स्थानीय तह निर्वाचन : यी हुन् कांग्रेसबाट वेलकोटगढीमा मेयरका आकांक्षीहरू



काठमाडौं ।

सरकारले स्थानीय तहको चुनाव आगामी वैशाख ३० गते तोकेपछि लोकतान्त्रिक पद्दति स्वीकार्ने सबै पार्टीहरू स्थानीय तहको चुनावमा होमिएका छन् । सरकारको नेतृत्व गर्ने मुख्य साझेदार दल नेपाली कांग्रेसले आफ्नो एकमहिने विशेष चुनावी अभियान ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ लिएर गाउँ–नगर पसेपछि चुनाव तोकिएकै मितिमा हुने सुनिश्चितता बढेको छ ।

राजधानी काठमाडौंसँग सीमाना जोडिएको नुवाकोट जिल्लाका डा. प्रकाशशरण महत, डा. रामशरण महत, अर्जुननरसिंह केसी र बहादुरसिंह लामा तामाङ कांग्रेसको केन्द्रीय राजनीतिमा भएको र उनीहरूले जिल्लामा गुटगत राजनीतिलाई सक्रिय राखिरहेकै कारण नुवाकोट राजनीतिको विशेष चर्चामा रहन्छ । गुटैगुटले जकडिएको नुवाकोट कांग्रेसले स्थानीय निर्वाचनमा कसलाई टिकट दिन्छ भन्ने विषयले यतिखेर स्थानीय राजनीति गर्माएको छ ।

दुई नगरपालिका र दश गाउँपालिका गरी कुल बाह्र पालिका रहेको नुवाकोटमा यसअघि सातवटा गाउँपालिका कांग्रेसले जितेको थियो भने दुई नगरपालिकासहित कुल तीन पालिका एमालेको पोल्टामा र दुई गाउँपालिका माओवादीको झोलीमा परेको थियो । यसपालि एमालेमा फुट आएको र माओवादीको संगठनमा धमिरा लागेकाले पनि कांग्रेसलाई स्थानीय निर्वाचन यहाँ सहज हुने आँकलन गरिएको छ ।

नुवाकोटका १२ स्थानीय तहमै कांग्रेसका तर्फबाट कसले टिकट पाउने भन्ने कुराले स्थानीय राजनीतिवृत्त गर्माएको बेला राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने नेताहरू कम भएको मानिएको बेलकोटगढी नगरपालिकामा कांग्रेसबाट नगरपालिका प्रमुख (मेयर) का आकांक्षीहरू असरल्ल देखिन थालेका छन् । नेपाल समाचारपत्रले जिल्लाका र केन्द्रका विभिन्न नेताहरूसँग गरेको कुराकानीको आधारमा कांग्रेसका तर्फबाट सम्भावित दाबेदारहरू :

 

किरण गजुरेल
कांग्रेसको ‘स्थानीय तह समन्वय विभाग’का पूर्व केन्द्रीय सदस्य रहिसकेका बेलकोटगढी–१० का किरण गजुरेल युवाहरूको रोजाइमा पर्ने मुख्य पात्र हुन् । युवा नेतृत्व खोजिरहेको समाजको लागि गजुरेल उपयुक्त पात्र बन्न सक्छन् । अहिले प्रधानमन्त्री शेरबहादुर देउवाका ‘भाषण, मन्तव्य तथा वक्तव्य विज्ञ’ गजुरेल स्वाभाविक रूपले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवासँग निकट छन् । त्यसकारण पनि उहाँ सभापति देउवाकै टिमबाट केन्द्रीय सदस्य जितेका नुवाकोटका बहादुरसिंह लामा तामाङ र देउवाले नै मनोनीत गरी पार्टी प्रवक्ता बनाएका डा. प्रकाशशरण महत निकट रहेको बुझिन्छ ।

सरकारको नेतृत्व र कांग्रेसको केन्द्रीय राजनीतिसँग प्रत्यक्ष रूपमा जोडिएका गजुरेलले आफ्नो सम्बन्धलाई नगरपालिकाको हितमा उपयोग गर्न सक्ने बुझाइ बेलकोटबासीमा रहेको पाइन्छ । गजुरेलको तुलनामा अन्य चर्चामा रहेका उम्मेदवारको केन्द्रीय नेतृत्वसँग सिधै सम्पर्क हुन नसक्ने भएकाले बेलकोटवासीको मुख्य रोजाइमा गजुरेल पर्ने अधिक सम्भावना रहेको हो । गजुरेल ‘भाषण–वक्तव्य’ विज्ञ रहेकाले पनि नेपाली कांग्रेसका तर्फबाट चर्चामा रहेका अरू उम्मेदवारको तुलनामा अन्य पार्टीका उम्मेदवारसँग वैचारिक–राजनीतिकलगायतका विषयमा खरो बहस र मुकाविला गरी जतमतलाई आफ्नो पक्षमा ढाल्न सक्ने क्षमता रहेको बुझिन्छ । गजुरेलले गणित मूल विषय लिई स्नातक तथा राजनीतिशास्त्र र समाजशास्त्रमा स्नाकोत्तरसम्मको पढाइ पूरा गरेका छन् ।

यादव नेपाल
नेपाल विद्यार्थी संघको राजनीतिबाट उदाएका बेलकोटगढी–५ का यादव नेपाल २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट बेलकोटगढी नगरपालिकाको मेयरका उम्मेदवार हुन् । उनले यसअघि बेलकोटगढी नपाको मेयरमा तेस्रो मत पाएका थिए । नेपाल यस अघिपनि टिकट पाइसकेकाले स्वभाविक रूपमा पुनः मेयरका दाबेदार हुन् । महत पक्षधर नेपाल हाल नेपाली कांग्रेसका जिल्ला सहसचिव छन् ।

