भन्सार कार्यालयका सवारीसाधन कवाडी बन्दै

छैन सवारीसाधनको यकिन गर्न सक्ने विवरण



राजविराज ।

सप्तरीको राजविराज भन्सार कार्यालयको लापरबाहीका कारण सरकारी सम्पत्तिका रूपमा रहेका करोडौं रुपियाँ मूल्य बराबरका सवारीसाधन थन्किएर कबाडी बन्दै गएका छन् । कार्यालयले विगत १० वर्षदेखि लिलामी प्रक्रिया अघि बढाउन नसक्दा यस्तो अवस्था आएको हो ।

जफत गरिएका सवारीसाधन लिलाम गर्नुपर्ने हुन्छ । तर, भन्सार कार्यालयमा रहेका ट्रक, स्कार्पिओ, कार, ट्याक्टर, भ्यान, अटो रिक्सा, मोटरसाइकलसहितका सवारीसाधन थोत्रिने अवस्थामा पुगेका हुन् । भन्सार कार्यालयले २०६८ सालदेखि नै लिलामी प्रक्रिया अघि बढाउन सकेको छैन ।

‘भन्सार कार्यालयले लिलामी गर्न नसक्दा सवारीसाधन थोत्रिने अवस्थामा पुगेका छन् भने कतिपयको पार्टपूर्जासमेत थोत्रा भएर कामै नलाग्ने अवस्थामा पुगेको छ’, राजविराज नगरपालिका–७ का स्थानीय सुखराम यादवले भन्नुभयो– ‘सवारीसाधन थोत्रिँदा त्यसको लिलामीका लागि मूल्यांकन पनि घट्दै गइरहेको छ । करोडौं रुपियाँ राजस्वसमेत गुम्ने खतरा बढेको छ ।’

यद्यपी, भन्सार कार्यालयले लिलामी प्रक्रियामा लैजानुपर्ने सवारीसाधनलाई बेवास्था गर्दै आउनु दुःखद् विषय रहेको उहाँको भनाइ छ । ‘यतिका वर्षसम्म लिलामी गर्न नसक्नु कर्मचारीकै कमजोरी देखिन्छ,’ तिलाठी कोइलाडी गाउँपालिका–७ का केशवकुमार मण्डल भन्नुहुन्छ– ‘कर्मचारीहरु जिम्मेवार भएर सवारीसाधन लिलाम गर्नतिर लाग्नुपर्ने हो, तर त्यसो गरेको दखिँदैन ।’

विवरणसमेत छैन
राजविराज भन्सार कार्यालय परिसरमा करिब ४ सयभन्दा बढी मोटरसाइकल र दुई दर्जनभन्दा बढी चारपांग्रे सवारीसाधन थुपारिएको छ । यद्यपी, कार्यालयसँग ती सवारीसाधनको यकिन गर्न सक्ने विवरणसमेत छैन ।

अहिले सवारीसाधनको विवरण तयार गर्ने कार्य भइरहेको र त्यसपछि लिलामी प्रक्रिया अघि बढाइने भन्सार अधिकृत दीपेन्द्रकुमार झा बताउनुहुन्छ । ‘यसअघिका कर्मचारीले लिलामी प्रक्रिया अघि बढाउनुपर्ने थियो तर विवरण पनि तयार गरिएको रहेनछ’, उहाँले भन्नुभयो– ‘जनशक्ति अभावका कारण भन्सारले बुझेका सवारीसाधनको लिलाम प्रक्रियामा समय लागेको हो । लिलामी प्रक्रिया अघि बढाउनेतर्फ काम गरिरहेका छौं ।’

प्रतिक्रिया दिनुहोस्