महिला विश्वकपमा अस्ट्रेलिया बलियो बन्दै



लन्डन, (एजेन्सी) ।

अस्ट्रेलियाले महिला विश्वकप क्रिकेट प्रतियोगिता आयोजक राष्ट्र न्युजिल्यान्डको टिमलाई १ सय ४१ रनअन्तरले हराएको छ । वेलिङटनमा भएको खेलमा अस्ट्रेलियाले ८ विकेटको क्षतिमा २ सय ६९ रन बनाएको थियो । टिमकालागि ताहिला म्याकग्राथ र एलिस पेरीले अर्धशतक प्रहार गरे भने एश गार्डनरले १८ बलमै ४८ रन जोडिन् । उनी नटआउट रहेकी थिइन् ।

जवाफमा घरेलु टिम न्युजिल्यान्ड मात्र १ सय २८ रनमै अलआउट भएको थियो । टिमको ब्याटिङ धरासयी पार्न अस्ट्रेलियन बलर पेरी, म्याकग्राथ र डार्सी ब्राउनले घातक बलिङ गरेका थिए । उनीहरूले शुरुवातमै विकेट लिएर न्युजिल्यान्डलाई ३५ रनको लागि ५ विकेटको क्षति वहन गराइएका थिए ।

यो जितसँगै अस्ट्रेलिया जारी विश्वकपमा बलियो टिम बन्दै छ । सँथै प्रतियोगितामा उपाधि जित्ने टिममा सबैभन्दा अगाडि पनि रहेको छ । यो अस्ट्रेलियाको लगातार तेस्रो जित समेत हो र तीन खेलबाट ६ अंक भएको छ । यसले भारत दोस्रो स्थानमा झर्यो भने अस्ट्रेलिया पहिलो स्थानमा उक्लिएको छ ।

प्रतियोगितामा अपराजित हुने अर्को टिम दक्षिण अफ्रिका हो । न्युजिल्यान्डले ३ खेलबाट ४ अंक जोडेको छ । टिमले दक्षिण अफ्रिका र इंग्ल्यान्डसँग खेल्न बाकी छ । अन्तिम चारमा पुग्न टिमको लागि यी खेलका नतिजा नै महत्वपूर्ण हुनेछ ।

खेलमा न्युजिल्यान्डले अस्ट्रेलियालाई ५६/३ को स्थितिमा पुर्याएर दबाब दिएको थियो । तर, पेरीले दबाबमुक्त गरिदिइन् । उनले बेथ मुनीसँग ५७ रनको साझेदारी गरेर टिमलाई खेलमा फर्काएकी थिइन् । मुनी आउट भएपछि पेरी र म्याकग्राथले शतकीय साझेदारी गर्दै टिमलाई बलियो स्कोरमा पुर्याए ।

पेरीले ६८ रन जोडिन् भने म्याकग्राथले ५७ रन जोडेकी थिइन् । उनीहरूले पाँचौं विकेटका लागि १ सय १ रनको साझेदारी गरेका थिए । यसपछि गार्डनरले घरेलु टिमलाई निरास पारिन् । कोभिड–१९ को संक्रमणले अघिल्ला दुई खेल्न नपाएकी गार्डनरले चार छक्का र चार चौका प्रहार गर्दै टिमको स्कोर २ सय ६९ मा पुर्याइन् ।

प्रतिक्रिया दिनुहोस्