास गरिरहनुभएको छ । मनेष बास्केटबलमा लागेको पनि १३ वर्ष भइसकेको छ । २००९ देखि नै प्राइम कलेजबाट बास्केटबल खेल्न शुरु गर्नुभएको उहाँलाई त्यतिबेला रमाइलो लागेको थियो । तर, विस्तारै बास्केटबलबाट वितृष्णा हुँदै उहाँ विदेशतिर समेत लाग्नुभयो । तर, पछि फर्केर आउँदा पुनः बास्केटबल खेल्नुका साथै क्याम्पियन सोलो भनेर एउटा बास्केटबल टिम पनि तयार गर्नुभएको छ । साथै उहाँले बास्केटबल एकेडेमी पनि स्थापना गरेर युवा खेलाडीलाई प्रशिक्षण दिइरहनुभएको छ । राष्ट्रिय खेलाडी समेत रहनुभएका उहाँसँग नेपाल समाचारपत्रका लागि फिरोज राजोपाध्याय गरेको कुराकानी प्रस्तुत गरिएको छ ।

बास्केटबलमा कसरी लाग्नुभयो ?
मेरो मामा पनि बास्केटबल खेल्नुहुन्थे । उहाँले पाउनु भएको सम्मान र पदक देखेर मलाई पनि बास्केटबल खेल्न मन लागेको हो । साथै उहाँसँगै बास्केटबल हेर्न जाने भएर होला मेरो करियर बास्केटबलमा रह्यो । एसएलसी सकाएर टेलेन्ट हन्टमा गइसकेपछि नै मैले खेल्न शुरु गरेको थिएँ । मैले प्राइममा खेले, गोल्डेन गेटमा खेले । खेल्दै मलाई रमाइलो पनि लाग्यो र मैले बास्केटबललाई नै करियर बनाए ।

बास्केटबलको यति लामो करियर कस्तो रह्यो ?
भन्नैपर्दा उतारचढाव भयो । मैले शायद २०६५ सालदेखि खेल्न शुरु गरेको थिएँ । त्यतिबेला मलाई सबैचीज रमाइलो लागेको थियो । पछि, विस्तारै यो खेलप्रति उदासिनता हुन थाल्यो र मैले बीचमा विश्राम पनि लिएँ ।

विश्राम भन्नाले ?
म भारतमा पढ्न गएको थिए । मेरो दुर्घटना भएको हुदा मैले खेल्न पनि सकेन । अर्को कारण निराशा थियो । मैले विश्राम लिनुपरेको कारण यही थियो । यसले मलाई मानसिक र शारीरिक रूपमा बलियो पनि बनायो ।

फेरि बास्केटबलमै लाग्नुभयो ?
म फर्केपछि नेपालमा बास्केटबल निकै चलिरहेको थियो । प्रतियोगिता पनि हुने, वातावरण पनि रमाइलो भइरहँदा फेरि मैले बास्केटबल खेल्न थालेको हुँ । सिनियर दाजुहरू खेलेको देखेर मलाई खेल्न प्रेरणा मिलेको हो ।

भारतबाट नेपाल आउनुको कारण ?
मलाई बास्केटबलको मायाले नेपालमा फर्कायो । म यहाँ आइसकेर एउटा टिम पनि बनाए । बास्केटबल संघबाट तलब पनि पाउँदैन, यसमा त्यति राम्रो कमाइ पनि हुँदैन । तापनि मैले नेपाली बास्केटबललाई उचाइमा पुर्याउनुपर्छ भन्ने भाव आएपछि नै म नेपाल फर्केको हु । अहिले मलाई बास्केटबलमा पहिले भन्दा बेग्लै मजा आइरहेको छ ।

संघले तलब दिंदैन भन्नाले ?
संघबाट केही आउँदैन । तलब दिंदैन, राष्ट्रिय खेलाडीको रूपमा प्राथमिकता दिएको छैन । संघ बलियो पनि भएन । अन्तर्राष्ट्रिय खेलमा सहभागिता समेत त्यतिको भएको छैन । १३ वर्षको बास्केटबल करियरमा मैले जम्मा ४ वटा जति अन्तर्राष्ट्रिय प्रतियोगिता खेले होला । यतिले एक खेलाडीको रुपमा केही पनि हुने छैन । जतिबेला संघ बलियो हुनेछ त्यतिबेला मात्रै बास्केटबल खेलाडीको करियर पनि बलियो हुनेछ ।

