लोकप्रिय युवा शटलर प्रिन्स



काठमाडौं ।

सानो उमेरमै लोकप्रिय हुने अवसर कमैलाई हुन्छ । प्रिन्स दाहालले घरेलु स्तरमा मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमै मारेको छलाङ अविश्वसनीय छ । ब्याडमिन्टनका प्रिन्स जुनियर विश्व वरीयताको नम्बर एक खेलाडी हुन् । यसअघि, नेपालका कुनै पनि खेलाडीले कुनै पनि खेलमा यो सफलता कहिल्यै पाएका थिएनन् ।

नेपाली ब्याडमिन्टन विरासतलाई उँचो पार्ने प्रिन्सको यो सफलता नेपाली खेलकुदले कसरी ग्रहण गर्छ, त्यो फरक पाटो हो । तर, अहिलेका लागि १७ वर्षीय प्रिन्स सम्पूर्ण उदियमान खेलाडीको प्रेरणा हुन् ।

सन् २०१८ मा दुबई इन्टरनेसन सिरिजमा यू–१५ मा स्वर्ण जित्नुअघि प्रिन्सले ब्याडमिन्टन खेल्न थालेको आधा दशक भइसकेको थियो । अर्थात् उनी सानै उमेरदेखि व्यावसायिक खेलाडीका लागि विकास गरिएका बालक हुन् ।

९ वर्षको उमेरमै प्रिन्सले राष्ट्रिय र्याङकिङ प्रतियोगितामा सहभागिताको साहस गरेका थिए । उनको निरन्तरको अभ्यासले नै हो, २०१९ मा दुबईमा यू–१९ विधाको स्वर्ण जितेर इतिहास रचे। सोही वर्ष उनी नेपाल खेलकुद पत्रकार मन्चले आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्टस अवार्डअन्तर्गत पिपल्स च्वाइस अवार्डको मनोनयनमा परेका थिए ।

जुनियर नम्वर वान यी खेलाडी फेरि चर्चित खेलाडीको विधामा दोहोरिएका छन् । सो विधामा उनीसँगै छन् फुटबलकी एन्जिला तुम्बापो सुब्बा, टेबल टेनिसकी एन्जिला महर्जन, क्रिकेटका कुशल भूर्तेल र एथलेटिक्सकी सन्तोषी श्रेष्ठ छन्। जुनियरको आधिकारिक प्रतियोगितामा स्वर्ण जितेपछि विश्व वरीयतामा आएका प्रिन्स तीन वर्षपछि शीर्ष स्थानमा पुगेका छन् । विश्व वरीयताको शीर्ष स्थानमा नेपालको झण्डा देखाउन पाउनुलाई प्रिन्स स्वयम्ले गर्वको क्षण मानेका छन् ।

सन् २०१९ को अप्रिलदेखि सन् २०२० को मार्चसम्म उनले ११ वटा आधिकारिक सिरिज खेलेका छन् । विश्व ब्याडमिन्टन वा ब्याडमिन्टनको महादेशीय फेडेरेसनको मान्यताप्राप्त प्रतियोगिताको प्रदर्शनका आधारमा वरीयता अंक निर्धारण हुन्छ । १० हजार ४ सय अंकसहित प्रिन्स शीर्ष वरीयतामा पुगेका हुन् । प्रिन्सले यससलाई सपना पूरा भएको क्षण भनेका छन् । यसले नेपाल ब्याडमिन्टनलाई हेर्ने विश्वव्यापी नजर परिवर्तन हुने प्रिन्सको आशा छ ।

सुदूरको दार्चुलामा जन्मिएर विश्वस्तरमा नम्बर एक बन्नु चानेचुने सफलता होइन । पारिवारिक सहयोग र निरन्तरताको मिहिनेतले नै उनलाई यो अवस्थामा पुर्याएको हो । मिहिनेतले सफलता दिन्छ, सफलताले अझै राम्रो गर्न प्रेरित गर्नेछ ।

प्रिन्सले अब सिनियरतर्फ पाइला बढाउँदैछन् । राष्ट्रियस्तरमा त उनले र्याङकिङ प्रतियोगिता जित्न थालिसकेका छन् । अन्तर्राष्ट्रिय वरीयतामा जुनियरको सफलताले सिनियरमा सहयोग गर्दैन भन्ने उनले बुझेका छन् । उनको लक्ष्य छ, सिनियरमा पनि उस्तै सफलतालाई निरन्तरता दिने ।

कोरोना महामारीको असरले पछिल्ला दुई वर्ष सीमित प्रतियोगिता भए । २०७७ सालमा भएका दुई प्रतियोगितामा शीर्ष वरीयताका खेलाडीलाई हराउन थालेका छन् । सिन्धुपाल्चोकमा भएको तोप–२१ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता जितेका प्रिन्सले सोही वर्ष सिरहाको गोलबजारमा भएको पुष्पलाल स्मृति र्याङकिङ प्रतियोगिता जितेका थिए ।

उमेरसँगै प्रिन्सले आफ्नो परिपक्वता बढाउँदै लगेका छन् । प्राविधिक रूपमा बाँया हाते स्म्यास (शशक्त प्रहार)मा माहिर प्रिन्स शारीरिक र मानसिक रूपमा चुस्त नभई विपक्षीमाथि धावा बोल्न सकिँदैन भन्नेमा प्रष्ट छन् । पिनाकल कलेजमा ११ कक्षामा अध्ययनरत प्रिन्सले फोरह्याण्ड, नेट र डिफेन्समा सुधार गर्नुपर्ने बुझेका छन् ।

सबैभन्दा ठूलो कुरा त म्याच एक्स्पोजर नै हो । दुई यता उनले अन्तर्राष्ट्रिय सिरिज खेल्न पाएका छैनन् । कोरोनाले असर गरेको छ । अप्रिलमा युरोपमा हुने सिरिजको तयारी गरिरहेका उनी एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गर्ने सम्भावना छ । जति धेरै एक्स्पोजर भयो त्यति नै धेरै सुधार हुने उनको भनाइ छ ।

नेपालकै पुरानो खेल ब्याडमिन्टनको अन्तर्राष्ट्रिय क्षेत्रमा प्रिन्सले सुरु गरेको प्रभावलाई कायम राख्न नेपाल व्याडमिन्टन संघ पनि प्रतिबद्ध छ । प्रिन्सले हालै ओलम्पिक विशेष छात्रवृत्ति पाएका छन् । सन् २०२४ मा फ्रान्समा हुने ग्रिष्मकालीन ओलम्पिक लक्ष्यसहित प्रिन्सले विश्वस्तरीय र एसियालीस्तरीय प्रतियोगितामा नियमित सहभागिता जनाउनुपर्नेछ । सफलतालाई कायम राखिराख्न निरन्तरता दिनुपर्छ । ओलम्पिक छात्रबृत्तिले आर्थिक रूपमा पनि केहि सहज हुने आशा प्रिन्सको छ ।

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा दोस्रोपल्ट पिपल्स च्वाइस अवार्डको मनोनयनमा पर्नुलाई प्रिन्सले गर्वको अवसर मानेका छन् । जुनियरको शीर्ष स्थानमा पुग्नु प्रिन्सको सपना पूरा भएको क्षण हो । तर, उनी यसमै सन्तुष्ट छैनन् । अर्को सपना निर्धारण भइसकेको छ । अबको नजर सिनियरतर्फ छ । लोकप्रियताको शिखरमा पुग्नका लागि उनले आफ्नो ध्यान केन्द्रित गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्