पहिले होटल व्यवसाय गर्ने नेपाल अहिले निर्माण व्यावसायी हुन् । खरो स्वभावका नेपाल बेलाबखत आफ्नै बोलीका कारण चर्चामा आउने स्थानीय कांग्रेस कार्यकर्ताहरू बताउँछन् । नेपाल गत निर्वाचनमा आफू मेयरमा पराजित भएपछि कांग्रेसका धेरै स्थानीय नेताहरूलाई आफूलाई असहयोग गरेको भन्दै कारबाहीका लागि पार्टीमा मुद्दा हालेर चर्चामा आएका थिए ।

प्रतापसिंह लामा
बेलकोटगढी–९ का प्रतापसिंह लामा १२औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि र बारम्बार कांग्रेस जिल्ला सदस्य भइसकेका व्यक्ति हुन् । लामा यसअघि कांग्रेसका तर्फबाट बेलकोटगढीको मेयरमा टिकट लगेर पनि टिकट खोसिएका व्यक्ति भएकाले पनि उहाँ मेयरका प्रवल दावेदार हुन् । निर्वाचनको मनोनयन दर्ताको अन्तिम समयमा लामाको नाममा आएको टिकट फिल्मी शैलीमा यादव नेपालको नाममा परिवर्तन भएको काग्रेसका शीर्ष नेता अर्जुननरसिंह केसी पक्षधरहरू बताउँछन् । केसी पक्षनिकट मानिने लामाले जनताको सुख दुःखमा साथ दिने गरे तापनि मञ्चमा बोल्न लजाउने स्वभाव रहेको बुझिन्छ ।

वैकुण्ठबहादुर पाण्डे
२०५४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट बेलकोट गाविसमा उम्मेदवार बनेका र काका निर्मलजंग पाण्डेको विरासतको राजनीतिबाट उदाएका बेलकोटगढी–११ का वैकुण्ठबहादुर पाण्डे कांग्रेसको नुवाकोट क्षेत्र नं. २, प्रदेशसभा (क) का प्रदेश सभापति पनि हुन । यसअघि पाण्डे महाधिवेशन प्रतिनिधि र नुवाकोटका जिल्ला सदस्य थिए । डा. रामशरण महत पक्षका पाण्डे पार्टी प्रवक्ता डा. प्रकाश शरण महतसँग नाता जोडिएकाले पनि बेलकोटगढीका मेयर पाउनेमा ढुक्क देखिन्छन् ।

शिव दाहाल
विद्यार्थी राजनीतिबाट उदाएका केसी पक्षधर मानिने बेलकोटगढी–८ का शिव दाहाल मेयरका अर्का प्रबल दाबेदार हुन् । उहाँ जगदीश नरसिंह केसीका विश्वास पात्रसमेत हुन् । दाहाललाई यसअघि नुवाकोट कांग्रेसको सचिवमा केसीले मनोनीत गर्नुभएको थियो । जिल्ला सचिव हुँदा पनि छायामा परेका दाहालले उल्लेखनीय काम भने गर्न नसकेको बताइन्छ । अहिले कांग्रेसभित्र मोलाएको गुटगत परिस्थितिले गर्दा उहाँले मेयरको टिकट पाउन सक्ने आँकलन स्थानीय कांग्रेस कार्यकर्ताहरूको दाबी छ ।

अक्कलबहादुर ढुंगाना (श्याम)
बेलकोटगढी– १३ का अक्कल बहादुर ढुंगाना (श्याम) मेयरका अर्का आकांक्षी हन् । लामो राजनीतिक पृष्ठभूमि नभएका ढुंगाना बेलकोटगढी–काठमाडौं सम्पर्क समितिका अध्यक्षका रूपमा छोटो समयमै चर्चामा आएका व्यक्ति हुन् । केसी पक्षधर ढुंगाना यसअघि कांग्रेसको नुवाकोट क्षेत्र नं. २, प्रदेशसभा (क) का प्रदेश सभापतिका प्रत्यासी हुन् । ढुंगाना सिसाका हस्तकला जन्य सामग्रीहरूको उत्पादन तथा व्यवसाय गर्नुहुन्छ ।

यस्तै, अन्य आकांक्षीहरूमा महत तथा बहादुरसिंह लामा पक्षबाट होटल तथा पर्यटन व्यावसायी समेत रहेका बेलकोटगढी–१३ का कृष्णप्रसाद पाण्डे, नेपाल विद्यार्थी संघको राजनीतिबाट उदाएका र कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका बेलकोटगढी–७ का दीपक लामा, नेविसंघको पूर्वसहमहामन्त्री तथा कांग्रेसको वागमती प्रदेश सदस्य बेलकोटगढी–३ का बद्रीप्रसाद मुडभरी, महाधिवेशन प्रतिनिधि बेलकोटगढी–८ का जयराम दाहाल, नेपाल रेडक्रस सोसाइटीका तदर्थ समिति उपाध्यक्ष बेलकोटगढी–८ का विष्णुप्रसाद नेपाललगायत छन् ।

साथै केसी पक्षबाट थप आकांक्षीहरूमा महासमिति सदस्य बेलकोटगढी–८ का प्रकाश राई, बेलकोटगढी–७ का एसके नेपाल, बेलकोटगढी–५ का इन्द्र लामा, बेलकोटगढी–३ का पूर्णप्रसाद गजुरेल र बेलकोगगढी–३ का लेखनाथ मुडभरीलगायत रहेको बताइएको छ । मुडभरी बेलकोगटढी नगर इकाइका सभापतिसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस्