एमसीसी अनुमोदनपछिका सम्भावित चाल



  • केशव अधिकारी

करोड नेपाली जनताले विरोधका नारा लगाइरहँदा पनि अटेरी बनेर बलजफतसँग एमसीसी अनुमोदन गराएपछिका दिनमा प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो मुख्य मिसन सफल भएकोमा धेरै खुशी भएका छन् । अरुभन्दा पनि विपक्षीहरुलाई समेत विभिन्न पद र अन्य कुराको लोभमा फसाएरै भए पनि आफू प्रधानमन्त्री बन्दाको मुख्य मिसन पूरा गराएरै छाडे । प्रधानमन्त्री आफ्नो मिसनमा सफल भएसँगै नेपालको राजनीतिको जग कहाँनेर र कुन धरातलमा उभिएको रहेछ भन्ने कुरा सर्वसाधारणले समेत पत्तो लगाएका छन् ।

स्वच्छ राजनीति भएको अवस्थाको प्रमको त्यो सफल कदम सम्पन्न हुन्थ्यो भने त त्यसलाई निकै गहन रुपमा लिन सकिन्थ्यो होला र नेपालका प्रमको हैसियत र गरिमा पनि अलि ओजिलो बनेको अनुभव सर्वसाधारणले गर्न पाउने वातावरण बन्थ्यो । तर प्रम देउवाको अनुभवमा करोड जनका अनुरोध र विरोधलाई समेत बलकै भरमा जितेर मिसन सफल बनाउन सक्नु भनेको ठूलै गौरवको विषय बनेको कुरा निक्र्यौल गर्न सकिन्छ ।

स्वर्गीय गणेशमान सिंहले जनता भेडो हो भन्ने उद्गार प्रकट गरेका थिए रे, अहिले प्रम देउवाले त्यस भनाइलाई साबित गरेर आम जनतालाई भेडो बनाएरै आफ्नो मिसन पूरा गरी देखाए । नत्र एमसीसी अनुमोदन गरिनुअगाडिसम्म लाखौँ जनता सडकमा ओर्लेर अनुमोदनको विरुद्धमा नाराबाजी नगरेका होइनन् । प्रधानमन्त्री देउवाले भन्दा पनि कमरेड प्रचण्डले हजारौँ कार्यकर्तालाई एमसीसी अनुमोदनको विरुद्धमा तत्कालै नारा लगाउन लगाएर माछो–माछो भ्यागुतो बनाएका मात्र होइन साँच्चैको भेडो नै बनाएर एमसीसी अनुमोदनको लागि राजमार्ग नै प्रशस्त गरे । पैसा र पद बाँड्न सक्दा निष्ठा नाम भिराएको राजनीतिले रातारात अर्कै बाटो समाउन पनि पुग्दो रहेछ ।

एमसीसी अनुमोदनपछिका दिनमा त्यसका सबैजसो मतियारहरुलाई बडो आनन्दको निद्रा लाग्न थालेको छ । दुई थाल मासुभात खाएर आनन्दले सुत्न र निदाउन थालेका छन् । अरु कसैको दबाबमा परेर बाध्यताको सिकार बनेका नगन्य मान्छेलाई आत्महत्या गरौँ कि, गरौँ कि भनेजस्तो पनि लाग्न थालेको छ । फेरि यसो सुतेर आँखा झिपिक्क पार्न नपाउँदै सपनामा डलरको बिटोले आफूलाई हानेको जस्तो सपनाले हौसला बढाएको छ । यस्तै हौसलाले जनआवाजको विरुद्धमा गएर विदेशीलाई फाइदा हुने र आफ्नो देशको भविष्य धरापमा पर्ने काम गरिएको भए पनि भैँसी उग्राइको आनन्दमा भुल्न पाएपछि ती सबै तपसिलका विषय बन्छन् ।

एमसीसी अनुमोदनपछि खुशी भएको अमेरिकाले हामीलाई सहयोग गर्ने रकम केवल ५५ अर्ब मात्र होइन कि उसले ७५ अर्ब नै पनि दिन सक्छ । नेपाल अहिलेको हालतबाट आर्थिक समृद्धिको मामलामा धेरै माथि उठेर जान पनि सहयोग गर्छ । हाम्रा नेताहरु रामशरण महत, गगन थापा अदिले भनेजस्तै खाडी देशमा पुगेका केही हजार युवालाई त्यहाँ जानबाट रोकेर स्वदेशमै रोजगारी मिलाउने व्यवस्था गर्न पनि सकिएला । विशाल अमेरिकाको तुलनामा हाम्रो सिङ्गो देश अमेरिकाको एउटा राज्यजतिको ठूलो त छैन भने आर्थिक समृद्धिको कायापलट नै गरेर देखाऊला । अमेरिकाले हामीलाई आर्थिक समृद्धिको लागि सघाउँदै गर्दा हामीबाट वा नेपाल सरकार, नेपाली जनताका तर्फबाट उसले के–कस्ता काम होस् भन्ने चाहना राखेको हुन्छ, त्योचाहिँ महत्वको विषय हुन्छ ।

