विभेद गर्नेलाई दुई महिना कैद सजाय



डोटी, (नेस) ।

उच्च अदालत दिपायल राजपुरले कैलालीको धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई जातीय विभेद हुने गरी अभिव्यक्ति दिने व्यक्तिलाई दुई महिना कैद सजाय सुनाएको छ । कैलाली बोराडाडीका ओमप्रकाश पाण्डेले सामाजिक सञ्जालमार्फत जातीय विभेद हुने गरी अभिव्यक्ति दिएको भन्दै उहाँलाई उच्च अदालतले दुई महिना कैद सजाय सुनाएको हो ।

उच्च अदालत दिपायलका कायममुकायम मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश सागर विष्टको संयुक्त इजलासले यस्तो सजाय गरेको थियो । प्रतिवादीले अदालतसमक्ष गल्ती महसुस गरेको अवस्थालाई ध्यानमा राख्दै न्यूनतम सजाय गर्दा समेत न्यायको मकसद पूरा हुने हुँदा उक्त सजाय गरेको उच्च अदालतले जनाएको छ ।

२०७७ साल वैशाख २७ गते पाण्डेले फेसबुक पेजमार्फत धनगढी उपमहानगरपालिकाका प्रमुख वडलाई लक्षित गर्दै ‘जात करे उत्पात भनेको यही हो’ भन्दै सामाजिक सञ्जालमा लेखेका विषयमा जातीयरूपमा विभेद गरेको भन्दै उजुरी परेको थियो । तत्कालीन समयमा पतिराम सोवसहित चार जनाले पाण्डेविरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दिएका थिए । सोही मुद्दामा कैलाली जिल्ला अदालतले २०७७ मंसिर ३० गते प्रतिवादी पाण्डेलाई ५ सय रुपियाँ जरिवाना मात्र गरेको थियो ।

उच्च अदालत दिपायलले जिल्ला अदालतको फैसला उल्टाउँदै प्रतिवादीलाई दुई महिना कैद र २० हजार रुपियाँ जरिवानाको सजाय सुनाएको हो । कैलाली जिल्ला अदालतले पुरानो कानुनी व्यवस्था प्रयोग गरी गरेको फैसला त्रुटिपूर्ण भएको इजलासको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्