धुलिखेल र पनौती रुटमा कार्यरत उत्कृष्ट चालक र परिचालक सम्मानित

नगद १ लाख ५ हजार र चाँदीको ट्रफी

0
Shares

काभ्रे । 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धुलिखेल र पनौती रुटमा कार्यरत १९ मजदुर र मजदुरका परिवारलाई सम्मान गरिएको छ । धुलिखेल नगरपालिका प्रमुख एवं नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्याञ्जुले धुलिखेलमा र संगठनका केन्द्रीय उपाध्यक्ष नवराज घिमिरेले पनौती रुटका मजदुरहरुलाई नगद, दोसल्ला, प्रमाणपत्र र चाँदीको ट्रफिले सम्मान गर्नु भएको थियो ।

‘हरेक वर्ष दुई जना जेष्ठ मजदुर सदस्य र परिवारका सदस्यलाई नगद १ लाख ५ हजारका दरले सम्मान गर्ने गरेका छौँ’–धुलिखेल रुटका अध्यक्ष अर्जुन लामाले भन्नुभयो–‘जेष्ठ सदस्य दुई जना सहित उत्कृष्ट चालक र परिचालकलाई नगद, दोसल्ला, प्रमाणपत्रबाट सम्मान गरिएको छ । यो वर्ष ८ जना सम्मानित भएका छन् ।

सम्मानित हुनेहरुमा जेष्ठ सदस्यद्धय प्रेमबहादुर श्रेष्ठ र उनको श्रीमती दुर्गाकुमारी श्रेष्ठ, नरबहादुर श्रेष्ठ र उनको श्रीमती नरमाया श्रेष्ठ रहनु भएको छ । प्रेमबहादुर र नरबहादुरले १ लाख ५ हजार नगद प्राप्त गरेका छन् । उत्कृष्ट चालक भिमसेन कार्की, रामेश खत्री, तासी लामा, विश्व घलान, सप्तबहादुर प्रधान र नेत्र गिरी रहेका छन् । उत्कृष्ट परिचालक विनोद प्रधान र दिपक भुजेल सम्मानित भएका छन् ।

पनौती रुटमा कार्यरत उत्कृष्ट चालक माधव सापकोटा, राजेन्द्र बस्नेत, बलराम कुँवर, चक्र देउला, सविन कुँवर सम्मानित भएका छन् भने परिचालक सुवास खड्का, श्रीजल श्रेष्ठ र राजकुमार सापकोटा सम्मानित भएका छन् । संगठनले निरन्तर सेवा गरे बापत पुर्व अध्यक्ष बेदप्रसाद घिमिरेलाई प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो । पनौती रुटमा कार्यरत मजदुरहरु मध्ये चालकलाई डेड तोलाको चाँदीको ट्रफी र परिचालकलाई एक तोलाको चाँदीको ट्रफी प्रदान गरिएको थियो । अध्यक्ष सुनिल धाँजुले सम्मानित मजदुरहरु वर्षका उत्कृष्ट भएको बताउनु भयो ।

धुलिखेल रुटमा आयोजित कार्यक्रममा बोल्दै नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्याञ्जुले मजदुरहरुको सुरक्षासँगै स्वास्थ्य बीमा जरुरी रहेको बताउनु भयो । ‘जोखिम धेरै भएको यातायात क्षेत्रलाई संयम र सुरक्षित बनाउन मजदुर र परिवारहरुको ब्यवस्थापन आवश्यक छ’–अध्यक्ष अशोक ब्याञ्जुले भन्नुभयो–‘मानविय संवेदना राख्दै सभ्य भाषा र ब्यवहवारका लागि नियमित प्रशिक्षण सहित नियमित बचतमा ध्यान दिनु पर्छ । मजदुरहरुको सामाजिक सुरक्षाका लागि केपी ओली नेतृत्वको सरकारले ल्याएको सामाजिक कोषमा सहभागि हुन ध्यान दिनु पर्ने बताउनु भयो ।

