गठबन्धन जोगाउने र भत्काउने जिम्मा कांग्रेसमा निर्भर: अध्यक्ष प्रचण्ड


यमलाल भुसाल , बुटवल । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले , गठबन्धन जोगाउने र भत्काउने भूमिका कांग्रेसमा निर्भर रहेको बताउनु भयो ।

उहाँले कांग्रेसले लखेटेको अवस्थामा मात्रै अन्य दलसँग गठबन्धन हुने नभए अहिले त्यो अवस्था नरहेको बताउनु भयो । तत्त्काल एमालेसँग तालमेल वा गठबन्धनको सम्भावना नरहेको समेत उहाँले औँल्याउनु भयो ।उहाँले गम्भिर समस्या आएपछि संकटमा माओवादीले निकास दिएको भन्दै राजनीतिमा जे पनि हुनसक्ने बताउनु भयो ।

प्रेस सेन्टर नेपाल लुम्बिनीले विहिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले पहिलो गठबन्धनलाई कायमै राखेर चुनावमा जाने र दोस्रोमा आफ्नै तागतमा निर्वाचन लड्ने कुरालाई प्राथमिकतामा राखेको बताउनु भयो । उहाँले स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र आफ्नै चुनावी ऐजेन्डा सहित निर्वाचनमा होमिने पनि बताउनु भयो ।अध्यक्ष प्रचण्डले निर्वाचन तोकिएकै समयमा हुने भएकाले सम्पूर्ण तागत त्यता केन्द्रीत गर्न कार्यकर्तालाई आग्रह गर्नु भयो ।

अध्यक्ष प्रचण्डले गठबन्धन गरेर चुनावमा जाने सवालमा प्रमुख नेतृत्व पंक्तीका विचमा विमती नरहेको बताउनु भयो ।  प्रतिगनका विरुद्ध गठबन्धन बनेको हो, त्यो उद्देश्य अहिले पनि पूरा गर्न बाँकी नै छ, त्यसैले गठबन्धन टुटने देखिदैन’ उहाँको कथन छ ।संघीय र प्रदेश सरकारहरु निर्वाचनसम्म बलियोसँग अगाडि बढ्ने आधार बनेको उहाँले बताउनु भयो । अध्यक्ष प्रचण्डले प्रधानन्यायाधीश महाअभियोग संविधान र कानुनको व्यवस्था अनुसार नै संसद्मा दर्ता भएकाले अधिवेशन अन्त्य हुँदैमा केहि नहुने बताउनु भयो ।