कांग्रेसको एक महिने चुनावी अभियान शुरू



काठमाडौं, (नेस) ।

प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसको चुनाव केन्द्रित एक महिने अभियान हिजो आइतबारदेखि शुरू भएको छ । वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई लक्षित गर्दै आइतबारबाट शुरू भएको ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ भन्ने अभियान पहिलो दिन जिल्ला केन्द्रित भए पनि आज दोस्रो दिनदेखि वडा केन्द्रित गरिने जनाएको छ ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएअनुसार अभियान सञ्चालनका लागि लागि सबै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू पुगिसकेका छन् । वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा सबैलाई मतदानमा सहभागी गराउनेदेखि हालै संसद्बाट पारित गरिएको एमसीसी सम्झौताबारेको भ्रम चिर्नेसम्मको विभिन्न आठ उद्देश्यसाथ अभियान सञ्चालन भएको छ ।
अभियानको पहिलो दिन उद्घाटन कार्यक्रम जिल्ला केन्द्रित भए पनि आज सोमबारदेखि भने वडा र टोल तहमा यो कार्यक्रम केन्द्रित हुनेछ । अभियानका लागि केन्द्रीय प्रतिनिधिका रूपमा मनाङमा गणेश लामालाई खटाइएको छ भने संखुवासभामा सीता गुरुङलाई खटाइएको छ ।

यस्तै, धनुषामा मञ्जु खाँण, सप्तरीमा महेन्द्रकुमार राय, काभ्रेमा उर्मिला केसी, डोटीमा किरण गिरी, नुवाकोटमा मदनबहादुर अमात्य, काठमाडौंमा मोहनबहादुर बस्नेत, डडेल्धुरामा ईश्वरी न्यौपानेलगायतका नेताहरू खटाइएको कांग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।

यो अभियानमा कांग्रेस पदाधिकारी तथा शीर्ष नेताहरू भने खटिएका छैनन् । अभियानको प्रमुख आठ उद्देश्यमध्ये स्थानीय निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउन वडा र टोल तहसम्म पार्टीभित्र सौहार्द, एकता र ऊर्जा अभिवृद्धि गर्ने, कांग्रेसका उम्मेदवारहरूलाई विजयी गराउन मतदातालाई अपिल गर्ने तथा हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारीको नीति साथ पार्टीको विधानमा व्यवस्था गरिएका विभिन्न जिम्मेवारी बाँडफाँट, गरेर पार्टी पंक्तिलाई स्थानीय निर्वाचनमा बृहत्तर परिचालनतर्फ उन्मुख गराउने पनि रहेको छ ।

यही अभियानका क्रममा कांग्रेसले नेकपाको सरकारको गत तीनवर्षे कार्यकालमा भएका जनविरोधी गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण जनतासमक्ष व्यापक रूपमा राख्ने जनाएको छ । वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा कांग्रेसले चुनावी गठबन्धन वा तालमेल गर्छ कि गर्दैन भन्ने आम चासो बढिरहेको सन्दर्भलाई पनि यही अभियानका क्रममा ग्राउन्ड रियालिटी बुझेर निर्णयमा पुगेको बताइएको छ । चुनावी गठबन्धन र तालमेलको बारेमा ग्राउन्ड रियालिटी बुझेपछि मात्र केन्द्रीय समितिमा बृहत् छलफल गरी निर्णय गरिने भन्दै कांग्रेस नेतृत्वले यसबारे अहिले केही नबोल्न नेताहरूलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्