१७ घण्टा बाँधेर सिस्नोपानी लगाइयो

घरभित्र छिरेको निहुँमा दलित समुदायकी बालिकामाथि चरम यातना



रामेछाप ।

घरभित्र छिरेको निहुँमा दलित समुदायकी बालिकालाई चरम यातना दिइएको छ । रामेछाप मन्थली नगरपालिका–६ भलुवाजोरमा १३ वर्षीय सरिता नेपालीलाई घरभित्र छिरेको निहुँमा २१ घण्टासम्म डोरीले थाममा बाँधेर चरम यातना दिएको हो ।

गैरदलित समुदायको घरभित्र छिरेको निहुँमा स्थानीय देवीस्थान आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत नेपालीलाई सोही स्थानका ६३ वर्षका शेरबहादुर श्रेष्ठले नेपालीलाई हात र कम्मरमा नाम्लोले बाँधेर घरको दलिनमा चार घण्टासम्म झुन्ड्याएको पीडित बालिकाले बताउनुभयो ।

त्यसपछि १७ घण्टा घरको थाममा बाँधेर सिस्नो लगाई कुटपिट गरिएको पीडितको आरोप छ । बालिकालाई सोमबार अपराह्न चार बजेदेखि मंगलबार मध्याह्न १२ बजेसम्म नियन्त्रणमा लिई बाँधेर यातना दिइएको थियो ।

दलित समुदायको भएर घरभित्र पसी दही चोरेर खाएकाले बाँधेर राखेको पीडक शेरबहादुर श्रेष्ठले बताउनुभयो । उहाँले आफ्नो घरमा रुद्री लगाउने खर्च व्यहोर्नुपर्ने माग राख्नुभएको छ ।

बालिकालाई बाँधेर राखेको थाहा पाएपछि यातना नदिन र तत्काल छोड्न आग्रह गर्दा नमानेको वडा सदस्य भक्तमाया श्रेष्ठले बताउनुभयो । श्रेष्ठ दम्पतीले बालिकालाई बाँधेर लगातार कुटपिट गरेको उहाँले बताउनुभयो ।

बालिकालाई बाँधेर लगातार कुटपिट गरेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । मंगलबार मध्याह्न १२ बजे प्रहरी पुगेर पीडित बालिकाको उद्धार गरेको छ । प्रहरी पुगेर बालिकालाई बन्धनबाट फुकाएर बन्धनमुक्त गराएको हो ।

पीडक शेरबहादुर श्रेष्ठलाई मंगलबार नै प्रहरीले नियन्त्रणमा लिएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण गरी आवश्यक भए उपचारमा पठाउने र नभए परिवारको जिम्मा लगाएर पीडकमाथि कारबाहीको प्रक्रिया अघि बढाउने जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार थिङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्