ठेकेदार पाण्डेलाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति


न्युज अफ नेपाल, काठमाडौं ।

ठेकेदार अनुप पाण्डेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।उच्च अदालत तुलसीपुरले ठगीको आरोपमा पक्राउ परेका पाण्डेलाई विस्तृत अनुसन्धान गर्न सात दिनको समय दिएको हो । काठमाण्डुमा लुकिछिपी बस्दै आएका पाण्डेलाई शनिवार बिहान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) ले पक्राउ गरेको थियो ।

उनीविरुद्ध विभिन्न व्यक्तिले झण्डै ६ करोड ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी दिएका थिए । पाण्डेले तुलसीपुर–घोराही चार लेन सडकखण्ड निर्माणको जिम्मा पाएका थिए । तुलसीपुर उप–महानगरपालिकाका मेयर एवम् एमाले नेता घनश्याम पाण्डेका छोरा समेत रहेका ठेकेदार पाण्डेविरुद्ध १६ जनाले ठगी गरेको भन्दै उजुरी दिएका थिए ।

पाण्डेविरूद्ध घोराही उपमहानगरपालिका–१५ भरतपुरका व्यवसायी तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य गेहेन्द्र बस्नेतले एक करोड ४४ लाख ठगी गरेको भन्दै गत माघमा जिल्ला प्रहरी कार्यालय घोराहीमा उजुरी दिएका थिए । पीडित व्यक्तिको जाहेरीका आधारमा प्रहरीले अदालतबाट पक्राउ पुर्जी जारी गरेको थियो । ठगी गरेकोबारे समाचारहरू प्रकाशित भएपछि ठेकेदार अनुपले विज्ञप्ती जारी गर्दै आफ्नो बचाउँ गर्दै आएका थिए ।