ललितपुर कांग्रेसमा चिरिबाबुसँगै भरतलाल र प्रेमकृष्णको चर्चा



ललितपुर ।

ललितपुर महानगरपालिकाको मेयरको उम्मेदवारको प्रबल दाबेदारका रूपमा बहालवाला मेयर चिरिबाबु महर्जनसँगै नेपाली कांग्रेसभित्र भरतलाल न्याछ्यों र प्रेमकृष्ण महर्जनको चर्चा चलेको छ ।

बहालवाला मेयर चिरिबाबु महर्जनको सोच, शैली, संस्कार र कार्यसम्पादनको विरोध गर्दै त्यसको विकल्पका रूपमा यी दुई जनाले आफूलाई प्रबल दाबेदारको रूपमा अघि सारेका छन् । कांग्रेसभित्र अबको मेयरको उम्मेदवारका लागि पार्टीको जिल्ला, क्षेत्र, नगर र वडाको इकाइ समितिमा पनि दुवैको नाम प्रखर रूपमा आएको छ ।

स्थानीय तहको निर्वाचन घोषणा हुनु अगाडिदेखि नै मेयरको उम्मेदवारीका लागि न्याछ्यों र महर्जनले विभिन्न समूह, तह र तप्कासँगै औपचारिक र अनौपचारिक भेटघाट गर्दै आउनुभएको छ । उहाँहरू दुवैले कांग्रेसको पार्टी सभापति शेरबहादुर देउवादेखि सबै पदाधिकारी र केन्द्रीय नेतासँग भेटेर मेयरको उम्मेदवारका लागि आआफ्नो दाबी प्रस्तुत गरिसकेको बताइएको छ ।

न्याछ्यों ललितपुर जिल्लामा पूर्वमन्त्री ओमकारप्रसाद श्रेष्ठपछिको सबैभन्दा पुराना र बौद्धिक नेता हुनुहुन्छ । २०३६ सालको जनमत संग्रहताका पूर्वप्रधानमन्त्री बीपी कोइरालाको भाषण सुनेर आफू प्रजातान्त्रिक आन्दोलनमा लागेको बताउने न्याछ्यों २०४९ साल असोज २० गते कांग्रेस जिल्ला कार्यसमितिको सहसचिव, पार्टीको नवौं महाधिवेशनपछि २०५२ साल र १२औं महाधिवेशनपछि २०६७ सालमा गरी दुईपटक नगरसभापतिसमेत भइसक्नुभएको छ ।

पार्टीको १३ र १४औं केन्द्रीय महाधिवेशनमा उहाँ प्रतिनिधिको भूमिकामा रहनुभएको थियो । उहाँ भन्नुहुन्छ– ‘कांग्रेसको राजनीतिमा निरन्तर लागिरहेको छु । अहिलेसम्म कुनै लाभको पद लिएको छैन । पार्टीमा गरेको त्याग, संघर्ष र क्षमतालाई हेरेर यसपटक आफ्नो मूल्यांकन हुनेमा म विश्वस्त छु ।’

न्याछ्यों यसअघिको स्थानीय तहको निर्वाचनमा पनि पार्टीभित्र मेयरको लागि प्रबल दाबेदार हुनुहुन्थ्यो । स्थानीय निकाय जनप्रतिनिधिविहीन हुँदाको लामो समय सर्वदलीय संयन्त्रमा रहेर न्याछ्योंले निर्वाह गर्नुभएका भूमिकाले मेयरको उम्मेदवारको स्वतः दाबेदारका रूपमा पार्टीभित्र नेता र कार्यकताले लिएका थिए ।

अर्का दाबेदार महर्जन २०४८ सालदेखि नै पार्टीभित्र निरन्तर सक्रिय हुनुहुन्छ । महर्जन २०५४ सालको स्थानीय निकायको निर्वाचनमा उपमेयरको उम्मेदवार र २०७४ सालमा भएको प्रदेशको निर्वाचनमा ललितपुर क्षेत्र नं २ ‘ख’ को उम्मेदवार हुनुहुन्थ्यो ।

महर्जनले आफू मेयर भएमा ललितपुरको भूगोल र सामथ्र्यअनुसार विकास गर्ने, यहाँका कला संस्कृति र सम्पदाको संरक्षण गर्ने, स्थानीय सरोकारवालावालासँग मिलेर विकास गर्ने एजेन्डा अघि सार्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्