मनाङमा कांग्रेसको चुनावी अभियान शुरू



मनाङ, (नेस) ।

नेपाली कांग्रेसले हिमाली जिल्ला मनाङमा चुनाव प्रचार अभियान शुरू गरेको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति मनाङद्वारा आयोजित घर–घर जाऔं कांग्रेस जिताऔं अभियानको उद्घाटन गर्दै शुक्रबारदेखि चुनावी अभियान शुरू गरेको हो ।

अभियानको केन्द्रीय सदस्य तथा युवा नेता गणेश लामाले शुभारम्भ गर्नुभएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टीभित्रका सबै मतभेद बिर्सेर एकताबद्ध भई कांग्रेसलाई जिताउने गरी परिचालित हुनुपर्ने बताउनुभयो । ‘पार्टीभित्र भएका जति पनि मतभेद थिए त्यो सबै बिर्सिएर अब एकताबद्व भएर हामी अगाडि बढ्नुपर्छ । यो हिमाली जिल्ला मनाङबाट कांग्रेसलाई जिताउने गरी परिचालित भएर अगाडि बढौं सबै जना’ –उहाँले भन्नुभयो ।

उहाँले मुलुकको समृद्धि र विकासको अभिभारा कांग्रेसको काँधमा फेरि एकपटक थपिएको भन्दै चुनावमा कांग्रेसले बहुमत ल्याउनैपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेसका जिल्ला सभापति शंकर गुरुङले चुनावी अभियानका लागि अब गाउँमै व्यस्त हुने बताउनुभएको छ । गुरुङ भन्नुहुन्छ– ‘स्थानीय चुनावको तयारीकै लागि गाउँ केन्द्रित भएका छौं, गाउँमा अत्यन्तै उत्साह छ, सुशासन प्रवर्धन हुन्छ भन्ने आशा आम नागरिकमा बढेको छ ।’

कार्यक्रममा जिल्लाका कांग्रेस नेताहरू केन्द्रीय सदस्य टेकबहादुर गुरुङ, नेताहरू पाल्तेन गुरुङ, कोमलबहादुर घले तथा कर्मा गुरुङले सबैले पार्टीको निर्णय स्वीकार गरेर कांग्रेसलाई जिताउनेतर्फ लाग्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्