व्याख्यासहितको एमसीसी अनुमोदन गरेका भनी करोड नेपाली जनतालाई झुक्याएर एमसीसी अनुमोदन गराइरहँदा मिसन पूरा भएको खुशीले गदगद भइरहेका हाम्रा नेताले अमेरिकाले आफ्नो रौद्र रुप प्रकट गरेर जापानमा खसालेका अणुबम मात्र होइन कि हाल हुँदै गरेको रुसको युक्रेनमाथिको हमलालाई नजरअन्दाज गर्न मिल्छ होला र ? एमसीसी पास गर्नुअघिका दिनमा अमेरिकाले हामीलाई गर्दै आएको सहयोगमा अहिले एमसीसी पास गराउँदाको जतिको धेरै र गम्भीर खालका स्वार्थ अवश्य लुकेका थिएनन् । विगतमा उसले गरेको आर्थिक सहयोगले उद्देश्यअनुरुपका काम भए कि भएनन् भनेर अमेरिकाले समीक्षा गर्ने पनि औपचारिकता पूरा गराइमा मात्र सीमित भएको हुन्थ्यो ।

आफूले दबाबमा राख्नका लागि सहयोग गरेको ठानिथ्यो र खासै समीक्षासमेत गरिँदैन्थ्यो । तर अमेरिकाले एमसीसीमार्फत प्रवाह गर्ने आर्थिक सहयोग सोचे अनुसारका क्षेत्रमा लागू भयो कि भएन भनेर निकै खरो समीक्षा हुनेछ । त्यो समीक्षासँगै अन्य क्षेत्रमा पनि अनुदानको मात्रा बढाएर हाम्रा नेताहरुले भनेजस्तै गरी नेपाललाई एउटा समृद्ध मुलुक बनाउने प्रयास अमेरिकाबाट अवश्य हुनेछ । अमेरिकाले हामीलाई जति धेरै आर्थिक सहयोग गर्दै र देश विकासले फड्को मार्दै जान थाल्छ तब उसको हामीमाथिको दबाब पनि रात दुई गुना र दिन चौगुना बढेर जानेछ । देश विकासको सहयोगभन्दा त्यो दबाब निकै महँगो साबित हुनेछ ।

इतिहासदेखि आजसम्मका दिनमा स्वतन्त्र भएर कसैको दबाब सहनु नपरेको वातावरणबाट गुज्रँदै आएका हामीलाई ती दिनहरूमा अमेरिकाको त्यो दबाब असह्य लाग्न थाल्छ । आजको यस्तो अविकसित देशलाई एउटा विकसित देशको रुपमा उभ्याइदिएर अमेरिकाले निकै प्रतिष्ठित कर्म गरेको जस्तो त लाग्ला तर दबाब सहन गर्न बानी नपरेका कारण असह्य पीडाले मुटु जलिरहेको हुन्छ । त्यस बेला हाम्रो मनले ‘भो बाबा, तिम्रो विकास पनि चाहिएन, अनि दबाब पनि नथोपर’ भन्न थाल्छ ।

अमेरिकाले बेलायतबाट सिकेको अरुमाथि जब्बर व्यवहार गर्ने बानी बसालेको छ । हाम्रा यी सोचाइ र तदनुसारका कर्मबाट ऊ सन्तुष्ट हुन सकेन भने बल्ल हाम्रो देशमा अमेरिकी सैनिक केही मात्रामा भित्रिएर हामीलाई दबाब दिन थाल्नेछन् । भारतमा बेलायतीहरु पस्दा व्यापार गरेर बेलायतीलाई भन्दा कता हो कता बढी फाइदा भारतलाई हुन्छ भनिएको थियो । तर बेलायतीहरुले धेरै वर्षसम्म भारतलाई खाएरै छोडेका थिए । अमेरिकी सेना नेपालमा भित्रिँदै गर्दाको अवस्थामा पनि हामी नेपालीले सोच्नुपर्ने कुरा बेलायतीहरुले भारतलाई निलेको स्थानबाटै सोच्नुपर्ने हुन्छ । अहिले एमसीसी अनुमोदन गराउन भूमिका खेल्ने हाम्रा नेताहरु धेरैजसो त्यस बेलासम्ममा विदेश पलायन भइसकेका वा स्वर्गवास पुगिसकेका हुनेछन् ।

विगतमा बेलायतीहरुले भारतमा मात्र राज्य फैलाएका नभई करिब विश्वमै आफ्नो वर्चश्व कायम राख्न खोजेका थिए । यो कुरामा उनीहरु धेरै हदसम्म सफल पनि भए । अहिलेको अमेरिकाको दाउ पनि केवल सानो नेपालमा प्रभुत्व जमाऊँला कि भन्ने मात्र नभई हाम्रो छिमेकी चीनतिर पनि प्रभुत्व जमाउने र सकेसम्म संसारभरको शक्तिको केन्द्रमा बसिरहन सक्ने क्षमताको विकास गर्ने भन्ने बृहत् योजना रहेको हुनसक्छ । उसले यो योजना सफल बनाउनको लागि साम, दाम, दण्ड भेद आदि नीति अपनाउन खोजेको छ ।

हामीजस्ता गरिब देशलाई दाम दिएर दबाब कायम राख्नु, हामीभन्दा शक्तिशालीलाई दामभन्दा अरु फरक खालका उपाय लगाउनु र परास्त गराउनु त उसको कूटनीतिक खेल नै हो । हाम्रोबाट एमसीसी अनुमोदन गरेको विषयलाई अमेरिकाले आफ्नो कूटनीतिक प्रयासको एउटा सानो सिँढीको रुपमा लिएको छ । यो सानो सिँढीको उक्लाइबाटै अरु अग्ला र विशालसम्मका सिँढी चढेर आफ्नो मिसनलाई सफल बनाउनुपर्ने उसको मूल उद्देश्य रहेको छ ।

लाखौँ, करोडौँ जनताको विरोध तथा अस्वीकार्य हुँदाहुँदै पनि बलजफतसँग एमसीसी अनुमोदन गराइछाड्नु एउटा महान् भूलको काम थियो । यो महान् भूलसँगै वर्तमान देउवा सरकारले आपसमा युद्ध लडिरहेका रुस र युक्रेनमध्ये युक्रेनको पक्षमा लागेर अर्को गम्भीर भूल गरेको छ । अहिले रुसले युद्ध गरेर युक्रेनको हालत कस्तो बनाइदियो, भोलि हाम्रा छिमेकी देशले हामीमाथि हमला गरेर युक्रेनको जस्तै हालतमा नेपाललाई पुर्याउन बेर लाग्ने छैन ।

यदि हाम्रो देशमा त्यो परिस्थिति सिर्जना भएको खण्डमा अहिले रुसका विरुद्ध युक्रेन जसरी डटेर सामना गर्दै छ हामी त त्यति पनि गर्न नसकेर सीधै आत्मसमर्पणको बाटोमा नलागी धरै पाउनै छैनौँ । अमेरिकाले आफ्नो देशमा सुरक्षित बनेर बस्न अनुरोध गर्दासमेत नमानेर युद्धको मैदानमा उत्रने देशभक्त युक्रेनी राष्ट्रपतिको तुलना हाम्रो देशका कोही एक नेतासँग पनि हुनसक्ने हालत छैन । हामी आम नेपाली जनता आज पनि दालभातकै जोहो गर्ने चटारोमा जुटेका छौँ । हामीसँग हतियार किन्ने पैसा पनि छैन भने कसैले हामीमाथि आक्रमण गरेको खण्डमा सीधै आत्मसमर्पण गर्नुभन्दा अर्को कुनै विकल्प रोज्न सकिने स्थान नै रहँदैन ।

हाम्रा नेताहरुका अनुसार एमसीसी केवल पाँच वर्षमा पूरा भइसक्नुपर्ने भन्ने कुरा आएको छ । तर यसबारे कुरा गर्दा पाँच वर्ष मात्र नभएर असीमित समयसम्म एमसीसीको प्रभाव र दबाब रहिरहन्छ कि भन्ने विचारका शृङ्खला आउन थालेका छन् । एमसीसीभन्दा बाहेकका अन्य क्षेत्रका उन्नति र विकासका लागि अमेरिकाले जति धेरै मात्रामा सहयोगको हात बढाउँछ उति नै हामी उसकै फन्दामा फस्दै जान थाल्नेछौँ । यो फसाइ अन्त्यमा गएर पक्षघातको रुपमा विकसित हुन पुग्छ । यो पक्षघातले हाम्रो परनिर्भरता सम्पूर्ण रुपमा बढेर जान सक्छ । हामी अरुको बैसाखी नटेकी एक पाइला पनि अगाडि बढ्न सक्ने अवस्थामा रहँदैनौँ । उसले हामीलाई खुवाएको जस्तो, लाउन दिएको जस्तो नाटक रचना गर्दै रहन्छ ।

उसको त्यो नक्कली नाटक हामी हेर्दै र आनन्द मानेर बस्दै हुन्छौँ । तर हाम्रो मनभित्र भने दबाबको असह्य पीडाले कोपरिरहेको हुन्छ । आजको दिनमा एमसीसी अनुमोदन गराउन ज्यान दिएर लाग्ने हाम्रा नेताहरु त्यस बेलासम्म जीवितै रही स्वदेशमै बसेका रहेछन् भने आज करोड नेपाली जनताले एमसीसी अनुमोदनको विपक्षमा गरेको आन्दोलन र सङ्घर्षलाई झलझली सम्झने र पश्चात्तापका आँसुका थोपा खसाएर बस्नेछन् । तर त्यस बेला खसाएको आँसु भनेको केवल ‘लगनपछिको पोते के काम’ भन्ने उखानसँग ठ्याक्कै मिल्दो हुनेछ ।

प्रतिक्रिया दिनुहोस्