धुलिखेल रुटले सदस्यहरुका लागि हरेक वर्ष जेष्ठ यातायात मजदुर सम्मान, दीर्घरोगी मजदुरहरुलाई उपचारमा सहयोग, हिरासत तथा जेल रहँदा भत्ता, अस्पतालमा उपचार गर्दा स्वास्थ्य खर्च, दुर्घटना पछि मृत्यु भएको अवस्थामा परिवारलाई सहयोग गर्ने लगायतका कार्यहरु गरिरहेको अध्यक्ष अर्जुन लामाले बताउनु भयो । कार्यक्रममा काभ्रे बस सेवा प्रालीका सचिव कविर रञ्जित, कोषाध्यक्ष रामसुन्दर श्रेष्ठ, करिष्ठ सुपरभाईजर राजन भालु, धुलिखेल र रोशीका जनप्रतिनिधिहरु, संस्थाका उपाध्यक्ष धनबहादुर ठकुरी, सचिव होमबहादुर श्रेष्ठ, सल्लाहकार भिमसेन लामा, सदस्य अनिता श्रेष्ठ, कार्यालय प्रमुख अनिल श्रेष्ठ लगायतले धुलिखेल रुटले सदस्य मजदुरहरुका लागि गरिरहेका सेवाका बारेमा जानकारी गराउनु भएको थियो ।

पनौती रुटले मजदुरहरुका लागि औषधी उपचार, हिरासत भत्ता, जेल बस्नु परेको अवस्थामा जेल भत्ता, चालक हिरासतबाट निस्कँदा लाग्ने सम्पूर्ण खर्च, २-२ वर्षमा एक लाख रुपैया सहित जेष्ठ सदस्य मजदुर सम्मान, अशक्त बिरामी मजदुर सदस्य उपचार सहयोग लगायतका सेवा उपलब्ध गराएको अध्यक्ष सुनिल धाँजुले बताउनु भयो । कार्यक्रममा बोल्दै संगठनका केन्द्रीय उपाध्यक्ष नवराज घिमिरेले देशभर ४ सय १२ जना सडक मजदुर हिरासत र जेलमा रहेको बताउनु भयो ।

‘सडकमा कार्यरत मजदुरहरुका लागि ट्राफिक ब्यवस्थापन र ट्राफिकको ब्यवहार समस्या देखियो’–उपाध्यक्ष नवराज घिमिरेले भन्नुभयो–‘यातायातका नियम, कानुन, ऐन पालना गर्ने, अनुशासित चालक र परिचालक भई नमुना मजदुर बन्ने, ब्यवसायीक सहजताका लागि समन्वय र सहकार्य गर्न ध्यान दिनु पर्छ ।’ सरकारले पटक पटक बृद्धी गरेको मुल्यबृद्धीको मार मजदुरमा परेको घिमिरेले बताउनु भयो । ‘एक रुपैया धेरै भाडा लिँदा मजदुरलाई ५ हजार जरिवना र जेल राखेको सरकारलाई स्मरण गराउँछु’–उपाध्यक्ष घिमिरेले भन्नुभयो–‘अहिलेको महङ्गी सरकारलाई थाहा छैन र रु मजदुरहरुका लागि लाईसेन्स नयाँ र नविकरण दुबै समस्या छ । इमान्दारीता पूर्वक कार्य गरौँ । विवेकपूर्ण बिमाको पक्षमा हामी छौँ ।’ घिमिरेले संगठन पाठशाला रहेकाले गोलबद्ध भई संगठनका सेवाहरु उपयोग गर्न आग्रह गर्नु भयो ।

कार्यक्रममा संगठनका बागमती प्रदेश अध्यक्ष अजय श्रेष्ठ, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र पसँक्षे, संगठनका पुर्व अध्यक्षहरू श्रीराम मैनाली, बेदप्रसाद घिमिरे, एमाले काभ्रेका जिल्ला सदस्य एवं मजदुर इन्चार्ज विदुर खत्री, सिडब्लुसी पोलिक्लिनिकका प्रवन्ध निर्देशक दिपेश ताम्राकार, संगठनका उपाध्यक्ष जगतबहादुर श्रेष्ठ, सचिव नवराज घिमिरे, कोषाध्यक्ष हरिकुमार प्रधान लगायतले पनौती रुट इकाईले सदस्यहरुका लागि दिएका सेवा र यातायात मजदुरहरुले भोगेका समस्या र समाधानका लागि संगठनको भूमिकाका बारेमा जानकारी गराउनु भएको थियो ।