मनहरी–मलेखु सडक स्तरोन्नति गरिने



हेटौंडा, (नेस) ।

वागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले मनहरी–मलेखु सडकखण्डको स्थलगत अवलोकन गर्नुभएको छ । मकवानपुरको मनहरीबाट राक्सिराङ गाउँपालिकाका विभिन्न वडा हुँदै धादिङको बेनिघाट रोराङबाट मलेखु छिचोल्ने सडकको अवलोकन गर्दै राज्यमन्त्री प्रजा मलेखुसम्म पुग्नुभएको हो ।

शनिबार राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलासहित टोलीले मनहरी–मलेखु सडकको स्थलगत अवलोकन गरी स्तरोन्नति गर्नुपर्ने भाग पहिचान गरेको छ । हेटौंडाबाट चितवन हुँदै राजधानी काठमाडौं जाने सडकको विकल्पका रूपमा हेरिएको मनहरी–मलेखु सडकको ट्रयाक केही दिन अघिमात्र पूरा भएको थियो । करिब ३ वर्षअघि राक्सिराङ गाउँपालिका र बेनिघाट रोराङ गाउँपालिकाले मनहरी–मलेखु जोड्ने सडक निर्माण शुरु गरेकोमा बेनिघाट रोराङ गाउँपालिकाले केही समय अघिमात्र मकवानपुरको सिमानासम्म ट्रयाक जोडेको हो । करिब १ अर्बको समपूरक अनुदानको प्रस्ताव प्रदेशमार्फत संघीय सरकारमा पठाइसकिएको भौतिक पूर्वाधार विकास राज्यमन्त्री प्रजाले जानकारी दिनुभयो ।

दुई गाउँपालिकाको अगुवाइमा प्रदेश र प्रतिनिधिसभा सांसदको समेत जोडबलमा सडकको ट्रयाक पूरा भएपछि निकट भविष्यमा हेटौंडा–चितवन–काठमाडौं जाने सडकको विकल्प तयार हुने पक्का भएको राक्सिराङ अध्यक्ष मल्लले जानकारी दिनुभयो । मनहरीदेखि मलेखुसम्म सडकको दुरी ५२ किलोमिटर मात्र छ । बाह्रै महिना सडक सञ्चालनका लागि राक्सिराङ गाउँपालिकाले उक्त सडकअन्तर्गत ४ नम्बर वडास्थित परेवाभीरमा रिटेनिङ वाल उठाएर बाटो बनाउने काम गरिरहेको छ । अन्य भागमा पनि स्तरोन्नतिको कामसमेत गरिरहेको पालिका अध्यक्ष मल्लले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्