भारत सरकारको सहयोगमा सोलुखुम्बुमा निर्मित खानेपानी परियोजनाको उद्घाटन


न्युज अफ नेपाल काठमाडौं ।

भारत सरकारको सहयोगमा सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका खुमजुङ र कुण्डे गाउँमा निर्माण गरिएको खानेपानी आपूर्ति परियोजनाको राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेन शेर्पा र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव प्रियाधरसिनी आरले आज संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

सो उद्घाटन समारोहमा सोलुखुम्बु जिल्ला समन्वय समिति, खुम्बु पासाङल्हामु गाउँपालिका र खानेपानी उपभोक्ता तथा व्यवस्थापन समितिका अधिकारीलगायत स्थानीय सरकारका प्रतिनिधिहरुको उपस्थिति थिए ।

यो योजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “India@75  आजादीका अमृत महोत्सव” अन्तगर्त यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजना मध्येको एक हो ।

भारत–नेपाल विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको ४ करोड २३ लाख ९० हजार अनुदान सहयोगमा यस परियोजनामा निर्माण गरिएको हो ।

यस परियोजनाले खुमजुङ र कुण्डे क्षेत्रका ६०० घरपरिवार तथा विद्यालय लगायत अस्पताल, सरकारी कार्यलय र घुम्न आउने पर्यटकका लागि सफा तथा स्वच्छ खानेपानी उपलब्ध गराउनेछ । यस परियोजनाले विशेष गरी त्यस क्षेत्रका बासिन्दालाई पानी भर्न टाढासम्म जानुपर्ने दैनिक झन्झटबाट मुक्त गरी उनीहरुको जीवनस्तर उकास्न मद्दत गर्नेछ ।

सन् २००३ यता भारतले नेपालमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ जसमध्ये ४६७ वटा सम्पन्न भइसकेका छन् । ती मध्ये सोलुखुम्बुका २ गरी प्रदेश १ मा ७८ वटा रहेका छन् । यसका अतिरिक्त भारत सरकारले सोलुखुम्बु जिल्लामा ३ वटा एम्बुलेन्स उपहार स्वरुप प्रदान गरिसकेको छ ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच बहुपक्षीय एवम् बहुक्षेत्रीय सहकार्य रहेको छ । यस परियोजनाको कार्यान्वयनले खानेपानी व्यवस्थापनको क्षेत्रमा नेपाल सरकारले गरेका प्रयासहरुमा भारत सरकारले पु-याउदै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ ।