हुबासमा पहिलोपटक पुग्यो बिजुली



पाल्पा, (नेस) ।

पूर्वी पाल्पाको निस्दी गाउँपालिका–७ ज्यामिरेको हुबासमा पहिलोपटक बिजुलीबत्ती बलेको छ । हुबास लामो समयदेखि बिजुलीबत्तीको पर्खाइमा रहेको थियो । सामुदायिक विद्युतीकरणका लागि पैसा बुझाएको धेरै वर्ष हुँदा समेत बत्ती नपुग्दा निरास भएका स्थानीय बिजुली पुगेपछि उत्साहित भएका छन् । साविक ज्यामिरे गाउँ विकास समिति–१ चारघरेपछि हुबास ज्यामिरेको बिजुलीबत्ती उपभोग गर्ने पहिलो टोल बनेको छ ।

हाललाई करिब ६५ घरपरिवारमा बिजुलीबत्ती बाल्न सफल भएको ज्यामिरेको हुबासमा चाँडै नै विस्तार गरिने पूर्व भूमि सुधारमन्त्री तथा संघीय सांसद दलबहादुर रानाले बताउनुभएको छ । उद्घाटन कार्यक्रममा बोल्नुहुँदै मुख्य पाहुना रानाले गाउँको एकता भएमा विकासका काममा सफलता मिल्ने भन्दै आफूले सकारात्मक सुझावको अपेक्षा राखेको बताउनुभयो ।

कार्यक्रममा प्रदेश सांसद नारायणप्रसाद आचार्यले निस्दीमा बिजुलीबत्तीको विस्तारमा भएको ढिलाइबारे सम्बन्धित निकायप्रति ध्यानाकर्षण गरेको भन्दै ठेकेदारलाई जिम्मेवार बनाउन सबैको खबरदारी हुनुपर्ने बताउनुभएको थियो ।

यसै गरी, निस्दी गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारूले स्थानीयको मेहनत, साथ र सहयोगले बिजुली बाल्न सकिएको भन्दै सम्बन्धित सबैलाई धन्यवाद दिनुभएको थियो । बिजुलीबत्ती आएपछि विद्यार्थीलाई पढ्न, रेडियो सुन्न र टिभी हेर्नका लागि सजिलो हुने र टुकीको भरमा बस्नु नपर्ने भन्दै स्थानीय गमबहादुर सारू खुसी व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्