नेपाली बास्केटबलको भविष्य कस्तो देख्नुभएको छ ?
आगामी वर्ष नेपाल बास्केटबल लिग (एनबीएल) हुँदैछ । एनबीएलमा ८ फ्रेन्चाइजी टिम रहनेछन् । यो प्रतियोगिताले नेपाली बास्केटबल व्यवसायिकतिर अग्रसर हुनेछ पनि । यो प्रतियोगिताले गर्दा नेपालमा बास्केटबलको भविष्य निकै उज्ज्वल छ भन्ने सन्देश जानेछ । अक्सनको रुपमा हुने यो प्रतियोगिताले राम्रै गर्नेछ भन्ने मलाई लागेको छ । यसबाट नयाँ पुस्तालाई अझ यो खेलतिर आकर्षित गर्नेछ ।

यो फुटबल, क्रिकेट झैं व्यवसायिक होला र ?
अवश्य हुनेछ । एनबीएलका लागि खेलाडीलाई तीन वर्गमा विभाजित गराएर अक्सन गरिनेछ । ए, बी र मार्की खेलाडीलाई छुट्टाछुट्टै गरेर अक्सन गर्दा धेरै खेलाडीलाई फाइदा हुने पक्कै छ । हालै पनि टेन्डी शेर्पा दाईको सम्झनामा बास्केटबल भयो । यसले पनि बास्केटबललाई टेवा दिएको छ । यो प्रतियोगिता पनि हरेक वर्ष गर्दै जाने भनिएकोले पनि भविष्यमा नेपाली बास्केटबलले फुटबल र क्रिकेटले जस्तै उचाइ लिनेछ भन्ने विश्वास गर्न सकिन्छ ।

एनबीएलमा विदेशी खेलाडी हुनेछन् त ?
एनबीएलका लागि दुई जना अन्तर्राष्ट्रिय खेलाडी पनि राखिने व्यवस्था भइसकेको छ । यसले कडा प्रतिस्पर्धा र रोमाञ्चक हुने आशा गर्न सकिन्छ । एनबीएलका लागि दुई जना अन्तर्राष्ट्रिय खेलाडीलाई प्रत्येक टिमले राख्न सकिने प्रावधान राखिएको छ । यसले गर्दा प्रत्येक टिमका नेपाली खेलाडीले विदेशी खेलाडीबाट केही सिक्न र उनीहरुको सीप र कलालाई आत्मसात गर्न सकिन्छ । यो भनेको हामी बास्केटबल खेलाडीको लागि फाइदाजनक नै हो भने भावी पुस्ताका खेलाडीका लागि पनि उनीहरुका कला सीप सिक्ने मौका पनि हो ।

बास्केटबलको उत्थानको लागि तपाइको केही योजना छ ?
योजना छ होइन कि शुरु भइसकेको छ । कुमारी पाटीमा सोलो बास्केटबल एकेडेमी भनेर स्थापना भएको छ । यसमा प्रशिक्षण दिन पनि थालिसकेको छ । हामीले युनिक कलेजको कोर्ट प्रयोग गरेका छौं । हामीले १६ वर्ष, १९ वर्ष र २० वर्ष मुनिका गरेर तीन विधा छुट्टयाएर प्रशिक्षण दिइरहेका छौं । यसले नयाँ प्रतिभावान् खेलाडी निस्कनेछन् भन्ने विश्वास गरेको छु ।

अनि, तपार्इं यस खेलमा लागेर कतिको सन्तुष्ट हुनुहुन्छ ?
एसएलसी पास भएपछि मलाई घरबाट त्यति समर्थन मिलेको थिएन । पढाईमा ध्यानकेन्द्रीत हुन मलाई घरमा जोड दिएको थियो । तर, म यसैमा लागे, खेल राम्रो हुँदै गएपछि छाड्न पनि चाहना भएन । अहिले बास्केटबल खेल्नेहरुको भीड नै छ । म यसबाट उत्साहित पनि छु र यो खेलमा लागेकोमा गर्व पनि गर्छु । मलाई कुनै पछुतो पनि छैन । अब, नयाँ राम्रा खेलाडी उत्पादन गर्नेमै ध्यान हुनेछ मेरो ।

प्रतिक्रिया दिनुहोस्