काभ्रेपलाञ्चोक जिल्लामा नागरिक आरोग्य समिति गठन


मोतीराम तिमल्सिना, काभ्रे ।

काभ्रेपलाञ्चोक जिल्लामा जिल्ला नागरिक आरोग्य समिति गठन भएको छ । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उदव केसीको अध्यक्षतामा उक्त समिति गठन भएको हो ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बनेपाको आयोजनामा आयोजित कार्यक्रममा समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीको प्रमुख आतिथ्यता रहेको थियो । आयुर्वेद केन्द्रका प्रमुख डा. मनोजकुमार चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख मञ्जु गौतम, समन्वय अधिकारी भिमप्रसाद भट्टराई, शिक्षा विकास समन्वय इकाईका प्रमुख गोकर्णध्वज कार्की, आयुर्वेद स्वास्थ्य केन्द्रका कृष्णप्रसाद पराजुली, रमेश पनेरु लगायतको सहभागिता रहेको थियो । भेलाले समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीको अध्यक्षतामा जिल्ला नागरिक आरोग्य समिति गठन भएको छ । समितिमा स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोत्तम सेढाई, शिक्षा विकास समन्वय इकाईका प्रमुख गोकर्णध्वज कार्की, समितिले मनोनीत गरेको विशेषज्ञ व्यक्ति, सदस्य सचिव जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख डा. मनोज कुमार चौधरी रहनु भएको छ ।

‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ नारालाई सार्थक पार्न आम नागरिकलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा स्वास्थ्य एवं सबल बनाई विश्वव्यापी फैलिएको नसर्ने रोगको प्रकोपलाई न्यूनीकरण गर्न स्थानीय परिवेश र आवश्यकता अनुसार उपलब्ध स्रोतहरूलाई परिचालन गरी स्वास्थ्य सेवाका हरेक तहमा नागरिकहरूको सशक्त सहभागिता मार्फत आयुर्वेद योग तथा जडीबुटीको माध्यमबाट शारीरिक तथा मानसिक रूपमा स्वस्थ शरीर, सकारात्मक सोच र व्यक्तित्व विकास गरी स्वस्थ समाज निर्माण गर्ने उद्देश्यले जिल्ला स्तरीय नागरिक आरोग्य समिति गठन गरिएको आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. मनोजकुमार चौधरीले बताउनु भयो ।

आरोग्य समिति स्थानीय तह र वडामा पनि गठन गर्ने गरी निर्देशिका तयार भएको छ । निर्देशिका अनुसार आरोग्य समितिले स्थानीय तहका वडा अध्यक्षहरू, पालिका स्तरका जनप्रतिनिधिहरू, सरोकारवाला निकाय तथा सामाजिक क्षेत्रका व्यक्तिहरूलाई अभिमुखीकरण गराउँदै स्वास्थ्य प्रति सचेत गराइने छ ।

स्थानीय जडीबुटी परिचय प्रयोग रोपण एवं संरक्षण सम्बन्धी अभियानमूलक कार्यक्रम सञ्चालन, योग आसन प्राणायाम ध्यान एवं सकारात्मक जीवनशैली सम्बन्धी विविध प्रशिक्षण, आयुर्वेदिक जीवनशैली एवं स्वास्थ्यकर आहार सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, आयुर्वेदिक जीवनशैली स्वास्थ्यकर आहार एवं सरफाईका लागि पोस्टर उत्पादन तथा वितरण गर्ने लगायतका कार्यहरू गर्नेछ । काभ्रेपलाञ्चोक जिल्लामा पनौती, भुम्लु, मण्डनदेउपुर, बेथान्चमेक गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र खुलेको छ ।