किसानलाई दूध र तरकारीमा अनुदान



लमजुङ ।

उत्तरी लमजुङको मस्र्याङ्दी गाउँपालिकाले किसानलाई दूध र तरकारीमा अनुदान दिने भएको छ । पालिकाले दूधमा प्रतिलिटर १० रुपियाँ र तरकारीमा प्रतिकेजी ५ रुपियाँ अनुदान दिने भएको हो ।

गाउँपालिकाले दुग्ध व्यवसायी कृषकलाई दिँदै आएको अनुदानमा ५ रुपियाँ वृद्धि गरी १० रुपियाँ पुर्याएको हो भने तरकारीमा प्रतिकेजी ५ रुपियाँ अनुदान दिने निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार गाउँपालिकाले किसानको मागबमोजिम उत्पादनका आधारमा प्रोत्साहन स्वरूप उक्त अनुदान उपलब्ध गराउने निर्णय गरेको थियो ।
किसानले दूध बिक्री गरेबापत पाउने मूल्य समायोजनका लागि अनुदान रकम वृद्धि गरेसँगै अब किसानले गाउँपालिकाको अनुदानसहित प्रतिलिटर दूधको १ सय ५ रुपियाँ पाउने भएका छन् ।

चालू आर्थिक वर्षमा गाउँपालिकाले उत्पादनमा आधारित दूध र तरकारी राहत कार्यक्रमसँगै पशु औषधिका लागि १५ लाख बजेट विनियोजन गरेको छ । गाउँपालिकाकै अगुवाइमा सञ्चालित मस्याङ्दी सहकारीमार्फत सो अनुदान सम्बन्धित कृषकसम्म पुग्नेछ । कृषकले उत्पादन गरेर सहकारीमा बिक्री गरेको आधारमा दूधमा अनुदान पाउनेछन् ।

अनुदानका लागि सहकारी संस्थामार्फत कृषकले प्रस्ताव आह्वान गरेसँगै गाउँपालिकाको कार्यापालिका बैठकले उक्त निर्णय गरेको हो । सहकारी संस्थाबाहेक आफैं बजार खोजेर दूध बिक्री गर्ने कृषकले भने गाउँपालिकाले दिने अनुदान नपाउने अध्यक्ष गुरुङको भनाइ छ ।

उत्पादनका आधारमा अनुदान दिँदा कृषकलाई पेसाप्रति हौसला बढ्ने र उत्पादन समेत वृद्धि हुने विश्वास लिइएको गाउँपालिका उपाध्यक्ष होमबहादुर विकले बताउनुभयो ।

नौ वडा रहेका गाउँपालिकामा विशेष गरी वडा नं. ३, ८ र ९ मा दूध उत्पादन बढी हुने गरेको छ । गाउँपालिकामा सहकारीमार्फत दैनिक करिब २ सय लिटर दूध बिक्री हुने गरेको छ । कतिपय किसानले भने आफैं बजार खोजेर दूध विक्रि गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्