वीरबहादुर बम,मुगु ।
सदरमुकाम गमगढीबाट ३० कोष टाढाको पुलु खाद्य डिपोमा चामल रित्तिएको लामो समय हुँदा पनि यो वर्ष सुनाई भएन। गत वर्ष चैत पहिलो साता पहिलोपल्ट चामल ढुवानी भएको थियो भने अघिल्लो वर्ष वैशाखमा मात्र चामल आएको थियो ।
‘स्थानीय उत्पादनले एक महिना पनि खान पुग्दैन,’ स्थानीय टासी लामाले भने, ‘भिरालो र चिसो ठाउँ भएकाले वर्षमा एक बाली मात्र पाक्छ, त्यसमा पनि खाद्यको चामल नआउँदा वर्षैभरि खाद्य अभाव भोग्न बाध्य छौँ ।’ चालु आर्थिक वर्षका लागि १४ सय क्विन्टल चामल स्वीकृत भएकोमा २ सय क्विन्टल मात्र ढुवानी भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ । एक महिनाअघि पुगेको चामल ठेकेदारले डिपोमा पुर्याएकै दिन सकियो ।
पुलु डिपोमा खाद्यान्न नभएपछि स्थानीयवासी व्यापारीको महँगो चामल किनेर खान बाध्य भएको गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । ‘यहाँका बासिन्दाको ठुलो चाड ग्याल्बो ल्होसारमा पनि चामल भएन,’ उनले भने, ‘डिपोमा चामल नआउँदा ऋण कारेरै भए पनि स्थानीयवासी बजारको चामल किन्न बाध्य छन् ।’ गाउँपालिकाका १२ वटा बस्तीका स्थानीयले एक महिनासम्म ग्याल्बो ल्होसार मनाउने चलन छ ।
डिपोका लागि गमगढीबाट ७ सय र सुर्खेतबाट १ हजार क्विन्टल चामल पुर्याउने गरी ठेकेदारले जिम्मा लिएका छन् । गमगढीदेखि छाइलसम्म ट्र्याक्टरमार्फत ढुवानी हुने चामल पुलुसम्म खच्चड मार्फत ढुवानी गरिन्छ । सडक सुविधा नहुँदा ठेकेदारले बर्सेनि चामल पुर्याउन लापरबाही गर्ने गरेको अध्यक्ष लामाले बताए । ‘भौगोलिक विकटता र उत्पादन कम हुँदा स्थानीयवासी बाह्रै महिना खाद्यकै चामल खान बाध्य छन्,’ उनले भने, ‘तर डिपो सधैँ रित्तो हुन्छ ।’ एक त कोटा नै कम स्वीकृत हुने र कोटाअनुसारको चामल नआउने गरेको उनको भनाइ छ ।
करिब १२ सय घरधुरी र ७ हजार जनसङ्ख्या भएको गाउँपालिमा सरकारले वार्षिक १४ सय क्विन्टल मात्र चामलको कोटा तोक्दा सधैँ अपुग हुने गरेको हो । स्थानीय हजी लामाले एउटा परिवारले वर्षमा एक क्विन्टल चामल पनि मुस्किलले पाउने बताए ।
खाद्यमा ५८ रुपैयाँ प्रतिकिलो पाइने मोटो चामलको मूल्य ग्रामीण क्षेत्रमा ३ सय रुपैयाँसम्ममा किन्नुपर्ने बाध्यता छ । धान उत्पादन नहुने पुलु डिपोका बस्तिमा ३ महिना मात्र सम्पन्न परिवारलाई आफ्नो उत्पादन ले मुस्किलले धान्ने गर्दछ तयसमा पनि कोदोको रोटी र चिनुको भात खाएर धान को भात पाउनै मुस्किल हुन्छ स्थानीय गाराटँसि लामा बताउँछन् ।
प्रतिक्रिया