कांग्रेसको चुनाव केन्द्रित रणनीति : १० घर, ५० जनाको सम्पर्कमा रहन निर्देशन



काठमाडौं, (नेस) ।

प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसले वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि सबैभन्दा तल्लो तहसम्मको संरचनालाई परिचालन गरेको छ । कांग्रेसको केन्द्रीय कार्यालयले परिपत्र गर्दै टोल कार्यसमितिका प्रत्येक सदस्यले प्रत्येक दिन कम्तीमा १० घर र ५० जनासँग सम्पर्क गर्नुपर्ने निर्देशन दिएको छ ।

‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ भन्ने एक महिने अभियान सञ्चालन गरिरहेको कांग्रेसले केन्द्रदेखि टोल तहसम्मको पार्टी संरचना तथा नेतृत्वलाई जिम्मेवारीपूर्वक परिचालन गरिरहेको छ । सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको कांग्रेसले विशेष अतिथिको रूपमा शीर्ष एवं प्रभावशाली नेताहरू जिल्ला दौडाहामा पठाएर आक्रमक ढंगले पार्टीलाई चुनावी माहोलमा होमिरहेको छ ।

पार्टीले यही फागुन २३ गते नै देशभरको सबै वडामा पठाएको परिपत्रमा उल्लेख छ– ‘टोल कार्यसमितिका सदस्यलाई निश्चित घर (१० वटा घर) या मतदाता संख्या (५० मतदाता) बाँडफाँट गरी ती मतदातासँग नियमित भेटघाट गर्ने, दुःखसुखमा सामेल हुनेलगायतको जिम्मेवारी दिने ।’

त्यसै गरी परिपत्रमा वडा कार्यसमितिलाई निर्वाचन केन्द्रित रणनीति तर्जुमा गर्न सहज हुने गरी टोल कार्यसमितिले आफ्नो क्षेत्रभित्रका कांग्रेस सदस्यहरूको विवरण, दाताको विवरण, नयाँ मतदाताको अद्यावधिक विवरण टिप्न घरदैलोमा पुग्ने, समस्या सुन्ने, संवाद गर्ने लगायतका काम गर्नुपर्ने पनि उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्