दक्षिण एसियाली महिला तथा बालबालिका सम्मेलन नेपालमा सुरु

0
Shares

काठमाडौं  । 
एक्काइशौं शताब्दीको समाजमा पनि महिला र बालबालिकाले शोषण र हिंसा भोगिरहनुपर्ने अवस्था आउनु दुखद रहेको उपराष्ट्रपति नन्दबहादुर पुनले बताएका छन् ।
राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय महिला आयोग, महिला गैरसरकारी संस्था महासंघ र एभ्री वुमन संस्थाको संयुक्त आयोजनामा मंगलबारबाट काठमाडौंमा सुरु भएको दक्षिण एसियाली महिला सम्मेलनको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले घरेलु हिंसाबाट पीडितमध्ये ७० प्रतिशत महिला आफन्तबाटै घरेलु हिंसाको सिकार हुनुपरेको बताउनुभयो ।
अशिक्षा, अज्ञानता, बेरोजगारी, गरिबी  र विभिन्न प्रकारका द्वन्द्व, जलवायु परिवर्तन, कोरोना महामारीका कारण विश्वमा महिलामाथि विभिन्न प्रकारका हिंसा बढेको बताउँदै उपराष्ट्रपति पुनले विभिन्न मुलुकबिचको अन्तर्राष्ट्रिय रूपकै सहकार्यबाट मात्रै विश्वबाट महिला हिंसाका घटनाहरू न्यूनीकरण गर्न सकिने जनाउनुभयो ।  नेपालको संविधानले सुनिश्चित गरेको महिला तथा बालबालिकाको हक कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुहुँदै उहाँले यस सम्मेलनले महिला शसत्तिकरण र महिला तथा बालबालिकामाथिको हिंसा अन्त्यका लागि दक्षिण एसियाबाट पहलकदमी सुरु गर्ने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका  अध्यक्ष तपबहादुर थापा मगरले महिला र बालबालिकामाथिको हिंसा अन्तर्राष्ट्रिय रूपमै व्याप्त भएकाले यसको न्यूनीकरणमा अन्ताराष्ट्रिय रूपमै पहल जरुरी रहेको उल्लेख गर्नुभयो । महिला र बालबालिकामाथि हुने हिंसा विरुद्ध विभिन्न कानुन बने पनि तीनको प्रभावकारी कार्यान्वयनका लागि सरकारका निकायले आआफ्नो भूमिकालाई अझै बढाउनुपर्ने बताउनुभयो । महिला र बालबालिकामाथिको हिंसा भनेको मानव अधिकारको उल्लङ्घन भएकाले यसको अन्त्यको लागि मानवअधिकार आयोग कटिबद्ध रहेको बताउनुभयो ।
नेपालको राजनीतिक, सामाजिक, आर्थिक लगायतका क्षेत्रमा महिला सहभागिता बढे पनि महिलामाथिको हिंसा पनि बढेको राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले बताउनुभयो । महिला तथा बालबालिकामाथिको हिंसामा पनि पछिल्लो समय यौनजन्य हिंसा बढेको बताउँदै राज्यले बनाएको नीति नियमको प्रभावकारी कार्यान्वयन हाम्रो चुनौती बनेको कुरा उहाँले औँल्याउनुभयो ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिली थापाले महिला तथा बालबालिका माथि भएका हिंसा मानव अधिकारको हनन भएकाले यस्ता हिंसालाई अन्तर्राष्ट्रिय रूपमै सम्बोधन गरी  न्यूनीकरणमा सबैले एक्येवद्धता जनाउनु जरुरी रहेको बताउनुभयो ।  कार्यक्रमका मुख्य बक्ता भारतीय मानवअधिकारकर्मी एवं वातावरणविद् डा.वन्दना शिवाले महिलाहरू आर्थिक रूपमा सशक्त हुन सके कुनै पनि हिंसा सहेर बस्न नपर्ने बताउनुभयो । कुनै पनि महिला र बालबालिकामाथिको हिंसा भनेको समाजमाथिकै हिंसा रहेको जनाउँदै अधिकारकर्मी डा. शिवाले यसको अन्त्यका लागि एक विश्वव्यापी नीति नियमको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।
दक्षिण एसियाकी प्रसिद्ध लेखक एवं भारतीय महिला अधिकारकर्मी मिरा खन्नाले विश्वमै महिला तथा बालबालिकामाथिको हिंसा बढिरहे तापनि नीति निर्माण तहको व्यक्तिको अझै पनि ध्यान जान नसकेको कुरा ल्याउनुभयो । उहाँले सम्मेलन दक्षिण एसियाली मुलुकहरूमा महिला हिंसा न्यूनीकरण गर्न बनेका कानुनहरू समयअनुसार परिमार्जन हुनु जरुरी रहेको औँल्याउनुभयो । कार्यक्रममा सार्कका महासचिव इसाला रुवान विराकुनले विभिन्न किसिमका विभेदले नै महिलामाथिको हिंसा निम्त्याएको बताउँदै सार्कले महिला तथा बालबालिका हिंसा अन्त्य र लैंगिक समानतालाई प्राथमिकतामा राख्ने बताउनुभयो ।
बुधवारसम्म चल्ने दुई दिने सम्मेलनमा दक्षिण एसिया, अमेरिकालगायतका महिला अधिकारकर्मी, लेखक, मानव अधिकारकर्मीहरुले विभिन्न विषयमा कार्यपत्रहरू प्रस्तुत गर्ने कार्यक्रम रहेको दक्षिण एसियाली महिला पत्रकार सञ्जाल नेपालका अध्यक्ष निर्मला शर्माले जानकारी गराउनुभयो ।सम्मेलनको पहिलो दिनको दोस्रो सत्रमा महिला तथा किशोरीमाथिको हिंसा न्यूनीकरणमा सरकारी एवं गैरसरकारी संस्थाले के गरिरहेको छ र के गर्दा बढी प्रभावकारी हुन्छ भन्ने विषयमा अफगानिस्तान, बंगलादेश, नेपाल, भारत, पाकिस्तान, श्रीलंकाका प्रतिनिधिले आ आफ्नो धारणा राख्नुभएको थियो ।
राष्ट्रिय योजना आयोगकी सदस्य सलोनी सिंहको सभापतित्वमा संचालित कार्यक्रममा नेपालको तर्फबाट महिला गैरसरकारी संस्था महासंघकी अध्यक्ष शशी अधिकारीले नेपालमा व्याप्त विभिन्न हिंसालाई न्युनिकरण गरी यस विरुद्ध विश्वव्यापी पहल आवश्यक रहेको बताउनुभयो ।  प्रधानमन्त्री कार्यालयका सहसचिव कोसल चन्द्र सुवेदीको अध्यक्षतामा सम्पन्न दोस्रो सत्रमा जलवायु परिवर्तन र महिला विरुद्धको हिंसा, कोभिड र बढ्दो हिंसा, दिगो विकास लक्ष्य हासिल गर्न महिला तथा किशोरीविरुद्धको हिंसा सम्बोधन जरुरी, महिला विरुद्ध हिंसामा वैश्विक दृष्टिकोणलगायतका विषयमा प्रकाश पारिएको थियो ।
सम्मेलनको दोस्रो दिनमा युद्धले हिंसा बढाउँछ, सिड, महिला र किशोरीविरुद्धको हिंसाले स्वास्थ्यमा असरलगायतका विषयमा विभिन्न विज्ञको प्रस्तुति रहेको आयोजक संस्थाले जनाएको छ ।